एकै दिन आठ सवारी दुर्घटना, तीन जनाको मृत्यु

फाइल तस्बिर।

दाङ–दाङमा एकै दिन आठ वटा सवारी दुर्घटना भएको छ । माघ १ गते राति, बिहान र दिउँसो गरी आठ वटा सवारी दुर्घटना भएको र सो दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका प्रहरीले जनाएको छ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा, लमही–६ देउपुर र लमही–५ रातो डाँडामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

गढवा–३ मा लु १ च ४२०६ नम्बरको जिपको ठक्करबाट सोही वडा निवासी २४ वर्षीय नेवकुमार चौधरीको मृत्यु भएको छ । भ्यानले दुई वटा साइकलमा सवार यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए ।

जिपको ठक्करबाट घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा सोही ठाउँका ४३ वर्षीय मानबहादुर चौधरी र २१ वर्षीय सुनिल चौधरी घाइते भएका छन् । दुवै जनालाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको छ । यस्तै लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडामा लु १ च ८०४१ नम्बरको जिपको ठक्करबाट बाजुरा घर भई हाल लमही बस्ने ७ वर्षीय हेमन्त मल्लको मृत्यु भएको छ ।

सडक पार गर्ने क्रममा जिपले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए । लमही नगरपालिका वडा नम्बर ६ अर्जुन खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रा २ प १५४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमही–५ का २७ वर्षीय नारायण खनाल (सोनु) को मृत्यु भएको छ ।

घाइते खनालको उपचारको क्रममा लमही अस्पतालमा मृत्युु भएको हो । दुर्घटनामा परी लमही–३ फल्कापुर निवासी २७ वर्षीय नारायण पौडेल घाइते भएका छन् । पौडेलको भैरहवामा उपचार भैरहेको छ । तुलसीपुर उप–महानगरपालिका १८ पत्रे खोलामा रा ३ प ८३६६ मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उप–महानगरपालिका ८ बस्ने २७ वर्षका कृष्ण डाँगी घाइते भएका छन् । उनलाई थप उपचारको लागी मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

लमही नगरपालिका वडा नम्बर ९ च्याउखोलामा भे ५ प १८९० नम्बरको स्कुटी ओभर स्पिडको कारण हुँदा स्कुटी चालक घाइते भएका छन् । नेपालगञ्ज उप–महानगरपाललिका–२० मनिकापुर बस्ने ३६ वर्षका रामदयाल यादव घाइते भएका छन् । यस्तै घोराही उप–महानगरपालिका–१३ बाह्रकुने दहमा बा ६२ प १७४९ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको छ । घटनामा भुपेन्द्र राम्जालीको छोरा ७ वर्षीय विजय राम्जाली घाइते भएका छन् ।

लमही नगरपालिका–७ वनघुसुरीमा रा १ प ९६७८ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको छ । राजपुर गाउँपालिका– ७ कल्याणपुर बस्ने ६३ वर्षका विरसिंह घर्ती घाइते भएका छन् । यस्तै तुलसीपुर–७ पर्सेनी चोक नजिकै रा ४ प १८९२ नम्बरको मोटरसाइकलाई बा १९ च १६३ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर–१२ टरिगाउँ निवासी ३९ वर्षीय मनिराम चौधरी र उनकी श्रीमती ४० वर्षीय गीता चौधरी घाइते भएका छन् ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्