अमेरिका-उत्तर कोरिया सम्बन्ध

ट्रम्प र किमबिच केही हप्ताभित्रै भेट हुने, किमले ट्रम्पलाई पठाएको चिट्ठीमा के थियो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच दोस्रो भेट चाँडै नै हुने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्प र किमबिच आउँदो फेब्रुअरीको अन्त्यसम्ममा भेट हुने गरी तयारी भइरहेको छ ।

उत्तर कोरियाका नेता किमका उच्च सहयोगी तथा दाहिने हातको रुपमा लिइएका वार्ताकर्ता किम योङ्ग–चोलसँग अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्गटनमा भेटेपछि यस्तो जानकारी दिइएको हो । योङ्ग–चोल उत्तर कोरियाका नेता किमको चिट्ठी लिएर अमेरिका पुगेका थिए ।

चोलसँग ट्रम्पले ह्वाइट हाउसमै भेटेका हुन् । चोलले भेटको क्रममा ट्रम्पलाई किमले पठाएको चिट्ठी हस्तान्तरण गरेका छन् ।

चोलले ट्रम्पलाई सुम्पिएको किमको चिट्ठीमा के उल्लेख थियो भन्ने स्पष्ट भएको छैन । तर यहि चिट्ठी नै दोस्रो वार्ताको आधार बनेको विश्लेषण गरिएको छ ।

ट्रम्प र किमबिच गएको वर्षको जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक भेट भएको थियो । भेटमा उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि राजी भएको थियो ।

त्यसपछि परमाणु निशस्त्रिकरणको पक्षमा केही काम भएका छन् । तर अझै धेरै हुन बाँकी छ र दोस्रो भेटले यसलाई तीव्रता दिने अपेक्षा छ ।

ट्रम्प र किमबिचको दोस्रो वार्ता अर्थात यसपटकको वार्ता भियतनाममा हुने तयारी रहेको बताइने गरेको छ । तर भेटको स्थानबारे अहिलेसम्म स्पष्ट पारिएको छैन ।

दुवै देशका उच्च अधिकारी भेटको तयारीमा लामो समयदेखि जुटेका छन् । बिच–बिचमा दुवै तर्फबाट एकअर्कामाथि व्यक्त गरिएका आशंकाहरुले केही ढिलाइ भएको छ ।

माघ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्