एक ग्रन्थपालको पुस्तकालय अनुभव

धनगढी – कुनै बेला थियो, धनगढीका युवाहरु हिन्दी उपन्यास धेरै पढ्थे । र धैरे पढिने उपन्यासकार मध्ये थिए वेदप्रकाश शर्मा । शर्माका जासुसी कथा पढ्ने युवा पाठकको संख्या बाक्लै थियो ।
२०५०/०५१ सालतिरको कुरा हो यो । तर समयसँगै युवा पाठकहरुको रुचि फेरिएको छ । अचेलका युवा पाठक नेपाली उपन्यास पढ्छन्, जासुसीको जालो होइन कथामा नेपाली मौलिकता खोज्छन् । २५ वर्षदेखि पुस्तकालयमा ग्रन्थपाल भएर काम गरिरहेका डिल्लीराज योगीको अनुभव हो यो । धनगढीको मुख्य बजारमा रहेको कैलाली जन पुस्तकालय पनि योगीजस्तै यस्ता धेरै परिवर्तनहरुको साक्षी हो ।
२०१४ सालमा स्थापित कैलाली जनपुस्तकालय कैलाली जिल्लाका दुई सार्वजनिक पुस्तकालय मध्येको एक हो । अर्को भानु पुस्तकालय जिल्लाको पूर्वी क्षेत्र सत्ती बजारमा थियो । अहिले बन्द छ । कैलाली जनपुस्तकालयमा सबै विधाका पुस्तक उपलब्ध छन् । त्यो बेला हिन्दी उपन्यास पढ्न आउने पाठकहरु दिनमा १०/१२ जना हुन्थे ।
सबैको पहिलो रोजाईमा पर्थे उपन्यासकार वेदप्रकाश शर्मा । शर्माका अधिकांश उपन्यासले जासुसी कथा बोकेका हुन्थे । त्यतिखेर दुई किसिमका पाठक आउँथे पुस्तकालयसम्म । पहिलो जासुसी उपन्यास पढ्ने र दोस्रो धार्मिक किताब पढ्ने । धार्मिक किताब पढ्नेहरु केही पाको उमेरका हुन्थे ।
केही युवा पाठकहरुले राजनीतिक विचारका पुस्तक पनि खोज्थे । राजनीतिक दलमा आवद्ध युवाहरु राजनीतिक पुस्तक पढ्थे । विशेष गरी बामपन्थी विचार बोकेका विद्यार्थी पुस्तकालयका नियमित पाठक थिए ।
समयसँगै बदलियो रुची
वेदप्रकाश शर्माका उपन्यास पढ्ने युवा फाट्टफुट्ट २०६५ सालसम्म पुस्तकालयमा आउने गर्थे । तर त्यसपछि भने त्यस्ता उपन्यास पढ्नेहरु नभेटेको योगी सुनाउँछन् । पुस्तकालयमा सहायक ग्रन्थपालबाट काम सुरु गरेका उनी अचेल प्रमुख ग्रन्थपालको भूमिकामा छन् ।
यसबीचमा पुस्तकालयको सञ्चालक समितिमा पाँच जना त अध्यक्ष नै भए । उनी सहायक ग्रन्थपालको रुपमा पुस्तकालय प्रवेश गर्दा पत्रकार घनबहादुर शाह अध्यक्ष थिए, त्यसपछि कृष्णबहादुर श्रेष्ठ, दीनानाथ भट्ट र उमाकान्त जोशी आए । दीनानाथ भट्टले पुस्तकालयको अध्यक्षको रुपमा लामो अवधि काम गरे । अहिले उनी प्रमुख ग्रन्थपालको भूमिकामा पुग्दा डा. टिएन जोशी अध्यक्ष छन् ।

२५ वर्षको अवधिमा उनले पाठकहरुका थुप्रै प्रबृत्तीसँग साक्षात्कार हुने मौका पाएका छन् । ‘हिजोका पाठक भन्दा आजका पाठक बढी गम्भीर विषयबस्तु पढ्न रुचाउने खालका छन ।’ उनले भने, ‘अहिलको पुस्ता पहिले अखवारमा पुस्तकको समिक्षा पढ्छ अनि पुस्तकालय आउँछ ।’ पाँच सय रुपैयाँ धरौटी राखेर वार्षिक १ सय २५ रुपैयाँ तिरेपछि यो पुस्तकालयको सदस्य बन्न पाइन्छ । अहिले पुस्तकालयसित यस्ता सदस्य ६० जना मात्रै छन् ।
आजीवन सदस्य मात्रै ५ सय ५० जना छन् । अहिले पुस्तकालयमा १६ हजार जति विभिन्न बिधाका पुस्तक छन् । अहिले पुस्ताको पढ्ने रुची नै फरक छ । योगीको अनुभवमा युवा पुस्ता पहिलेको भन्दा अहिलेको पढन्ते छ, तर रुची भने फरक छ । पहिले दर्शन र साहित्यको बढी खोजी हुन्थ्यो, हिजोआज राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार पाएका पुस्तक बढी पढिन्छन् । ‘हिजो जुन उमेर समूहका पाठकले वेद प्रकाश शर्माका उपन्यास खोज्थे त्यही उमेर समूहको अचेलको पाठक बुद्धिसागरलाई बढी खोज्छ’, योगीको अनुभवले यही भन्छ ।
जनसंख्या बढ्यो, बढेनन् पाठक
हिजोको जनसंख्यालाई हेर्दा जति पाठक पुस्तकालय पुग्थे, धनगढीको जनसंख्या बृद्धि दरलाई हेर्ने हो भने पुस्तकालय आउनेको संख्या भने त्यति बढ्न सकेको छैन् । ‘हरेक कलेजहरुमा सानो, ठूलो पुस्तकालय स्थापना भएका छन्, विद्यार्थीहरु त्यतै बढी पढ्न थाले, त्यसैले यहाँ आउनेको संख्या जनसंख्याकै गतिमा बढेन ।’ योगी भन्छन् ।
२०५० साल देखि २०६२/०६३ सम्म राजनीतिक दस्तावेज, पुस्तक पढ्न आउने युवाको संख्या राम्रै थियो । तर त्यसपछि भने त्यस्ता पुस्तक खोज्ने मान्छे आफूले नदेखेको उनी बताउँछन् ।
बदलिँदै जनपुस्तकालय
समयसँगै कैलाली जनपुस्तकालय पनि बदलिदै गएको छ । उसले धनगढी उपमहानगरपालिकाको सहयोगमा इ–पुस्तकायलय स्थापना गर्ने काम सुरु गरेको छ ।
अहिले पाँचवटा कम्प्युटर राखिसकेको पुस्तकालयले निशुल्क वाईफाई जोड्ने तयारी पनि गरेको छ । नया पुस्तालाई मध्यनजर गर्दै यो तयारी गरिएको प्रमुख ग्रन्थपाल योगी बताउँछन् ।
१५ हजार पुस्तकहरु नष्ट
यो पुस्तकालयले धमिरोले खाएका १५ हजार पुस्तकहरु नष्ट गरेको छ । काठको दराज, त्यो पनि भित्तासित जोडिएर राखिएको । पुस्तक सबै धमिराले अक्षर नचिनिने बनाएपछि नष्ट गर्नुपरेको प्रमुख ग्रन्थपाल योगी बताउँछन् ।