ब्रेक्सिटका कारण विभाजित बेलायती राजनीति

बेलायती प्रधानमन्त्रीले विश्वासको मत पाइन्, तर चुनौती थप चुलिँदो

हाउस अफ कमन्समा विश्वासको मत प्राप्त गरेकी बेलायती प्रधानमन्त्री टेरिजा मे ले ब्रेक्सिटका लागि मिलविन्दु भेट्टाउन व्यक्तिगत इच्छा वा स्वार्थलाई छोडेर रचनात्मक रुपमा एक भएर काम गर्न सांसदसँग आग्रह गरेकी छन् ।

संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा विश्वासको मत पाएपछि बुधबार राति प्रधानमन्त्री मे ले बे्रक्सिटका लागि एक भएर काम गर्न सांसदसँग आग्रह गरेकी हुन् ।

मंगलबार राति प्रधानमन्त्री मे को ब्रेक्सिट डिल अर्थात युरोपियन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रस्ताव ठूलो बहुमतसहित अस्वीकृत भएको थियो अर्थात खारेज भएको थियो । त्यसपछि लेबर पार्टीका सांसद तथा नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

मे को ब्रेक्सिट डिलको विपक्षमा ४३२ तथा पक्षमा २०२ सांसदले मत दिएका थिए । तर संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा भने मे ले बाजी मारेकी हुन् ।

मेको पक्षमा ३२५ र विपक्षमा ३०६ सांसदले मत दिए । बुधबार राति प्रधामन्त्री मे ले एसएनपी, लिबरल डेमोक्र्याटिक र प्लाइड सिम्रुका नेतासँग भेटिन् । तर लेबर पार्टीका नेता जेरेमी उनलाई भेट्न गएनन् ।

विश्वासको मत पाए पनि दुई वर्षभन्दा बढी समय लगाएर तयार पारेको ब्रेक्सिट डिल अस्वीकृत हुनु प्रधानमन्त्री मे का लागि निकै ठूलो धक्का हो । उनले यो योजनामा मार्च २९ देखि २१ महिनाको अवधिमा बेलायत इयुबाट अलग हुने आधार तय गरेकी थिइन् ।

यो अवधिमा स्वतन्त्र व्यापार सम्झौताका सम्बन्धमा छलफल हुने तयारी थियो । यो योजनामा गएको डिसेम्बरमै संसदमा मतदान हुने तय थियो । तर प्रधानमन्त्री मे ले सांसदको समर्थन जुटाउने उद्देश्यसहित पछि सारेकी थिइन् ।

बेलायत मार्च २९ देखि इयुबाट बाहिरिँदै छ । तर ब्रेक्सिट डिल विफल भएपछि त्यसका आधारहरु के हुने भन्ने अन्यौल छ । अब प्रधानमन्त्री मे ले ब्रेक्सिटका लागि सहमतिका आधार खोज्न विशेष गरी लेबर पार्टीलाई मनाउनु पर्नेछ, जुन उनका लागि सजिलो हुने छैन ।

माघ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्