हारेर पनि अघिल्लो चरण पुग्यो रियल मड्रिड

दोस्रो लेगमा पराजित भएर पनि रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति अवे मैदानमा भएको खेलमा रियल मड्रिड लेगानेससँग १–० ले पराजित भयो । तर घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेकाले रियल मड्रिडले समग्रमा ३–१ को जितसहित अघिल्लो चरणमा स्थान पक्का गरेको हो।

अवे मैदानको दोस्रो लेगमा बुधबार राति रियल मड्रिडले गोल गर्ने केही राम्रा मौका बनाएको थियो, तर त्यसमा सफल हुन सकेन । लेगानेसका लागि मार्टिन ब्रेथवेटले गरेको गोल नै दोस्रो लेगमा जितको कारण बन्यो ।

रियल मड्रिड चोटग्रस्त करिम बेन्जिमा र ग्यारेथ बेल बिनामा मैदानमा थियो । रियलको टिममा लुका मोड्रिक र सर्जियो रामोसलाई आराम दिइएकाले स्टार खेलाडीको कमी थियो ।

यस्तै बुधबार राति नै भएको दोस्रो लेगमा पराजित भएर पनि सेभिल्लाले पनि अन्तिम ८ मा स्थान बनाएको छ ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको सेभिल्ला समग्रमा ३–२ को जितसहित क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेगमा सेभिल्ला ३–१ ले विजयी भएको थियो ।

माघ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्