रोशनी बम र बबिता बम । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
निर्मला पन्त हत्या प्रकरण

बम दिदीबहिनी-सरकार निर्मलाका हत्यारा पत्ता लगाउ

आफैले हात हल्लाएर बिदा गरेकी साथीलाई कहिल्यै देख्न पाउँदिन भन्ने कुरा रोशनी बमले सोचेकी थिइनन्। सँगै होमवर्क गरेर, आँगनको छेउमा फलेको अम्बा खाइवरी, केही पोको पारेर गएकी साथी संसारबाट बिदा हुन्छे अनि उसको मृत्युको आरोप आफूमाथि आइपर्छ भन्ने शायदै रोशनीको त्यो बेला सोचेकी थिइन् । नसोचेकै भयो, त्यो भन्दा पनि भयंकर ।

दुई दिन अघिसम्म हाँस्दै हिँडेको बाटोमा मुन्टो लुकाउँदै हिँड्नुपर्ने भयो । हाँसखेल गर्ने छरछिमेकमा उनी उभिन सकिनन् । बोल्न सकिनन्। उनलाई आफ्नै घर जेल जस्तै भयो।

‘दुःख पाउन आफूले गल्ती गर्नुपर्दैन रैछ, गल्ती नगरे पनि सजाय भोगिने रैछ’, रोशनी बमले भनिन्, ‘सरकारले निर्दोष भनिसक्यो, घटना भएको ६ महिनापछि पनि हामी खुलेर बाहिर निस्कन सकेका छैनौँ।’

बम दिदीबहिनी पहिलोपल्ट माघ २ मा काठमाडौँ आए। यहाँ नारायणहिटी संग्राहलय घुम्न गए। संग्राहलय अवलोकन गर्दै गर्दा कसैले साउती गर्‍यो, फोटो खिच भन्यो। आमा इन्दिरादेवि बम अत्तालिइन्, फोटो खिच भन्नेसँग बाझ्न थालिन्। एकै छिनमा तमासा भयो, प्रहरीले सहयोग गरेपछि उनीहरु संग्राहलय बाहिर आए। पशुपति गए, घटना फेरि दोहोरियो। निर्मला पन्त बितेपछिका ६ महिनमा बम दिदीबहिनीले हरेकपल्ट बाहिर निस्कँदा भोग्नुपरेको व्यथा यही हो।

१४ वर्षकी रोशनी बमले देश सञ्चालाई भनिन्, ‘मुख देखाएर हिँड्नै सकेको छैन, बल्ल बाहिर निस्कियो । सबै खासखुस गर्छन्, मुखमा माक्स लगाएर हिँड्ने गरेका छौँ।’ रोशनी बम साउन १० गते कञ्चनपुरको उखुबारीमा मृत भेटिएकी निर्मला पन्तकी साथी हुन्। उनी र उनकी दिदी बबिता बमलाई निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डको आरोपी भनिएको थियो। सरकारले उनीहरु निर्दोष भएको ‘क्लिन चिट’ भदौ २० गते दिइसकेको छ। तर उनीहरुमाथि लाल्छना लगाउने क्रम भने अहिलेसम्म रोकिएको छैन। न उनीहरुलाई देखेर साउती गर्नेहरुको जमात नै कम भएको छ ।

‘हामीलाई समाजले हत्याराको दृष्टिले हेर्छ। नानाथरीका आरोप लाग्छन्, कोही सोध्न आउँदैनन्, तर यस्तो रे भनेर समाचार आउँछ’, रोशनीले भनिन्, ‘निर्मला जीवित भएकी भए हामीलाई यत्रो सकस हुने थिएन।’

गएको साउन ९ गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परिन्। उनको बलात्कारपछि हत्या गरिएको खुलासा भयो। निर्मलालाई कसले मार्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। उनको न्यायको लागि देशभरब आन्दोलन भयो। प्रर्दशन भयो, झडप भए, एकजनाको ज्यान गयो अनि केही अस्पतालमा उपचाररत छन्।

यने बिचमा निर्मलाको हत्याकाण्डमा धेरै व्यक्ति आशंकामा तानिए। समातिए । अनुसन्धानमा राखिए, अनि छुटे। तर निर्मला हत्याकाण्डमा अपराधिको ट्याग पाएका बम दिदीबहिनीले भने यसबाट मुक्ति पाउन सकेनन्।

रोशनी बमको ‘क्लासमेट’ निर्मला भएको र हत्या हुनु अगाडि रोशनीकै घरबाट निर्मला बिदा भएकोले उनीहरु प्रहरी अनुसन्धानको घेरमा आए। निर्मला भेटिएको दोस्रो दिनबाट नियमित जसो प्रहरी कार्यलय तारिखमा गएका दिदीबहिनीले धेरै दिन प्रहरी कार्यालयमै बिताए। ‘घटना भएको भोलिपल्ट समातेर मलाई र दिदीलाई दुई दिन राखे । पछि मलाई पाँच दिन अनि दिदीलाई १८ दिन प्रहरी कार्यलयमा राखियो।’

