मालढुंगा दुर्घटना अपडेट : ७ जनाको मृत्यु, ३० जना घाइते

‘बस भिरका चट्टानमा ठोक्किँदै कालीगण्डकी किनारमा बजारियो’

पर्वत – पर्वतको मालढुंगामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । ३० जना घाइते भएका छन् ।

तीनजनाको घटनास्थलमै र चारजनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

बसमा ३७ जना सवार रहेको थाहा भएको उनले बताए । घाइते अधिकांशको अवस्था गम्भीर रहेकाले बाग्लुङ्ग जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि हेलिकप्टर तथा एम्बुलेन्समा राखेर थप उपचारका लागि पोखरा तथा काठमाडौँ पठाइएको डिएसपी तिवारीले जानकारी दिए ।

दुर्घटनाबारे डिएसपी तिवारीले भने, ‘टाइरड गएछ । त्यसपछि बस छेउमा आयो । ड्राइभरले गेयर चेन्ज गर्न खोज्दा गेयर नै हातमा आएको रहेछ । अनि बस भिरबाट खसेको देखिएको छ । गाडी झण्डै ७० मिटर तल कालीगण्डकीको किनारमा पुगेको थियो । भिरमा ठूला चट्टान रहेकोले ठोक्किँदै खस्दा ठूलो क्षति भएको हो ।’

म्याग्दीको बेनीबाट चितवनको नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजेतिर कुश्मा नगरपालिका–१ मालढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा म्याग्दीको पाखापानी–२ का २१ वर्षे राजेश पुन, पर्वतको जलजला–७ की अन्दाजी ३१–३२ वर्षकी महिला, जलजला–८ की ४० वर्षे सेती परियार र उनका श्रीमान ५० वर्षका तिखे परियारसहित सातजना छन् ।

माघ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्