नेपाली कामदारको समस्याबारे साउदीको ध्यानाकर्षण

काठमाडौं– श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले साउदीमा रहेका नेपाली कामदारको विषयमा साउदीको ध्यानाकर्षण गराएका छन्। बिहीबार नेपालका लागि साउदीका राजदूत मुसिद सा.अल मारवानीसँगको भेटका क्रममा नेपाली कामदारले भोगिरहेका समस्याको बारेमा ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्नु पर्ने बताएका छन् ।

साउदीमा ठूलो संख्यानमा नेपाली कामदार कार्यरत भए पनि असुरक्षाको अवस्था रहेको भन्दै त्यसका लागि नयाँ समझदारी आवश्यक रहेको बताएका छन् । मन्त्री बिष्टले घरेलु कामदारको सम्बन्धमा छुट्टै व्यवस्था गर्नु पर्ने पनि बताए।

नेपाली कामदार साउदी जाने विषयमा समेत निश्चित मापदण्ड तयार गर्न र सोही अनुसार नयाँ सम्झौता आवश्यक रहेको बताए ।

नेपाली श्रमिकको शव नेपाल ल्याउन लामो समय लाग्ने, श्रमिकहरुले करार सम्झौता बमोजिमको पारिश्रमिक तथा सेवा सुविधा पाउन कठिन हुने, करार अवधी समाप्त भइसकेपछि समयमै स्वदेश फिर्ता हुन व्यवहारिक झन्झट रहने जस्ता समस्याहरु नेपाली श्रमिकहरुले भोग्दै आइरहेकाले यस्ता क्रियाकलापमा साउदी सरकारको विशेष ध्यान दिनु पर्ने भेटमा मन्त्री बिष्टले बताए ।

भाषा र अन्य समस्याको कारणले सानो गल्ती गर्दा पनि नेपालीहरुले जेल जीवन बिताउनु परेको उल्लेख गर्दै मन्त्री बिष्टले यसको लागि दुवै मुलुक जिम्मेवार हुन जरुरी रहेको बताए ।

भेटमा राजदुत मारवानीले नेपाली कामदारहरुले साउदी अरेबियाको विकासमा सकारात्मक योगदान पुर्‍याएको चर्चा गर्दै नेपाली कामदारहरु मिहिनेती, इमानदार र अनुशासित भएको भन्दै प्रशंसा गरे ।

द्विपक्षीय श्रम सम्झौताको लागि साउदी सरकारले यसअघि नै सम्झौताको मस्यौदा पठाइसकेकोले नेपाल सरकारको तर्फबाट अगाडि बढाएर दुवै मुलुकले प्राविधिक समूह गठन गरी छलफलको माध्यमबाट निश्कर्षमा पुग्न साउदी सरकार सकारात्मक रहेको उनको भनाइ छ।

उनले श्रमिक आप्रवासन लेनदेन लागायतका अन्य विषयहरुमा समेत नेपाल सरकारसँग सहकार्य गर्न साउदी सरकार तयार रहेको बताए।

माघ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्