चुनावअघि ममता बेनर्जीको नरेन्द्र मोदी विरोधी र्‍याली

‘मोदीको अन्त्यको सुरुवात कोलकाताबाट हुनेछ’

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री बमता बेनर्जीको आह्वानमा शनिबार भारतका विपक्षी पार्टीका नेता युनाइटेड इन्डिया र्‍यालीमा सहभागी हुन कोलकाता पुगेका छन् ।

आउँदो मे मा हुने आम चुनावअघि हुन लागेको यो र्‍याली केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) का नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध ठूलो प्रदर्शन मानिएको छ ।

पूर्व प्रधानमन्त्री एचडी देवगौडा, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव, अरुणाञ्चलका पूर्व मुख्यमन्त्री गेगोंग अपांग र राष्ट्रवादी कांग्रेसका नेता शरद पवारसहितका नेता मोदीविरोधी प्रदर्शनमा सहभागी हुनेछन् ।

यस्तै भाजपाकै सांसद तथा अभिनेता शत्रुघ्न सिन्हा, पूर्व केन्द्रीय मन्त्री अरुण शौरी, डिएमके नेता एमके स्टालिनसहितका नेता पनि र्‍यालीमा सहभागी हुन कोलकाता पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ममताको पार्टी तृणमूल कांग्रेसका लाखौँ समर्थक पनि र्‍यालीमा सहभागी हुन कोलकातामा केन्द्रित भएक छन् । ममता यो र्‍यालीमार्फत विपक्षी एकतासँगै आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छिन् । ममताले यो र्‍याली प्रधानमन्त्री मोदीको अन्त्यको सुरुवात रहने बताउँदै आएकी छन् । तर भाजपा भने यसलाई थकित नेताहरुको जमघट भनिरहेको छ ।

यो र्‍यालीमा देशभरका विपक्षी पार्टीका मुख्य नेता पुगेका छन् । तर कांग्रेस र बहुजन समाज पार्टीले आफ्ना नेतालाई पठाएको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो तर्फबाट मल्लिकार्जुन खडगे र मायावतीले पनि आफ्ना प्रतिनिधि पठाएकी छन् । राहुल र मायावती स्वयम् उपस्थित नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विपक्षीको तर्फबाट राहुल गान्धी, ममता बेनर्जी र मायावतीलाई भारतको भावी प्रधानमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । उनीहरु एउटै मञ्चमा एकैसाथ देखिन नचाहेका हुन् कि भन्ने प्रश्न पनि उब्जिएको छ ।

माघ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्