कर्मजीविको कर्म-कथा

उध्रिएका जुत्ता स्याहार्दै ‘जीवन सिलाइरहेका’ पूर्व सेना श्रीधर

राम श्रीधरका हातका औँलाहरु, उनले जुत्ता सिलाउँदा हातमा बल पर्छ । उनी यिनै हातका औँलाहरुमा साँचेको सीपले जीवन चलाइरहेका छन् । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

छेउ–छेउमा बिजुलीका खम्बा । दुईवटा ट्रान्समिटरको बिचमा साँघुरो ठाउँ । त्यहिँ त्रिपालमा राखिएका छन् जुत्ता सिलाउने सामान ।

महोत्तरीको मदरकट्टि नगरपालिका राम श्रीधर जुत्ता सिलाउने काम गर्छन् । काठमाडौंस्थिति अनामनगरमा दुई बिजुली पोलको बिचको अप्ठ्यारो ठाउँमा उनले जीवन सजिलो बनाउने माध्यम आर्थत आफ्नो पेशा गर्दै आएका छन् ।

उनले जुत्ता सिलाउने सियो र धागोसँग नाता जोडेको दुई बिस अर्थात २० वर्ष भयो । जुत्ता सिलाउने काम गर्नुअघि उनी खेतिपातीमा व्यस्त थिए । तर सिचाईको अभावले मेहनत गरेजस्तो उब्जनी भएन । घर चलाउन गाह्रो भयो । गुजारा सजिलो थिएन । अनि विकल्पको खोजीमा लागेका राम श्रीधरले आफन्तको सिफारिसमा आर्मीमा बाजा बजाउने जागिर पाए । ‘आर्मीमा ८ वर्षसम्म काम गरेँ’, उनी भन्छन्, ‘पारिवारिक समस्याका कारण जागिर छोड्नु पर्‍यो । ८ वर्षसम्मको कमाइले डेढ लाखमा ७ कट्ठा जमिन भने किनेँ ।’

जागिर छोडेपछि पुनः कृषि क्षेत्रमा नै लागे तर सिचाईको समस्या उस्तै थियो । आकाशे पानीको भरमा हुने खेतीले जीवन सजिलो भएन । उनी कामको खोजीमा काठमाडौँ आए । उनका हातहरु यसपटक बाजामा होइन सियो–धागोमा अडिए ।

सुरुमा त उनले बाँसबारी जुत्ता कारखानामा काम गरे । एक वर्षजतिको कारखानाको बसाईमा उनले जुत्ताको काम सिके । हातमा सीप भएपछि उनले आफ्नै काम सुरु गरेका हुन् । ४ हजारको लागतमा २०५५ सालमा जुत्ता सिलाउने व्यवसाय सुरु गरेको उनी बताउँछन् ।

अहिले आफ्नो व्यवसायबाट मासिक ३० हजारसम्म आम्दानी हुने गरेको उनले सुनाए । उनको पाँच जनाको परिवार छ, दुई छोरा र एक छोरी अनि श्रीमती । सो आम्दानीबाट नै उनले आफ्नो खर्चसँगै छोराछोरीको पढाइ र घरखर्च समेत धानेका छन् ।

उनी भन्छन्, ‘गाउँबाट एसएलसी पास गरेपछि दुई छोर काठमाडौँमा नै पढे । अहिले एउटा छोराले बिए पास गरेर गाउँमा कम्प्युटर अपरेटरको काम गर्नुका साथै खेतिपाती पनि गर्छ ।’ उनी अगाडि भन्छन्, ‘अर्को छोरा १२ मा पढ्दै छ । छोरीको भने १० पास गरेपछि विवाह गरिदिएका छौँ ।’

छोरीको विवाहबारे उनले प्रष्ट्याए, ‘हाम्रो चलनमा छोरीलाई धेरै शिक्षा दियो भने विवाह गर्न गाह्रो हुन्छ ।’ दाइजो माग्ने परम्पराले छोरीका परिवारले आर्थिकभार खेपिरहेको उनी बताउँछन् । आफूले पनि छोरीको विवाह गर्दा डेढ लाख नगद, एउटा मोटरसाइकल तथा फनिर्चर दाइजो दिएको उनले सुनाए ।

गाँउमा श्रीमतीले घरदेखि खेतबारीसम्मको काम सम्हालेका कारण आफूलाई बाहिर काम गर्न सजिलो भएको उनी बताउँन् । पहिले उनको घर कच्ची थियो । केही महिना अघि पक्की घर बनाएका छन् । उनी भन्छन्, ‘काम सानो–ठूलो हुँदैन, जुन क्षेत्रमा काम गरे पनि सन्तुष्ट हुनुपर्छ ।’

उनी अरुका उध्रिएका जुत्ता सिलाएर राम्रो बनाउँछन्, पालिस लाएर चम्किलो पार्छन् । यसैले उनको जीवन–जीविकालाई पनि उध्रिन दिएको छैन ।

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

माघ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्