प्रदेश एकको नाम र राजधानीको टुङगो चैतमा

विराटनगर – विभिन्न आठ वटा निर्णय गर्दै प्रदेश नम्बर एकको मन्त्रीपरिषद् बैठक सम्पन्न भएको छ।  विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले प्रदेश सभा बैठक “हिउँदे अधिवेशन” माघ २० गते आइतबार अपरान्ह ३ बजे बस्ने निर्णय गरेको छ।

गत असोज २३ गते वर्षे अधिवेशन सम्पन्न भएदेखि हिउँदे अधिवेशन सुरु हुन सकेको छैन। मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले यसविषयमा पटकपटक कुरा उठान गर्दै आएको थियो। मुख्यमन्त्री कार्यालय निकट श्रोतका अनुसार चैतमा प्रदेशको नामाकरण र राजधानीको विषयमा सरकार टुङ्गोमा पुग्नेछ।

जेष्ठ १७ गते सुरु भएको वर्षे अधिवेशन असोज २३ गते सकिदाँ ४ महिना १० दिनमा सरकारले ५८ वटा बैठक सम्पन्न गरेको थियो। त्यसैगरि, बैठकले कोशी रिफ्रेसमेन्ट आयोजनाका लागि बजेट विनियोजन गरेको छ। आर्थिक मन्त्रालयको विशेष पहलमा सुनसरीको कोशी गाउँपालिकामा लामो दुरीका सवारी साधनका चालकहरुका लागि थकान मेटाउन, ट्राफिक सचेतना तथा होल्डेजका रिफ्रेसमेन्ट उपयोग हुने बताइएको छ।

बैठकले सो आयोजनाका लागि कार्यालय खोल्नका लागि बजेट विनियोजन गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। त्यसैगरि बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले अघि सारेको सगरमाथा टिन्स क्लबको गठन तथा निर्देशिका पनि स्वीकृत गरेको छ। आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीका स्वकीय सचिव रवि खनालका अनुसार यो क्लबले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुका लागि विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिनेछु । “म अघि बढ्छु” भन्ने नारासहितको कार्यक्रमले सामुदायिक तथा सस्थागत विद्यालयमा लागु औषधसम्बधी अभिमुखी कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्ने खनालले बताए।

त्यसैगरि, बैठकले मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना, प्रदेशको भूमि व्यवस्था, प्रदेश पर्यटन विकास विधेयक लगायतका विषयमा पनि निर्णय गरेको मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। बैठकमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, समाजिक विकास मन्त्री जीवन घिमिरे तथा उद्योग, वन पर्यटन विकास मन्त्री जगदीश कुसियतको उपस्थिती रहेको थियो।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्