घुमफिर

डाक्यो मर्दी पदमार्ग र माछापुच्‍छ्रे हिमालले

पोखराबाट केही दिनको यात्रामै छोटो तथा लामो दूरीमा रहेका पुनहिल, मर्दी हिमाल, अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्पमा पर्यटकको उपस्थिती बाक्लो हुन्छ ।

यी ट्रेकिङ्ग रुट मध्ये छोटो पदयात्रा गर्न रुचाउने पर्यटकका लागि पछिल्लो समय मर्दी हिमाल पदमार्ग उपयुक्त रोजाइ बन्ने गरेको छ । मध्य पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको संस्कार, संस्कृति, प्राकृतिक सौन्दर्यताका साथै गगनचुम्बी हिमशृङ्खला यस पदमार्गका खास आकर्षण हुन् ।

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ र ९ मा पर्ने मर्दी पदमार्गमा अनेकन विविधताको थुङ्गा गाँसिएको छ । यात्रालाई रोमाञ्चक बनाइरहन सहयोग गर्ने पदमार्गसँग जोडिएका सामाजिक सद्भावले पर्यटकलाई पुलकित बनाइरहन्छ । पदमार्गको सुरुवाति दिनहरुमा प्रचारको अभावको कारण व्यापकता पाउन नसके पनि अहिले यसको महत्व त्यसैकारण पनि चुलिएको छ ।

यहाँको पदमार्गलाई स्थापित गराउन स्थानीयबासीहरुले होस्टेमा हैसे गरिरहेका छन् । फलस्वरुप पछिल्लो तीन वर्ष यता पर्यटकको संख्यामा वृद्धि आएको मर्दी होटल व्यवस्थापन समितिका प्रतिनिधि आईतबहादुर तामाङ बताउँछन् । ‘नेपाली र विदेशी पर्यटक गरेर त्यस्तै ७५ प्रतिशतले वृद्धि भएको छ’, उनले भने, ‘समितिले राख्ने गरेको रेकर्ड अनुसार दैनिक ५ सय जनाले यहाँ पाइला टेक्छन् ।’

सो पदमार्गको संरक्षणको जिम्मेवारी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले लिएको छ । तर आन्तरिक तथा बाह्य पर्यटकसँग छुट्टाछुट्टै दस्तुर लिए पनि पदमार्ग व्यवस्थापनमा भने त्यति सुधार आउन नसकेको स्थानीयहरुले गुनासो गर्छन् । पर्यटकको जति चासो छ, उत्तिकै सम्बद्ध जिम्मेवारवाला निकायको तदारुकता भएमा मर्दी टे«क फस्टाउनेमा कुनै शंका छैन् । सरकारले मुलुकका १ सय नयाँ स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागेको परिप्रेक्ष्यमा भने मर्दी पदमार्ग र आसपासको क्षेत्रलाई समेट्न नसकिएको यसको अध्याँरो पाटो हो ।

अन्नपूर्ण पदमार्ग लगायतका अन्य मार्ग डुलिसकेका पर्यटकहरुको मुख्य रोजाई मर्दी पदमार्ग पर्ने गरेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल पोखरा अध्यक्ष हरि भुजेल बताउँछन् । ‘नयाँ र नौलो पदमार्गको रुपमा मर्दी पदमार्ग विकसित भएको छ, यसको सम्भावना भोलिका दिनमा अझै बढेर जाने संकेत देखिएको छ’, उनी भन्छन् । पदमार्गलाई व्यवस्थित गर्न सके सरकारले लिएका महत्वाकांक्षी योजना सफल हुनेमा सन्देह नरहने पर्यटन व्यावसायिहरु सुनाउँछन् । निजी क्षेत्रको बुतामा मात्रै पर्यटकीय क्षेत्रको विकास पर्खेर बस्नु उपयुक्त नहुने समेत उनीहरुको भनाई छ ।

गण्डकी प्रदेश पर्यटनको राजधानी औपचारिक रुपमै घोषणा गरिनुपर्दछ भन्ने लबिङमा छ यतिबेला प्रदेश सरकार । पश्चिमी मुलुकका मानिसहरुले सौख राख्ने साहसिक पर्यटनको थलो हो गण्डकी । ११ महीनामै १० लाख पर्यटक भित्र्याएर सेलिब्रेसन गरेको नेपाल सरकारले सम्भवतः गण्डकी प्रदेशमा भएका पर्यटकीय गन्तव्यलाई नजर दिँदै आगामी वर्ष सन् २०२० मा २० लाख पर्यटकलाई निम्तो दिएको अनुमान लगाउन सकिन्छ ।

सन् २०२२ मा गण्डकी प्रदेशले मात्रै २२ लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को साउन यता मंसिर मसान्तसम्म ५ महीनामा १ लाख ४४ हजार १ सय ९५ पर्यटक आएको प्रदेश पर्यटन मन्त्रालयको तथ्यांकमा छ । यहि तथ्यांकलाई आधार मान्ने हो भने अबको तिन वर्ष पछाडी २२ लाख पर्यटक भित्रिने योजना सफल होला भन्ने शंका उब्जन्छ । शंकाको वास्तविक जड पर्यटक तान्ने पदमार्गहरु र त्यसको सुगमतासँग जोडिएर आउने गर्दछ ।

उदाहरणकै लागि मात्रै मान्ने हो भने पनि मर्दी हिमाल पदमार्गमा पर्यटककको गतिविधि बढिरहँदा त्यहाँ न्यूनतम आवश्यकताका संरचनाहरु निर्माण हुन भने सकिरहेका छैनन् । पर्यटकहरुका लागि बसोबास गर्ने होटलहरु नहुँदा पर्यटकहरुले धेरै बसाइँको लागि दुःख खेप्नुपरेको छ ।

सरोकार राख्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकबाट लिने दस्तुर बाहेक अन्य पूर्वाधार तयारमा चासो नराख्दा समस्या चुलिँदै गएको आम गुनासो छ । संरक्षण क्षेत्रभित्र अनुमति बेगर संरचना निर्माण गर्न नपाइने अर्को तर्फ आवश्यकता अनुसारका पूर्वाधार एक्यापले निर्माण गर्ने ल्याकत नराख्नु अनिश्चयको बन्दी मात्र हो ।

लामो समयदेखि संरक्षण क्षेत्रको नीति परिमार्जन गर्न स्थानीयहरुले पहल गरे पनि चासो दिइएको छैन् । स्थानीय श्रमशक्ति परिचालन हुन नसक्नु र उत्पादन हुन सक्ने पुँजी ह्रास हुनुले प्रदेशमा पर्यटनलाई उद्योगको रुपमा स्थापित गर्न सकिने कुरा मेल खाँदैन ।

तस्बिर सौजन्य : सुशान्त गाहा मगर ‘अर्जुन’