नेपालगञ्ज – मान्छेका अनेक रहर । त्यसमा पनि अपराधमा चुर्लुम्म डुबेकाको के कुरा गर्नु । कोहलपुरको घटनामा अभियुक्तले शवसँग ‘सेल्फी’ खिचेर ‘रवाफ’ देखाएका छन् ।

प्रहरी बनाइदिन्छु भन्दै सुर्खेत सिम्ता गाउँपालिका २ का दीपकसिंह ठकुरीसँग अछामका भरत शाही र बाँकेका मोहन गिरी भन्ने युवराज गिरी (जिरे) ले डेढ लाख रुपैयाँ बुझेका थिए । ठकुरीले शारीरिक परीक्षा उत्तीर्ण गरेर मेडिकलको नतिजा कुर्दै थिए । ‘भित्र’ कोही नभएकाले शाही र गिरीले ठकुरीलाई प्रहरी बनाउन सक्दैनथे । उनीहरुले ठकुरी मेडिकलमा फेल हुन्छ र पैसा माग्छ भन्ने निष्कर्ष निकालेर हत्याको योजना बनाउन थाले ।

खास कुरा के रहेछ भने ठकुरीले डेढ लाख रुपैयाँ बुझाउँदा प्रमाणका लागि भन्दै फोटो खिचेका रहेछन् । प्रहरी हुन नसक्ने बित्तिकै ठकुरीले पैसा फिर्ता माग्ने नै भए । त्यो कुराले शाही र गिरीलाई पिरोल्यो । र, ठकुरीको हत्या नै गर्ने निष्कर्ष निकाले । ठकुरीले बुझाएको रकम शाहीको राष्ट्रिय बाणिज्य बैंकको खातामा जम्मा भएको प्रहरीले फेला पारिसकेको छ ।

पुस २७ गते साँझ कोहलपुरको बसपार्कस्थित एक होटलमा ठकुरीलाई बोलाइयो । त्यहाँ केहीबेर मदिरापन गरेपछि थप मदिरा खोला किनारमा गएर खाने भन्दै निस्किए । कोहलपुर–११, नयाँ बसपार्कको पूर्वपट्टीको खुल्ला चौरमा पुगेपछि शाहीले पछाडीबाट ठकुरीको टाउकोमा दाउराले हाने । रन्थनिएका ठकुरी ढले । ढलेपछि गिरीले चक्कुले घाँटी रेटे ।

ठकुरीको हत्यापछि शव र चक्कु देखिने गरी गिरीले सेल्फी खिचे । अहिलेसम्म हत्यामा प्रयोग गरिएको चक्कु फेला परेको छैन । यद्यपि, गिरीले खिचेको सेल्फीमा शवसँगै चक्कु पनि देखिएको हत्याको अनुसन्धान गरिरहेका एक अधिकृतले बताए । ‘चक्कु त्यही किनारतिर फालेको भन्छन्, अहिलेसम्म हामीले फेला पार्न सकेका छैनौ, ती अधिकृतले भने ।

ठकुरीको हत्यापछि घटनास्थलमै रहदा शाही र गिरीले ‘ठूलो डन’ भएको उद्घोष गरेका थिए । उनीहरुले कोहलपुरकै एक व्यक्तिको नाम लिँदै त्यो भन्दा पनि आफूहरु ठूलो डन भएको आपसमा वार्तालाप गरेको अनुसन्धान अधिकृत समक्ष खुलाएका छन् ।

प्रहरीले शाहीलाई सुर्खेत र गिरीलाई बर्दियाबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ । गिरीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । बर्दियाको मधुवन नगरपालिकाको वडा नं. ३ स्थित आफन्तको घरमा लुकेर बसेको थाहा पाएर पुगेको प्रहरीलाई देखेर भागेपछि घुडामुनी एक गोली हानेर नियन्त्रणमा लिइएको थियो । गिरीको प्रहरीको कडा सुरक्षा घेरामा कोहलपुरमा उपचार भइरहेको छ ।

माघ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्