अस्ट्रेलियामा बढ्दो दुःखद घटना : कारण, रोकथाम तथा सामाजिक दायित्व

‘आज फेरि एउटा सपना समुद्रमा बिलायो
केही पलमैँ एउटा जीवन तहसनहस बनायो ।’

गत केही सातामा केही नेपाली मनहरूको सपना कंगारूको देशमा सदाका लागि विलिन भए । मिलन तामाङ, स्मृति आले मगर, मनिष सुवेदी, निश्चल घिमिरे र सुजन दाहालले अल्पायुमै ज्यान गुमाए भने विगुल पण्डितलाई अझैसम्म अल्बरीस्थित मरे नदीमा भेटाउन सकिएको छैन ।

आफ्नो जीवनको अमूल्य प्रहरमा अनन्त सपनाहरू साँचेर मिठो भविष्यको कल्पना गर्दै परदेशिएका ती यूवा मनहरू असमयमै जानुले प्रवासमा रहेको नेपाली समुदायलाई विक्षिप्त बनाएको छ ।

ती मृत्यु हुने नेपालीका सपना केवल उनीहरूका मात्र सपना थिएनन् । त्यसभित्र अरू धेरै सपनाहरू अडिएर बाँचेका थिए । ती सपनाभित्र बाआमाका सपनाहरू पनि विलिन भए अनि ती सपनासँगै दाजुभाइ, दिदीबहिनीका पनि असंख्य सपनाहरू विलिन भए । ती सपनाले केवल आफ्ना शरीरलाई मात्र आघात पुर्‍याएनन् ।

ती सपनासँगै जोडिएका सम्पूर्ण परिवारको सपना तहसनहस बनाए । उनीहरू आफू यो संसारबाट बिदा मात्र भएका छैनन्, उनीहरूले हामी बाँचेका प्रवासीमाझ पनि एउटा गम्भीर प्रश्न छाडेर गएका छन् र उनीहरूले सोधिरहेछन् आखिर हामीले उनीहरूजस्ता मनहरूलाई बचाउनका लागि के यथेष्ट प्रयत्न र उपायहरू अवलम्बन गरेका छौँ त ?

अस्ट्रेलियाको प्रवासी नेपाली समाजमा यस्ता घटना पहिला नघटेका होइनन् र प्रत्येकपल्ट जबजब यस्ता दुःखद् घटनाहरू घट्छन् तबतब नेपाली समुदायले पीडित आफन्तको घाउमा केही मल्हम लगाउन भए पनि दिल खोलेर आर्थिक, सामाजिक तथा अन्य जस्तोसुकै तबरले भए पनि सहयोग गरिरहेका हुन्छन् । अस्ट्रेलियामा नेपालीहरूको उपस्थिति बढ्दै जाँदा यस्ता घटनामा वृद्धि हुनु एक हिसाबले स्वभाविकै मान्न सकिएला तर ती घटनाभित्रका वास्तविक कारणहरू पत्ता लगाउन र तिनको निराकण गर्न यदि समयमै यहाँ रहेका सरोकारवालाहरूले ध्यान दिएनन् भने यसले अवश्य पनि विकराल रूप लिने निश्चित छ ।

समुद्रमा डुबेर होस्, ट्राफिक दुर्घटनामा परेर होस् वा काम र कलेजको जिम्मेवारीबाट आजित भएर आत्महत्याको बाटो रोज्न बाध्य विद्यार्थीको मृत्यु नै किन नहोस् उज्ज्वल सपना बोकेर आएका हरेक नेपालीहरूको मृत्युको घटनाले सबैलाई चिन्तित बनाउने गरेको छ । प्रवासमा अकालमै ज्यान गुमाउनेहरूको आधिकारिक तथ्यांक कसैसँग नभए पनि यो बढ्दो क्रममा रहेकोमा भने दुईमत छैन । हालै वृद्धि भइरहेको दुःखद् घटनाहरूका मूल कारणमा समुद्र वा नदीमा पौडी खेल्न नजान्नु, ट्राफिक दुर्घटनामा पर्नु, हृदयघात हुनु तथा आत्महत्या समेत रहेको पाइएको छ ।

