काभानी र एमबाप्पेको ह्याट्रिक तथा नेइमारको दुई गोल, पिएसजीको कीर्तिमानी जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले धेरै अर्थमा महत्वपूर्ण वा कीर्तिमानी जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले ग्याङ्गोँमाथि ९–० को जित निकाल्यो ।

लिगमा पिएसजीको इतिहासमा यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि उनसले गएको वर्ष डिजोनलाई ८–० ले हराएको थियो । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि एडिन्सन काभानी र केलियन एमबाप्पेले ह्याट्रिक गरे ।

नेइमारले दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरेका हुन् । पहिलो हाफमा तीन गोल गरेको पिएसजीले दोस्रो हाफमा थप आधा दर्जन गोल गरेको हो । नेइमारले ११ औँ मिनेटमा गोल गर्दै पिएसजीका लागि यो खेलमा गोलको खाता खोलेका थिए ।

एमबाप्पेले ३७ र ४५ औँ मिनेटमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो । काभानीले ५९, ६६ र ७५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । काभानीको ह्याट्रिकअघि ६८ औँ मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल गरेकाले टिमको अग्रता ७–० मा पुगेको हो ।

८० औँ मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे । ८३ औँ मिनेटमा मुनिएरले पुछारको क्लबमाथि अर्को गोल गरेपछि पिएसजीले कीर्तिमानी जित दर्ता गरेको हो ।

पिएसजीले सबै प्रतियोगितामा गरेर अहिलेसम्मकै फराकिलो जित भने सन् १९९४ मा निकालेको थियो । उसले त्यो बेला फ्रेन्च कपमा कोते चाउडीलाई १०–० ले हराएको थियो ।

१० दिनअघि पिएसजीलाई फ्रेन्च लिगमा ग्याङ्गोँले स्तब्ध बनाएको थियो । ग्याङ्गोँ पिएसजीलाई २–१ ले हराएर फ्रेन्च कपको सेमिफाइनलमा पुगेको थियो । शनिबार रातिको खेलमा पिएसजीले त्यो हारको गतिलो बदला लियो ।

शीर्षस्थानको पिएसजीको १९ खेलबाट ५३ अंक भएको छ । दुई खेल बढी खेलेको दोस्रो स्थानको लिलेको १३ अंक कम अर्थात ४० अंक छ ।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्