मन्त्रिपरिषदका निर्णयहरु: पानीजहाज कार्यालय स्थापनादेखि रेल किन्‍नेसम्‍म

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय।

काठमाडौं – सरकारले पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले १६ जना कर्मचारी रहने गरी पानीजहाज कार्यालय स्थापना गरेको हो ।

मन्त्रिपरिषदका निर्णण सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले राप तृतीय श्रेष्णीको प्राविधिकतर्फको कर्मचारी प्रमुख रहने गरी कार्यालय स्थापना गरिएको जानकारी दिएका हुन् ।

संविधान घोषणा भएपछि पहिलोपटक प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नै पानीजहाज चलाउने घोषणा गरेका थिए ।

बाँस्कोटाले निर्णय सार्वजनिक गर्दै भने, ‘अब नेपालमा कागजको पानी जहाज होइन साचिक्कैको पानीजहाज चल्छ । सरकारले पानी जहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यसले धेरै आशंका निवारण गरेको छ ।’

यस्तै सरकारले आउँदो चैत १४ र १५ गते काठमाडौमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन गर्न लागिको बास्कोटाले बताए ।

त्यस्तै सरकारले मन्त्रीहरूको तलब र अन्य सेवा, सुविधा बापत भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने निर्णय गरिएको छ। दुई लाख डलरको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषदले कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरेको छ । ‘इम्प्लिमेन्टेशन अग्रिमेन्ट अफ चाइना एड अन ओइल एण्ड ग्‍याँस रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ स्वीकृत गरेको छ ।

बाँस्कोटाले वीरेन्द्रनगर नगरपालिकामा शीत भण्डार निर्माणका लागि ५० लाख सहयोग गर्ने निर्णय भएको बताए ।

त्यस्तै मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जी टु जी प्रक्रिया अवलम्बन गरी रेल गाडी खरिद कार्य अघि बढाउन सैद्धान्तिक सहमति दिइएको छ।
जनशक्ति क्षमता विकास प्रतिष्ठानसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय लगायतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने निर्णय गरेको छ । आन्तरिक शान्ति र व्यवस्था कायम गर्ने सम्बन्धमा बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ।

माघ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्