पहिलो हाफमा गोल खायो, दोस्रो हाफमा खेलमा फर्कियो

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको लिभरपुलले अग्रता थप प्रभावशाली बनाएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसमाथि ४–३ को संघर्षपूर्ण जित निकाल्दै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी सात बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा मोहम्मद सालहले दुई तथा रोबर्टो फिरमिनो र साडिओ मानेले एक एक गोल गरे । सालहले यो खेलमा प्रिमियर लिगमा आफ्नो ५० औँ गोल पूरा गरेका छन् । यस्तै क्रिष्टल प्यालेसका लागि टाउनसेण्ड, टमकिन्स र मेयरले गोल गरेका हुन् ।

३४ औँ मिनेटमा टाउनसेण्डको गोलबाट क्रिष्टल प्यालेसले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो । ४६ औँ मिनेटमै सालहले टिमका लागि बराबरी गोल फर्काए, यो प्रिमियर लिगमा उनको ५० औँ गोल थियो ।

फिरमिनोले ५३ औँ मिनेटमा गोल गरेपछि लिभरपुलले अग्रता बनायो । ६५ औँ मिनेटमा टमकिन्सले क्रिष्टल प्यालेसका लागि बराबरी गोल गरे । ७५ औँ मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले अग्रता बनायो ।

८९ औँ मिनेटमा जेम्स मिल्नर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो । तर इन्जुरी समयको तेस्रो मिनेटमा मानेले टिमका लागि गोल थपे । त्यसको दुई मिनेटपछि मेयरले क्रिष्टल प्यालेसका लागि अर्को गोल गरे पनि जितका लागि पर्याप्त भएन र लिभरपुल ४–३ ले विजयी भयो ।

महत्वपूर्ण तीन अंक जोडेको लिभरपुलको २३ खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ र उसको ५३ अंक छ । १४ औँ स्थानको क्रिष्टल प्यालेसको २२ अंक छ ।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्