नेपाली राजदूतावास क्यानबेराले अस्ट्रेलियाको नेपाली समुदायमा विगत केही दिनदेखि घटिरहेका यस्ता दुःखद् घटनालाई चासोका साथ हेरिरहेको र सीमित साधन र श्रोतका बाबाजुद सक्दो सहयोग गरिरहेको जनाएको छ । हरेक घटना वा दुर्घटनाका मृतकलाई छुट्टाछुट्टै तबरले समुदायसँगको सहकार्यमा शव नेपाल लैजानका लागि होस् या मृतकलाई पहिचान गरेर आफन्तलाई बुझाउन होस् दूतावासले अस्ट्रेलियाका सम्बन्धित निकायसँग तालमेल गरेर जिम्मा लगाउने, शव नेपाल लैजानका लागि कागजपत्र बनाइदिने जस्ता कार्यहरू सहज रूपमा गर्दै आएको जनाएको छ ।

दूतावासकी उपनियोग प्रमुख दुरपदा सापकोटा

दूतावासकी उपनियोग प्रमुख दुरपदा सापकोटाले देश सञ्चारसँगको कुराकानीका क्रममा दूतावाससँग आर्थिक सहयोग गर्ने क्षमता नभएकोले सामुदायिक संघ/संस्थासँग भर पर्नु परेको बताइन् । उनले भनिन् ‘आगामी दिनमा नेपाली विद्यार्थीहरूलाई विपद् परेपछि वा दुर्घटना घटेको समयमा कसरी सहयोग गर्न सकिन्छ भनेर कन्सुलेटसँग मिलेर केही कार्यक्रम ल्याउनका लागि पहल सुरु गरिसकेका छौं ।

यस्ता घटनाहरू भएपछि सहयोग गर्नका लागि सामुदायिक संस्थासँग मिलेर एउटा फण्ड स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ भने अर्कोतर्फ विद्यार्थीहरू नेपालबाट आउँदाखेरि नै बलियो इन्स्योरेन्स गरेर आउन जरुरी देखिन्छ जस्ले गर्दा उनीहरूलाई बिरामी पर्दादेखि लिएर कुनै भवितव्यका घटनामा समेत सजिलैसँग आर्थिक सहयोग प्राप्त होस् ।’

प्रकोप व्यवस्थापन विज्ञ तथा पत्रकार डा. भरतराज पौडेल

ब्रिसबेन निवासी प्रकोप व्यवस्थापन विज्ञ तथा पत्रकार डा. भरतराज पौडेलले अस्ट्रेलियामा नेपालीको जनसंख्या बढिरहेका बेला त्यसको अनुपातमा हुने दुर्घटना, भवितव्य र अनपेक्षित घटनाको अनुपात बढे पनि त्यस्ता घटनाहरूमा विद्यार्थीहरू बढी परेको तथा स्थायी आप्रवासी नेपालीहरूमा घरेलु हिंसा, पारिवारिक विखण्डन र मानसिक समस्या अर्को चुनौती बनेर आएको बताउँछन् ।

यसको मूल कारण विद्यार्थीहरुले पढाइ, काम र नेपालमा आफ्नो परिवारले लिएको अपेक्षालाई सन्तुलन गर्न नसक्नु र अस्ट्रेलियाली समाजको विकृति पनि यसैसँगै जोडिनु डा. पौडेलको ठम्याइ छ ।

देशसञ्चारसँग कुरा गर्दै उनले भने ‘यी प्रकृतिका घटनाहरुलाई जिम्मेवार यिनै हुन् भनेर कुनै व्यक्ति, संगठन वा निकायमाथि दोष थोपर्नुभन्दा पनि यी दुःखद् परिवेशलाई ककसले नियालिरहेको छ ? दुःखमा को नजिक आएको छ ? परेको वेला कुन संस्था, व्यक्ति वा निकायले सहयोग गरेको छ, त्यो महत्वपूर्ण हो । अथवा समाजमा कुन संस्था मानवीय सहयोग र सामाजिक सचेतनामा बढी विश्वसनीय छ त्यो हेर्ने काम हामी सबै प्रवासीकै हो । अहिलेसम्म विद्यार्थीहरु आफ्नै परिस्थिति र यहाँ आइपर्ने जटिल समस्या र अनेकौँ चुनौतीका कारण दवाबमा छन् । यो देशको विकृतिले पनि त्यो आगोमा घ्यू थपेको छ । नेपाली दूतावास, कन्सुलर कार्यालय, गैरआवासीय नेपाली संघ, व्यवसायी, युवा, विद्यार्थी र नेपाली समुदायले नै जिम्मवार महसुस गरेर दुःखमा परेकाहरूलाई सहयोगको हात फैलाउने अग्रसरता देखाउन जरुरी छ । कुनै कस्मेटिक लोकप्रियताका लागि कुनै व्यक्ति विशेषले मैले यसो गरें उसो गरें भनेर सोसल मिडियामा चर्चित बन्न खोज्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । नेपाली मिडिया कति जिम्मेवार छ त्यो पनि हेरौँ ।’