निर्मलाको हत्याकाण्डपछि धेरै मिडियाले खबर सम्प्रेषण गरे। स्थलगत रिपोटिङ्गका लागि मानव अधिकार संगठन गएको थियो, जसले बम दिदीबहिनीलाई दोषी देखायो। सञ्चारमाध्यमले पनि यसै प्रतिवेदनलाई आधार बनाएर समाचार सम्प्रेषण गर्दै आए। त्यसपछि बम दिदी बहिनीलाई एकदमै तुच्छ गाली आउन थाले। डान्सबारमा काम गर्ने, तत्कालीन एसपी डिल्लीराज विष्टसँग सम्बन्ध भएकोदेखि उनीहरुको चरित्र हत्या गर्ने धेरै खबर सार्वजनिक भएपछि बम दिदीबहिनी आफ्नो घरबाट बाहिर निस्कन सकेनन्।

रोशनी सम्झन्छिन्, ‘अघिल्लो दिन निर्मलाको घरमा गएर मैले चटपट खाएको हो, पैसा थिएन, भोलि दिन्छु भनेकै हो। साथी मिलेर नोट बनाउने गर्थौँ, साइन्सको नोट बनाउन निर्मला मेरो घरमा आएकी थिइन्। गाइड मसँग थियो । कौसीमा बसेर नोट बनाएका हौँ । निर्मला दुई वा सबा दुईमा घर हिँडेकी हुन्। घरमा हुँदा अम्बा खाएका थियौँ, अनि घर लैजान प्लाष्टिकमा राखेर पोको पारेको। उनी गएपछि मैले टिभी हेरेँ, घरतिरै व्यस्त भए। साँझ निर्मलाको आमा आएर सोध्नुभयो। त्यहीबेला उ घरमा नपुगेको थाहा पाएँ। आन्टीले मेरो छोरीको जिम्मा लिनुपर्छ भन्दा दिदीले पोइल गई होली भनेको पनि हो। तर कुरा कहाँबाट कहाँ पुग्यो।’

त्यो दिनको घटना बताइरहँदा रोशनी दुई हात माडिरहेकी थिइन्। एक त उनलाई साथी हराएकोमा चिन्ता लागिरहेको थियो, त्यसमाथि आफूलाई बारम्बार केरकार गरिँदा डर पनि। निर्मलाको शव नभेटिँदासम्म निर्मलाकी आमासहितको टोलीले उनलाई तीनपटक केरकार गरिसकेका थिए। तेस्रो पटकमा उनी रोएकी पनि थिइन्।

निर्मलाको हत्या भएको खुलेपछि उनी र उनकी दिदीलाई बाँच्नै गाह्रो भयो। मानव अधिकारवादी संगठनले बबिता डान्सबारमा काम गर्ने भनेर प्रतिवेदन सार्वजनिक गरेको थियो। उनको फोन प्रहरीले दुई महिनासम्म राख्यो। अनुसन्धानको क्रममा नितान्त व्यक्तिगत कुरा सोध्यो। लवाई–खवाईको बारेमो शंकास्पद भएर प्रश्न गर्दा बबितालाई सारै नराम्रो लाग्यो। तर प्रतिबेदनले आफू र बहिनीलाई दोशी देखाएपछि उनका दुःख झन् बढे।

‘मलाई विभिन्न व्यक्तिसँग नाम जोडियो, आजसम्म नगएको ओपेरा डान्स बारमा म नाँच्छु भनियो।’ बबिताले भनिन्, ‘निर्मला घरमा आएपनि म बोल्ने गरेको थिइन्, हराएको बेलामा मैले उनकी आमालाई बोलेको शब्द नै मेरो गल्ती भयो।’

स्नातक दोस्रो वर्षमा अध्ययन गर्ने बबिता घटनापछि कलेज जान सकिनन्। परीक्षा छुट्यो। त्यतिबेला बिहान कलेज जाने, साँझ ट्युसन जाने बबिताले आफूलाई घरभित्र थुनेको ६ महिना भयो। ‘निर्मलाको लाश भेटिएपछि धेरै थरीका समाचार आए, हामीलाई दोषी देखाइयो तर हामीलाई सोध्न कोही पनि आएनन्।’ बबिताले भनिन्, ‘घरका सिसा फुटे, हामीलाई मार्ने धम्की आए, प्रहरीसँग सम्बन्ध भएको कुरा आयो, तर एक बचन हामीलाई सोध्न कोही आएन।’ बम दिदीबहिनीका अनुसार पहिलोपोस्ट डटकम अगाडि उनीहरुलाई घटनाको बारेमा सोध्न कोही पनि आएका थिएनन्। साउनको १० गते जब उनी कलेजबाट फर्कँदा निर्मलाको आमासहितको टोलीले सोधपुछ गर्दा रोशनी रोइरहेकी थिइन्। बबिताले रोक्न खोज्दा बिचमा बोले चुल्ठो लुछ्ने धम्की पाएकी थिइन्।

