अर्थमन्त्री भन्छन्– ‘देश सबल हुँदै गयो’

नेपालले पाउने विदेशी सहायता घट्यो, ऋण बढ्यो

काठमाडौं-नेपालले लिने ऋण सहायता रकम बढेको छ। गत आर्थिक वर्ष २०७४/०७५ को विकास सहायता प्रतिवेदनमा ऋण सहायता रकम बढेको देखिएको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा ऋण सहायता ५० दशमलव ५ प्रतिशत पुगेको छ। नेपालले लिने अनुदान सहायताभन्दा ऋण सहायता बढी भएको हो । वैदेशिक अनुदान सहायता ३५ प्रतिशत, प्राविधिक सहायता १४ दशमलव ४ प्रतिशत रहेको छ।

यस वर्ष करीब १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबरको वैदेशिक सहायता प्राप्त भएकोमा ऋणको अंश आधा भन्दा बढी छ । अघिल्लो आर्थिक वर्ष (२०७३/७४) को तुलनामा वैदेशिक सहायता १६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर वैदेशिक सहायता प्राप्त भएको थियो।

नेपाललाई सहायता दिनेमा विश्व बैंक सबैभन्दा अगाडि रहेको छ। विश्व बैंकले ५३ करोड ३५ लाख डलर सहायता दिएको छ। एसियाली विकास बैंक २९ करोड १७ लाख अमेरिकी डलर सहयोग गर्दा युरोपियन युनियनले ११ करोड ७८ लाख डलर सहयोग गरेको छ।

संयुक्त राष्ट्रसंघ समूहले ६ करोड ३६ लाख डलर, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले १ करोड ५८ लाख अमेरिकी डलर सहायता प्रदान गरेको छ।

द्विपक्षीय विकास साझेदारीमा १२ करोड ३९ लाख अमेरिकी डलर सहायता प्रदान गरेको बेलायत सबैभन्दा अगाडि छ। त्यसपछि अमेरिका, जापान, चीन र भारत रहेका छन्।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहायताभन्दा निक्कै घटेको छ । गत आर्थिक वर्षभन्दा यो वर्ष ७ करोड ६२ लाख ३० हजार डलर कम सहायता प्राप्त भएको हो ।

अघिल्लो वर्ष १८ करोड ६५ लाख ३० हजार डलर आइएनजिओको रकम परिचालन भएको थियो । यस वर्ष ११ करोड ३ लाख अमेरिकी डलर मात्र परिचालन भएको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले देश सबल हुँदै गएकाले ऋण सहायता रकम बढेको बताएका छन्। नेपालको ऋण तिर्ने क्षमता बढ्दै गएकाले विदेशी ऋण बढ्दै गएको बताएका हुन्।

सन् २०२२ सम्ममा स्तरोन्‍नति हुने चरणमा रहेको र यो अवस्थामा अनुदान सहायता भन्दा ऋण सहायता बढ्ने मन्त्री खतिवडाको भनाई छ । ऋण सहायता बढ्नुलाई ऋण तिर्ने क्षमतासँग पनि हेरिने अर्थमन्त्री खतिवडाको तर्क छ।

 

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्