परिवार नियोजनको विकल्प बन्दै गर्भपतन

महिलाहरु भन्छ्न् ‘श्रीमानले मान्नुहुन्न’

सांकेतिक तस्बिर

धनगढी – सरकारले १२ हप्ता सम्मको गर्भपतनलाई कानूनी रुपमा मान्यता दिएपछि यस्तो सेवालाई परिवार नियोजनको विकल्पमा रुपमा प्रयोग गर्ने प्रचलन बढिरहेको छ । सरकारले केही सर्त राखेर गर्भपतन गर्न पाइने विषयलाई कानूनी मान्यता दिएपछि परिवार नियोजनका साधनहरु प्रयोग नगरी विकल्पमा गर्भपतनलाई रोज्न थालिएको पाइएको हो ।

सेती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन सेवा लिन आउने महिलाहरुले श्रीमानका कारण परिवार नियोजनका साधन प्रयोग गर्न नसक्दा अन्तिममा आएर गर्भपतन गर्न बाध्य भएको बताउने गरेको स्वाथ्यकर्मीहरु बताउछन् । सेती अञ्चल अस्पतालमा आर्थिक वर्ष २०७४/०७५ मा एक हजार तीन सय ४५ महिलाहरुले गर्भपतन सेवा लिएका छन् ।

गर्भपतन सेवा लिने महिलाहरु अधिकांश ३० देखि ३५ वर्ष उमेर समूहका छन् । सन्तानको रहर पुगिसकेका र थप सन्तान जन्माउन नचाहने महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिने गरेका छन् । गर्भमा रहेको बच्चाका कारण आमाको ज्यान जोखिममा पर्ने अवस्था, अपाङ्गगता भएको बच्चा जन्मिने अवस्थामा र अनइच्छित गर्भधारण भएमा १२ हप्ता सम्मको गर्भपतन गर्न सकिने कानूनी व्वस्था छ ।

यसबाहेक हाडनाता करणी र जबर्जस्ती करणीबाट रहन गएको गर्भ पनि १२ हप्ता सम्मको अवधिमा गर्भपतन गर्न पाइने कानूनी व्वस्था छ । विषेश परिस्थितिमा मात्रै तालिमप्राप्त चिकित्सकबाट १६ वा १८ हप्ता सम्म अवधिको गर्भपतन समेत गरिन्छ । सेती अञ्चल अस्पतालको सुरक्षित गर्भपतन सेवामा १० वर्षदेखि कार्यरत सिनियर नर्स भगवती बडालका अनुसार नचाहदा नचाहदै गर्भ बसेका महिलाहरु गर्भपतन गर्न आउने गरेका छन् ।

अस्पतालमा ६ देखि १० हप्ताको गर्भपतन गर्न आउनेको संख्या बढी छ । बडालका अनुसार दुर्गम क्षेत्रबाट आउने महिलाहरु १२ हप्ता सम्मको गर्भपतन गर्न आउने गरेका छन् । परिवार नियोजनका साधनको बारेमा जानकारी नपाएर गर्भ रहेनेको संख्या थोरै भएपनि थाहा पाएर पनि प्रयोग नगरेका कारण गर्भ रहेर गर्भपतन गर्न आउनेहरुको संख्या बढी रहेको उनको भनाई छ ।

गर्भपतनसँगै परिवार नियोजनका साधनको बारेका जानकारी दिन खोज्दा श्रीमानले मान्नुहुन्न भन्ने गरेको बडालले बताइन् । एक पटक श्रीमानलाई नसोधेरै इम्प्लान्ट राखेकी एक महिलाले श्रीमानले थाहा पाएपछि एक हप्तामै झिक्न आएको अनुभव सुनाउँदै उनले भनिन्, ‘परिवार नियोजनका साधनको प्रयोग बारे पनि चेतना बढाउन आवश्यक छ ।’

गर्भपतनलाई परिवार नियोजनको विकल्पका रुपमा अपनाउँदा प्रजनन् स्वास्थ्यमा गम्भीर समस्या देखा पर्ने वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. गणेश बहादुर सिंहले बताए । उनले महिलाहरु त्यसैपनि तनावमा हुने भएकोले पुरुषको दबाबका कारण गर्भपतनलाई परिवार नियोजनको विकल्पमा अपनाउँदा उनीहरुमा मानसिक समस्या पनि देखिने बताए ।

जसका कारण शारीरिक रुपमा पनि रगत धेरै बग्ने, सेतो पानी बग्ने सँगै पछि गर्भ नरहने सम्मका समस्या देखिने गरेको उपचारमा सलग्न चिकित्सकहरु बताउँछन्।गर्भपतनलाई परिवार नियोजनको विकल्प नबउनाउन पुरुषहरुलाई नै चेतना दिनुपर्ने र महिलाको शरीरमा महिलाकै हक स्थापित गर्ने तर्फ पहल हुनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्