उनीहरु निर्मलाको हत्यारा चाँडै पत्ता लागोस् भन्ने चाहन्छन्। कुराकानीकै क्रममा रोशनीले भनिन्, ‘उसको ज्यान गइसक्यो, उसको हत्यारा पत्ता लगाउनुपर्छ। हत्यारा पत्तालागे हामीले न्याय पाउँछौँ।’बम दिदी बहिनी भन्छन्, ‘नखाएको विष लाग्यो, जंगलमा सोझो रुख काटिन्छ भन्थे हो रैछ।’

बम दिदीबहिनीको घर दार्चुला हो। उनका बाबा शिक्षक हुन भने आमा नगरपालिकाको वडा सचिव। छोरीहरुसँगै काठमाडौँ भएकी आमा इन्दिरादेवि बमको अनुहारमा चिन्ता प्रष्ट देखिन्छ।

‘बाटोमा हिँड्दा पनि छोरीहरुलाई गालि गर्छन्, फोहोर शब्द बोल्छन् कसरी सुन्नु’ यति भन्दा उनको आँखाबाट आँसु झरिसक्यो। ‘हामीले पुलिसले नै सबै काम गर्छ होला भनेर अरुतिर लागेनौँ तर कुरा बिग्रिसकेछ।’ वडा कार्यालयमा धेरैको झमेला सुल्झाएकी इन्दिराले आफ्नो छोरीहरुलाई परेको समस्या सुल्झाउने मेलो भेटेकी छैनन्।

तीन सन्तानमध्ये बबिता दोस्रो र रोशनी कान्छि हुन्। घटनाले परिवारमा तरङ्ग ल्याएको छ। बहिनीहरुको बारेमा दाईले सुनेपछि रक्तचाप बढेर अस्पताल जानुपर्‍यो।

बबिताले स्नातक दोस्रो वर्षको परिक्षा दिइनन्। तेस्रो वर्षमा भर्ना नै भएकी छैनन्। रोशनी र निर्मला गर्मी बिदाको होमवर्क गर्न भेट भएका थिए। घटनाको एक सातापछि विद्यालय सञ्चालन हुने थियो तर उनी विद्यालय जान सकेकी छैनन्।

यतिमात्र होइन्, उनीहरुको जीवन असामान्य बनेको छ। घर नजिकै जग्गा किन्न आएका मानिसले बम दिदीबहिनीको घर नजिक किन्दिन भने रे। त्यसको केही समयपछि रोशनीको भदैलाई अस्पतालमा परीक्षण गर्न लाँदा डाक्टरले ‘बमहरु खतरा हुन्छन् है’ भनेको कुरा सुनाइन्। रोशनीकी दिदी बबिताको एक वर्ष अगाडि माघमा इन्गेजमेन्ट भएको थियो। उनीहरुका अनुसार गएको मङ्गसिरमा विवाह हुने कुरा थियो। अहिलेलाई त्यो सबै टरेको छ।

यस्ता यस्ता घटनाले उनीहरुलाई गाँजिरहेको छ। छोरीहरु मुखमुखै लाग्ने समेत थिएनन्। यस्तो आरोप लाग्दा र आरोप मुक्त हुँदा पनि सहज तरिकाले बाँच्न नपाउँदा इन्दिरादेवि भावुक भएर भन्छिन्, ‘कि आरोप प्रमाणित गर्न सक्नुपर्‍यो, छोरी प्रहरीमा म ल्याउँछु। नत्र निडर भएर बाँच्न पाउँनु पर्‍यो।’

रोशनी भन्छिन्, ‘हामीलाई मुखमा आएर कसैले केही भन्दैनन्, तर पछि–पछि कुरा गर्छन्। कोही बोल्दैनन्, पुलिसले लैजान्छ भन्छन्। हाम्ले नै मारेको हो भनेर हल्ला भएकोले म स्कूल जान सकेको छैन। जान पनि डर लाग्छ।’

२० वर्षकी बबिता बमको पनि हालत उस्तै छ, कोही नबोल्ने। तर्कने भएकोले उनी कलेज जान सकिनन्। उनको प्रश्न छ, ‘मानव अधिकार हाम्रो छैन ? हामी निर्दोष भनेर भनिँदा पनि किन हामीलाई नराम्रो दृष्टिबाट हेरिन्छ ? हामीलाई न्याय कसले दिन्छ ?

कहिलेकाँही बज्ने फोनले पनि झस्काउँछ, कसले धम्काउन लागेको हो भनेर । घर बाहिर सडकमा कोही बोले पनि झस्किन्छन् उनीहरु, कसैले घरमा ढुंगा पो हानीहाल्छन् कि। सञ्चारमाध्यमले सोध्ने हरेक प्रश्न रटेका जस्तै भइसकेका छन् तर उनीहरुलाई परेको अफ्ठेरोको समाधान भएकै छैन।’

‘हिजोका दिनमा सञ्चार माध्यमले गलत समाचार राखेका थिए भने अहिले माफी मागेर सत्य समाचार छाप्नुपर्छ र मानव अधिकार संगठनको प्रतिवेदन सच्चिएर आउनुपर्छ, इन्द्र्रसाद अर्यालले माफी माग्नैपर्छ।’