बेत्रावतीमा गाेरु जुधाई
गाेरु जुधाई 'जात्रा', परम्परा र मान्यता

‘लाले बुढो भएर हार्यो, कालेसँग अनुभव थिएन’

पारी रसुवा, वारी नुवाकोट । फलाखु (रुद्रगया) खोलाले छुट्याएको छ नुवाकोट र रसुवालाई । अलि तल उत्तरगया गोसाईँकुण्डबाट बग्दै आएको त्रिशुली त्यतै हुँदै बग्दै गएको छ। रसुवाको सिमाना बेत्रावती।

२०७५ माघ १ गते । नुवाकोटको बेत्रावती । घडिले १२ बजाई सकेको थियो, घाम केहि चर्को । फलाखु खोलाको छेउ । पुलसँगै छ मैदान जाने बाटो । मैदानमा दर्शक थपिँदैछन् । बलौटे माटो । मैदानको पूर्वतर्फको डिल पनि दर्शकले भरिइसकेको थियो।

नुवाकोट–रसुवा जोड्ने पुलको माथि, आउने-जाने गाडीलाई टेर्दै नटेरी दर्शकहरु पुल ओगटेर बसेका छन्। खोला पारी डाँडामा आँखामा परेको घाम छेक्दै गोरु जुधेको हेर्न बसेका एक हुल मानिस । सबैको प्रतिक्षामा छ परम्परागत बार्षिक गोरु जुधाई जात्रा ।

फलाखु खाेलाकाे पारी रसुवा जिल्लामा पर्ने भागबाट गाेरु जुधेकाे हेर्दै स्थानीय ।

अब पालो अष्टमान डंगोलको रातो गोरु र रामबावु न्यौपानेको गोरुको । उद्घोषकले केहि चर्को स्वरमा आएको घोषणा पछी दर्शकहरु केहि सतर्क भए । धेरैले घाटि तन्काएर हेर्दै थिए गोरु कताबाट आउदै छ भनेर ।

मैदानको उत्तरतर्फ फलाखू खोलाको छेउमा बाँधेर राखेको गोरु डंगोलले मैदानमा उतारे । उनको पछिपछि रामबाबुको गोरु पनि मैदानमा उत्रियो । केहि बेर एक अर्काको वरिपरि घुमेका गोरु मैदानको धुलो उडाउँदै जुध्न थाले । आकारमा ठूलो न्योपानेको गोरु डंगोलको गोरु माथी भारी पर्यो। करिव ६ मिनेटको भिडन्तमा न्यौपानेको गोरुले बाजिमार्यो।

आफ्नो गाेरु रामबावु न्याैपानेकाे गाेरुसँग जुधेकाे हेर्दै अष्टमान डंगाेल (ढाडमा लाैराे घुसारेका)

डंगोलको रातो गोरु जताबाट आएको थियो त्यतै भाग्यो, दर्शकलाई पन्छ्याउँदै । अष्टमान डंगोल आफ्नो गोरुको पछि पछि लागे निराश हुँदै।

माघ १ गते गोरु जुधाउने परम्परालाई एक उत्सबका रुपमा लिन्छन् नुवाकोटबासी । यस बर्ष बेत्रावतीका ८ हल गोरुसहित नुवाकोटमा ४८ हल गोरु जुधाइयो ।

गोरु जुधाईमा रमाएका नुवाकोट बासी


बेत्रावतीका पुर्णमान डंगोलले माघ १ गते गोरु जुधाउन सुरु गरेको ११ बर्ष भयो । यसपटक उनले लाले र काले दुई वटा गोरु जुधाउन ल्याएका थिए । उनका दुबै गोरुले हारे । यसअघि उनको लाले गोरुले लगातार ४ पटक जितेको थियो। ५९ बर्षका डंगोलले टाउको कन्याउँदै भने, ‘लाले बुढो भएर हार्यो, काले पहिलो पटक लडेकाले अनुभव थिएन।’

राजाराम भण्डारी

विदुर नगरपालिका- ९ का राजाराम भण्डारी आफ्ना दुईवटा गोरु राते र कालेलाई डोहोर्याउँदै १ घण्टा हिँडेर आएका थिए। उनको कालेले जित्यो, रातेले हार्यो। ५६ बर्षका भण्डारीले ३ बर्ष भयो गोरु जुधाउन सुरु गरेको । यसअघि उनको परिवारबाट कसैले गोरु जुधाउन ल्याएका थिएनन् । उनले हाँस्दै भने, ‘अब सक्ने बेलासम्म गोरु जुधाउन ल्याउछु।’

फलाखु खोलाको किनार, करिव १५ हजार दर्शक । होक्का गर्दै खुट्टा घिसारेर धुलो उडाएर प्रतिद्धन्दीलाई चुनौती दिँदै लडाकु गोरु प्रवेश गर्छन् युद्ध मैदानमा । सिङ्ग जुध्दा आउने आवाज र दर्शकको हुटिङ्ग र हरुवा गोरुलाई बोटो दिन रमितेहरुको आकर्षक ‘दृष्य’हरु हुन्छन् यो जात्रामा।

केही बर्ष पहिलेसम्म नुवाकोटका गाउँ गाउँमा हुने गोरु जुधाउने परम्परा पछिल्लो दशकमा स्थानीय क्लबहरुको अग्रसरतामा एकै ठाउँमा व्यवस्थित तरिकाले हुँदै आएको छ। नुवाकोटका पर्यटन व्यवसायी शिव लामिछाने भन्छन्, ‘जिल्लामा यसरी व्यवस्थित तरिकाले गोरु जुधाउने परम्परा २०५३ सालदेखी सुरु भएको हो।’

गोसाँईकुण्ड युवा क्लब वेत्रावतीले गोरु जुधाईको कार्यक्रम गर्दै आएको छ। क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलका अनुसार बेत्रावतीमा व्यवस्थित गोरु जुधाउने काम १२ बर्ष अघिबाट सुरु भएको हो ।

यो व्यवस्थित होस भनेर नै क्लबको पहलमा ३ बर्ष अगाडी गोरु बेच्न नपाउने शर्तमा प्रत्येक किसानलाई १० हजार रुपैयाँ दिइएको थियो । ती किसानहरु नै अहिले यो प्रतियोगितामा भाग लिन आएको उनले बताए।

गोरु जुधाउने प्रतियोगिता व्यवस्थित गर्ने क्लबहरुले सहभागी हुने सबैलाई पुरस्कारको व्यवस्था गरेकाले पनि यो प्रतियोगीतामा किसानको सहभागिता बढ्दै गएको छ।

किन जुधाइन्छ त नुवाकोटमा गोरु ?


यो परम्परा कहिले र कसले सुरु गर्यो भन्ने यकिन हुन सकेको छैन। गोरु जुधाउने नुवाकोटका प्रमुख दुई ठाउँ बेत्रावती र तारुका हुन् । यी दुई ठाउँमा यो परम्परा सुरुवातका आफ्नै कहानी छन्।

बेत्रावती
केरुङ सन्धि गरेको २ वर्ष पुग्दानपुग्दै सन् १७९१–९२ मा नेपाल र तिब्बतबिच फेरि युद्ध सुरु भयो । सिमाविद् बुद्धीनारायण श्रेष्ठ भन्छन्, ‘त्योबेलाको गोर्खाली सेना जित्दै अगाडी बढ्दै सिगात्सेसम्म पुगेको थियो।’

 

तर दोस्रो पटकको युद्धमा तिब्बत एक्लै थिएन उसलाई चीनले साथ दियो । श्रेष्ठका अनुसार सिगात्सेसम्म पुगेको गोर्खाली सेना चीनका छिङ माहाराजाको ठुलो संख्यामा आएका सेनासँग पछिहट्न बाध्य भयो।

पछिहट्दै आएको गोर्खाली सेना र चिनीया सेनाको लडाई नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा भयो । त्यसमा दुवैले ठूलो क्षती व्यहोरे। नेपालको लडाई तिब्बतसँग भनिएपनि खासमा लडाई चीनसँग भएको थियो । त्यही लडाईको फलस्वरुप नेपाल–तिब्बत–चीनबीच एक सन्धी भएको थियो, सन् १७९२ अक्टोबर ५ मा । बेत्रावतीका स्थानीयको मान्यता छ, त्यही सन्धीलाई उत्सवको रुपमा मनाउन गोरु जुधाउने परम्परा सुरु भएको हो।

नेपाल तिब्बत सन्धी भएको मानिएकाे ढुङ्गा । यही ढुङ्गालाई प्रतिक मानेर छेउमा रेहेको खाली ठाउँमा ३ बर्ष अघिसम्म गोरु जुधाउने चलन थियो ।

बेत्रावती बजार नपुग्दै बाटोको बायाँ तर्फ त्रिशुली नदीको छेउमा एउटा ठूलो ढुङगा छ। स्थानीय लक्ष्मण डंगोलका अनुसार यही ढुङ्गामा नेपाल तिब्बत सन्धी भएको बेत्रावतीका जनतामा विश्वास छ । त्यसैले त्यही ढुङ्गालाई प्रतिक मानेर छेउमा रेहेको खाली ठाउँमा ३ बर्ष अघिसम्म गोरु जुधाउने चलन थियो । त्यो निजी जग्गा भएकाले अहिले बजार भन्दा माथी फालुखा खोलाको छेउमा गोरु जुधाउन थालियो।

तारुका
बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा राजकुमार जयपृथ्वीबहादुर सिंह २० औँ शताब्दिको मध्यतिर आफ्नो मामाघर नुवाकोटको तारुका आएका थिए। दस वर्षको हुँदा काठमाडौँको जाडो छल्न आमासँगै मामा घर तारुका पुगेका उनी खुसी नभएपछी गोरु जुधाएर उनलाई खुसी बनाइएको भनाई छ।

तारुकामा गोरु जुधाएको हेर्दै स्थानीयबासी

दोस्रो किम्बदन्ती भन्छ, श्री ३ चन्द्र शमशेरकी छोरी धनसाई मैया (खगेश्वरी लक्ष्मी देवी) लाई जय पृथ्वीबहादुर सिंहले विवाह गरेपछि उनलाई दाइजोको रुपमा नुवाकोटस्थित तारुकाको जमिन दिइयो। पछी त्यो जमिनमा बनाइएको कोतघरमा बस्न राजा सिंह आउँदा स्थानीयले गोरु जुधाएर स्वागत गरेका थिए ।अहिलेसम्म यसैले परम्परा र संस्कृतीको रुप लिएको हो।

                                      भिडियाे/तस्बीरहरु: प्रभात खनाल/देश सञ्चार