उनले अगाडि थपे ‘अस्ट्रेलियाको अर्थतन्त्रमा विद्यार्थीका नाममा नेपालबाट १ खर्बभन्दा बढी रकम भित्रिन्छ । हामी विद्यार्थी आपूर्ति गर्ने तेश्रो ठूलो देश हौँ । त्यसैले हाम्रो डिप्लोमेसीको माध्यमबाट यहाँको सरकार, शिक्षण संस्था, सिसा लगायतका अन्तर्राष्ट्रिय विद्यार्थी युनियन, गिल्ड वा संगठन, गैरआवासीय नेपाली संगठन, नेपाली समाज, युवा व्यवसायी एवम् सामुदायिक संघ संस्थाले मिलेर ठूलै कल्याणकारी युनिट खडा गर्नेतर्फ लाग्नुपर्छ । त्यसले क्यानवेरा र काठमाडौँमा बसेर विद्यार्थीलाई परामर्श दिने काम गरोस् र अष्ट्रेलियाभित्र विद्यार्थीलाई मर्दा पर्दा सहयोग गरोस् , स्वास्थ्य र सुरक्षा, मानसिक समस्याबाट उम्कन सहयोग र काउन्सिलिङ गरोस् ।’

‘त्यति मात्र होइन यो संयन्त्रले त्यतिकै रमाएर अस्ट्रेलिया आउन चाहने कलिला युवाहरुलाई उचित परामर्श पनि देओस् । यसको मोडालिटी कस्तो हुनुपर्छ भनेर मैले बारम्बार अस्ट्रेलियास्थित अन्तरर्राष्ट्रिय विद्यार्थीहरुको संगठन सिसाका अध्यक्षसँग पनि कुरा गरेको छु । उनी पनि केही पहल गर्दै होलान् । वार्षिक संकलित रकम नेपाली शौक्षिक परामर्शदाता, शैक्षिक घरानाबाट पनि संकलन गर्न सकिन्छ । तर समग्रमा अस्ट्रेलियाको नेपाली समाजमा उत्पन्न हुने अन्य विकृति रोक्न त अष्ट्रेलिया सरकार, यहाँको बहुसांस्कृतिक समाज, प्रहरी, नेपाली समुदाय, नेपाली सरकारी निकायका सम्पर्क केन्द्रहरू लगायतकाको सहकार्य महत्वपूर्ण हुन्छ ।’ डा. पौडेलको कथन छ ।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले जोसुकै नेपालीले परदेशमा विभिन्न कारणले ज्यान गुमाउनु भनेको दुःखको कुरा भएको र यस्ता घटनाहरू कम गर्नका लागि र घटना भइसकेपछि पनि सक्दो सहयोग गरिरहेको बताए ।

नन्द गुरुङ

देश सञ्चारसँगको कुराकानीका क्रममा नन्द गुरुङले भने ‘एनआरएनए अस्ट्रेलिया विद्यार्थीको मात्र संस्था होइन, यो सबै प्रवासी नेपालीको साझा संस्था हो । यसमा करिब आठ हजारको हाराहारीमा सदस्य संख्या छ जस्मा विद्यार्थीको संख्या नगन्य मात्रामा छ । विद्यार्थीहरूले एनआरएनएबाट सहयोगको अपेक्षा धेरे गरे पनि एनआरएनएमा १० डलर मात्र तिरेर सदस्यता नलिनु हाम्रा लागि दुःखको कुरा हो तर पनि एनआरएनएले विद्यार्थीलाई सहयोग गर्ने मामिलामा पछाडि भने परेको छैन ।’

