काठमाडौं- वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको मूर्तिलाई काठमाडौंको जनबहालमा रङगरोगन गर्ने काम भइरहेको छ।

मच्छिन्द्रनाथका पूजारीद्वय नविन शाक्‍य र अरबिन्द्र शाक्‍य आफैँले मूर्तिमा रङ्ग लगाइरहेका छन्। रङ्‍ग लगाउने कार्यमा मूर्तिविज्ञ नरेन्द्र चित्रकारले सिकाइरहेको मच्छिन्द्रनाथ जात्रा समारोहका सदस्‍य राजन शाक्‍यले देशसञ्‍चारलाई बताए।

उनले भने, ‘सेतो मच्दिन्द्रनाथको मूर्तिलाई पूर्णिमाको दिन स्थापना गर्नको लागि हामीले मूर्तिमा रङ्ग लगाउने कार्य गरिरहेका छौँ। पूजारी आफैले मच्छिन्द्रनाथको मूर्तिमा रङ्गरोगन गरिरहनु भएको छ। भोलि शनिबार सकिन्छ।’

उनका अनुसार अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको मूर्ति रङ्ग भर्ने काम सुरु भएको र पूर्णिमाको दिन बाहिर ल्‍याएर कुमारीको निगरानी महास्नान गर्ने चलन छ। यसका साथै मच्छिन्द्रनाथलाई महास्नान गर्न भोशाभगवतीको भचाखुसीबाट पानी ल्‍याउने गरिन्छ र त्‍यही पानीमा तातो-चिसो बनाइ पञ्‍चामृत स्नान गर्ने गरिन्छ। त्‍यसपछि घाम ताप्‍ने गरिन्छ।

रंगोगन सकिएपछि सात कर्म (व्रतबन्ध,गून्यूचोली, बेलविवाह,चुडाकर्मलगात) गरिन्छ। अन्तिममा पूर्णिमाको दिन सेतो मच्छिन्द्रनाथलाई मन्दिरमा स्थापना गर्ने गरिन्छ।

यसपछि आउँदो चैत महिनामा सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलमा रथ बनाउने कार्य सुरु हुने र काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ।