भूमि व्यवस्थासम्बन्धि नयाँ नियम बन्दै

‘४ वर्षपछि देशमा सुकुम्बासी रहँदैनन्,जमीन बाँझै राखे सजाय’

बुटवल– सरकारले खेतीयोग्य जमीन बाँझै राखेमा सजाय गर्ने भएको छ।

खेतीयोग्य जमीनलाई घडेरी बनाउने प्रवृत्ति बढेकोले यसलाई निरुत्साहित गर्न कानुन बनाउन लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सदनमा टेबुल गरेको ‘भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा खेतीयोग्य जमीन लगातार तीन वर्षसम्म बाँझो राखेमा जरिवाना तिर्नुपर्ने उल्लेख भएको बताइन् ।

उनका अनुसार सदनबाट सो विधेयक जस्ताको तस्तै पारित हुने आशा गरेको छ ।

‘जग्गाधनीले आफ्नो जग्गा उपयोग गरोस्, उत्पादकत्वमा जोड दिन सकोस्, केही न केही आर्थिक उपार्जन गरोस्, जरिवाना गराउनुको अन्तर्य खोल्दै उनले भनिन्– यसले व्यक्तिको मात्रै हैन, मुलुककै समृद्धिमा सहयोग पु¥याउँछ ।’

लगातार ३ वर्ष सम्म खेतीयोग्य जमीन बाँझै राखेमा जरिवाना तिराउने गरी कानुन बन्न लागेको उनले बताइन् ।

‘कि त उसले त्यो जमीनको उपयोग गर्नुपर्छ, या त छाड्न सक्नुपर्छ’ उनले भनिन्, ‘कृषि, आवासीय, औद्योगिक, वन, व्यवसायिक, पर्यटकीय, नदी, सार्वजनिक क्षेत्र, सांस्कृतिक तथा पूरातात्विक स्थल भनेर स्थानीय तहले वर्गीकरण गर्नेछन्।’

उनले जमीनको वर्गीकरण गर्ने र त्यसैअनुसार व्यवस्थित गर्दै जाने योजना रहेको सुनाइन् । उनका अनुसार त्यसकै आधारमा तीन तहकै सरकारले भू–उपयोग नक्शा तयार गरेर मात्रै जमीनलाई व्यवस्थित गरिनेछ ।’

उनले कित्ताकाट खुला गरिएपनि खेतीयोग्य जमीनको कित्ताकाट गर्न पनि नपाइने बताइन् ।

अहिले कित्ताकाट खुले पनि मनपरी गर्न नपाइने उनले बताइन्। मन्त्री अर्यालले स्थानीय तहमा विज्ञहरुसहितको प्राविधिक समिति बन्नेछ, त्यसले यो खेतीयोग्य जमीन होईन भनेर गरेको सिफारिशका आधारमा मात्रै कित्ताकाट गर्न पाइन्छ ।

समितिमा मालपोत, नापी, वन, कृषि र स्थानीय तहका प्रतिनिधिहरु रहनेछन् ।

४ वर्षपछि देशमा सुकुम्बासी रहँदैनन्,

मन्त्री अर्यालले यो सरकारको कार्यकाल सकिदासम्म मुलुकमा सुकुम्बासी समस्या समाधान हुने दाबी गरेकी छिन् ।
उनी भन्छिन्–‘यो सरकारको पालामै मुलुकबाट सुकुम्बासी समस्या समाधान हुनेछ, हामीले सुकुम्बासी समस्या समाधानका लागि धेरै काम गर्दैछौं ।’

जमीनको वर्गीकरण गरिसकेपछि जमीन व्यवस्थापन गर्दै जाने र सोही क्रममा सुकुम्बासी समस्या समाधान गर्ने उनको भनाई छ ।

माघ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्