उनले अगाडि भने ‘यो वर्ष मात्र एनआरएनए अस्ट्रेलियाले ३६ जना पीडित नेपालीहरूलाई आर्थिक सहायता प्रदान गरेको छ जसमा धेरैजना विद्यार्थीहरू नै छन् । बाहिर नदेखिनेगरी धेरै सहयोगहरू एनआरएनएमार्फत् भएका छन् । दुःखमा परेकालाई काउन्सिलिङ गर्नेदेखि लिएर डिभोर्सको मुद्दामा सरसल्लाह प्रदान गर्न नै किन नहोस्, एनआरएनएका सदस्यहरूले सहयोग गरिरहेका छन् । एनआरएनएको स्टुडेन्ट्स हेल्पडेस्कमार्फत् पनि विद्यार्थीलाई सहयोग गर्ने काम भइरहेको छ । हालै ‘भिजन फर मोटिभेसन’ को आयोजना तथा एनआरएनएको सहकार्यमा ‘अनसाइट बिच सेफ्टी’ कार्यक्रम आयोजना गरेको थियो जसमा उल्लेख्य मात्रा नेपाली विद्यार्थीको सहभागिता रहेको थियो ।’

‘यस्ता घटना र दुर्घटनाहरूलाई कम गर्नका लागि विद्यार्थीहरू अस्ट्रेलिया आउनुअघि नै यहाँको समुद्रमा पौडी खेल्दा हुनसक्ने खतरा, सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सुरक्षा तथा विभिन्न कुलतबाट बच्नका लागि अभिभावकसँगै राखेर परामर्श दिएमा मात्र प्रभावकारी हुन सक्छ । साथै विद्यार्थीले अहिले ६ महिनाको मात्र शुल्क तिरेर आउँछन् । यदि सरकारले १ वर्षको शुल्क तिर्नु अनिवार्य बनाएको खण्डमा विद्यार्थीले अस्ट्रेलियामा आएपछि व्यवस्थित हुनका लागि यथेष्ट समय पाउन सक्छन् जसले गर्दा उनीहरू मानसिक तनावबाट मुक्त हुन सक्छन् । त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’ नन्द गुरुङको कथन छ ।

यस्ता दुःखद् घटनाहरू हुन नदिनु एउटा पाटो हो जसका लागि नेपालदेखि नै सचेतनाका कार्यमहरू ल्याउन अत्यन्त जरूरी छ भने घटना घटिसकेपछि सबै प्रवासीलाई समान रूपले सहयोग गर्नका लागि नेपाली राजदूतावास, एनआरएनए अस्ट्रेलिया तथा सामुदायिक संघ, संस्थाको सहकार्यमा एउटा स्थायी कोष स्थापना गर्नेतर्फ पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ताकि विपद् आइपर्दा उक्त यो कोषमार्फत् सबै पीडित प्रवासी नेपालीलाई समान रूपले सहयोग गर्न सकियोस् ।

राजदूतावास नै प्रवासी नेपालीहरूको अभिभावकत्व बोकेको प्रमुख संयन्त्र भएकाले यसतर्फ राजदूतावासले पहल गर्नुपर्दछ । दूतावासद्वारा अहिलेसम्म गरिएका सहयोगका कार्यक्रमबाट त्यति सन्तोष जनाउने अवस्था भने विल्कुल छैन । त्यसैगरी, सदस्यता, पहुँच र साधनश्रोतका हिसाबले एनआरएनए अस्ट्रेलिया नै सबैभन्दा बलियो संस्था भएकाले उसको भूमिका पनि प्रमुख रहन्छ ।

विपद् वा दुःखद् घटनामा सहयोग गर्नु अत्यन्तै सराहनीय काम भए पनि आफ्ना जातीय वा क्षेत्रीय संघ संस्थाले मात्रै सहयोग संकलन अभियानमा चासो दिनुले यसले समाजमा जुटभन्दा पनि फुटको स्थितितर्फ त लगेको छैन भन्ने अर्को गहन प्रश्न पनि खडा गरेको छ । यसतर्फ पनि

समुदायका अगुवाहरूले गम्भीरतापूर्वक सोंच्नुपर्दछ । जातीय र क्षेत्रीय संस्थाहरूको विगविगी रहेको अस्ट्रेलियामा आफ्नै मात्र जात, जाति वा क्षेत्रको मान्छेलाई मात्र सहयोग गर्नुपर्छ भन्ने भावनालाई निरुत्साहित गरेर परेको वेलामा हरेक नेपालीलाई सहयोगी हाथ अगाडि बढाउनुपर्दछ, चाहे त्यो जुनसुकै जात, धर्म, क्षेत्र वा लिङ्गको नै किन नहोस् ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू