ऐतिहासिक जितगढी किल्ला जोगाउन गुरुयोजना

बुटवल-दुई सय वर्षअघि अंग्रेजहरुलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक थलो जितगढी किल्ला क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि पहल थालिएको छ।

बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढी किल्ला संरक्षण अभावमा नष्ट हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले गुरुयोजना बनाएर संरक्षण र प्रवर्द्धन गर्न चासो दिएको हो।

गुरुयोजनाको प्रारम्भिक खाकामा हाल जितगढी किल्ला रहेको भागको दक्षिण र उत्तर भागमा भौतिक संरचना बनाउने प्रस्ताव छ। जितगढी किल्लासँगै रहेका कभर्ड हल, वडा कार्यालयलाई पूर्वपश्चिम राजमार्गभन्दा उत्तरको भागमा सार्ने र सो भागलाई खाली गर्ने योजना बनाएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।

‘किल्लाको वरिपरी नै कर्भड हल, मन्दिर, वडा कार्यालय र बस्ती रहेकाले केही कठिनाई उत्पन्न भएको छ–उनले भने–सकेसम्म खुला क्षेत्र बनाउने र आगन्तुकलाई किल्ला क्षेत्रमा तत्कालीन पहिचान झल्किने वातावरण बनाउने प्रयास हाम्रो रहनेछ।’

जितगढी क्षेत्रमा रहेका केही घरजग्गा अधिग्रहण गरी पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारकहरु, तिनाउ किनारमा रात्रीकालीन बजार बनाउने सोंच बुटवल उप-महानगरपालिकाको छ।

प्रस्तावित गुरुयोजनाअनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा बन्ने संरचनाका लागि ११ करोड ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। तत्कालिन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर विशेष गुरुयोजना बनाइने प्रमुख सुवेदीले बताए। ‘यो क्षेत्र ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण थलो हो, उनी भन्छन्–यहाँको इतिहास जोगाउँदै पर्यटकलाई आकर्षित गर्ने गरी मनोरम वातावरण तयार गर्ने हाम्रो योजना छ।’

बुटवल उपमहानगरपालिकाका इन्जिनियर धर्मराज ढकाल र आर्किटेक मधु ज्ञवालीले जितगढी किल्ला क्षेत्रमा बन्ने संरचनासहितको प्रारम्भिक गुरुयोजना तयार पारेका छन्। सो गुरुयोजनाको क्षेत्रलाई अरु फराकिलो बनाउँदै जितगढी क्षेत्रलाई विश्वकै एक पर्यटकीय स्थलको रुपमा परिचित बनाउनुपर्ने जितगढीका जानकार विमलबहादुर शाक्य बताउँछन्।

‘जितगढी हामी नेपालीहरुका लागि मात्रै महत्वपूर्ण स्थल हैन, यो त अंग्रेजहरु पराजित भएको थलो हो, उनी भन्छन्–उनीहरुले पनि आफुहरु पराजित भएको थलो हेर्न आउने गरी फराकिलो र खुला संग्रहालयका रुपमा यसलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्छ।’संस्कृतिविद् डा. गितु गिरी जितगढीलाई लुम्बिनी, नुवाकोट, स्युराज र देशका अरु गढीहरुसँग जोडेर प्रवद्र्धन गर्नसकेमा पर्यटक आकर्षण गर्न सकिने तर्क गर्छन्।

‘अहिलेसम्म जितगढीको इतिहासबारे विश्वव्यापी प्रचारप्रसार हुन सकेको छैन, उनी भन्छन्–यसको प्रचारप्रसार विश्वव्यापी रुपमा गर्न सकियो भने यहाँ अंग्रेजहरु नै हेर्न आउनेछन्, जसका कारण हाम्रो आर्थिक पाटोमा पनि फाइदा पुग्नेछ।’

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्