शिकारी चराको संरक्षण र अनुसन्धानमा कार्यरत सन्देश गुरुङ । तस्बिर : प्रभात खनाल/देश सञ्चार
शिकारी चराका साथी

पाउ जमिनमा, आँखा आकाशमा राख्न रमाउने यी चराविद

संयोग नै हुनु पर्छ, चरा गाउँसँग जोडिएका उनको जन्म गिद्द वर्गमा भयो । हुर्किँदै गर्दा चरामै रुची बढ्यो । अनि अहिले पेशा पनि चराकै क्षेत्रमा छ । चरासँग जन्मदेखि जोडिएका सन्देश गुरुङलाई शिकारी चरामा विशेष रुची छ ।

शिकारी चरा, जसले अरु जीवजन्तुलाई मारेर वा अरुले मारेपछि खान्छन् र आफ्नो जीवन चक्र चलाउँछन् । शिकारी चराभित्र गिद्द, चिल, बाज, लाटोकोसेरो आदि पर्छन् ।

पोखराका सन्देशको पुर्खाको जरा लमजुङको चरा गाउँमा छ । चरा गाउँका पुर्खाका सन्तान सन्देशको जन्म ३० वर्षअघि अधिकांश मंगोल जातिले मान्दै आएको वर्ष वर्ग चक्र (वैदिक ज्योतिसीय पद्धतिमा राशी समूह जस्तै) अनुसार गिद्द वर्गमा भयो । यो वर्ग विभिन्न १२ जीव तथा चरामा विभाजित छ र हरेक वर्ष पुस १५ मा एउटा वर्ग सुरु हुन्छ । सन्देश गिद्द वर्गका हुन् ।

आकाशमा डुल्छन् आँखाहरु


जीवशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेर चरा, त्यसमा पनि शिकारी चराको संरक्षण र उनीहरुका बानी व्यवहारको अध्ययनमा सक्रिय सन्देशसँग केही दिनअघि संयोगले भेट भएको थियो । उनी बारम्बार माथि आकाश तिर हेर्दै थिए ।

अरु कुरामा त्यति चाख नलिएका सन्देशले चराको कुरा उप्किएपछि चाख लाग्दो गरी जोडिए कुराको मेलोमा । उनलाई ख्याल भएसम्म कुरा बुझ्न थालेदेखि नै चरामा रुची थियो । अझ माथि आकाशमा अरु चरा भन्दा फरक ढंगमा उड्ने चिल, बाज तथा गिद्द हेरिहेरी उनी रमाउने रहेछन् ।

बच्चा बेलाको कुरा सुनाएका सन्देशसँग अहिले पनि आकाश तिर हेरिरहनुको कारण सोध्नै परेन । उनले भने ‘सानैदेखि आकाश हेर्दै हुर्किएँ । यो आकाशले धेरै दिएको छ, सबभन्दा ठूलो कुरा मलाई खुशी हुने कारणहरु दिएको छ । माथि उड्ने ठूला चराको खोजीमा मेरा आँखाहरु त्यतै डुलिरहन्छन् ।’

अरु सबैचिज छुट्दै गए पनि आकाशमा चरा खोज्दै डुल्ने आँखाको बानी उस्तै रहनेमा ढुक्क छन् सन्देश । लमजुङको कोलासुक्ता गाउँपालिकाको चरा गाउँका पुर्खाका सन्तान सन्देशको बसाई अहिले पोखरामा छ । उनी त्यहिँ हुर्किए तर चरासँगको नाता टुटेन । बरु पोखरामा झन बलियो हुन पायो । त्यहाँ चराहरुको अभाव थिएन । चरा प्रेमीका लागि पोखरा क्षेत्र नेपाको उत्कृष्ट गन्तव्य मध्येमा पर्छ ।

चराका अप्ठ्याराले कुँड्याउँछ


चरासँग आफ्नो केही अंश गाँसिएको जस्तो मान्छन् सन्देश । त्यहिभएर त चराका सन्देशहरु अरुले पनि सुन्न सकुन् वा बुझ्न पाउने वातावरण बनोसजस्तो लाग्छ उनलाई । त्यसका लागि चराहरु बाँची रहनु पर्‍यो। आकाशमा अनुकुल वातावरणमा उड्न पाउनु पर्यो । बस्न अनि खान पाउनु पर्यो । तर मानिसका आफ्ना स्वार्थ र लोभहरुले चराहरु समस्या पर्दै गएका छन् ।

चराको समस्याको कुरा गर्न थालेपछि सन्देशको मुहारमा फूलेको मुस्कानको चमक चिन्तामा बदलियो । आफै भित्रकै केही भासिँदै गएको जस्तो हुँदो रहेछ चराको दुःख उनका लागि ।

अझ मानव बस्ती भन्दा केही पर वा आफूलाई मानिसहरुको संगतमा त्यति नपरेका शिकारी चराको अवस्था त भयावह बन्दै गएको सन्देशले सुनाए ।

‘पहिलो कुरा त बासस्थान घट्दै छ उनीहरुको । विशेष गरी शिकारी चराको सवालमा पहाडका खोँचहरु, तराईका फाँटहरु, ठूला तथा बुढा रुखहरु मासिँदै जाँदा उनीहरु जोखिममा छन् । यस्तै आहारको अभाव दोस्रो ठूलो समस्या हो । अनि अर्को कुरा हामीले खेतीपाती गर्दा प्रयोग गर्ने विषादीका कारण पनि उनीहरु समस्यामा परेका छन् ।’

सन्देशले भने, ‘उनीहरुका असजिला सबै मेरो जस्तो लाग्छ । मन कुँडिन्छ । गर्नु पर्ने त खासै केही होइन, सबैले आफूले गर्ने काम वा व्यवहारलाई केही मात्रै भए पनि चरा मैत्री बनाए पुग्ने थियो । उनीहरु पनि रहन्थे, हाम्रो अस्तित्वमा पनि असर त पर्ने थिएन ।’

गिद्दका आँखासँगको प्रेम


कुरा गर्दै जाँदा गिद्दको आँखामा पुगेर उनी रोमाञ्चित भए । कुदृष्टि वा नराम्रो मनोभावसहितको हेराईलाई दर्शाउन ‘गिद्दे नजर’ वा ‘गिद्दे दृष्टि’ भन्ने गरिन्छ । सन्देशलाई गिद्दे नजर वा गिद्दे दृष्टि होइन, गिद्दका आँखाहरु अति प्रिय लाग्दा रहेछन् ।

हामीसँगको भेटमा सन्देशले बहुत उत्साहका साथ भनेका थिए, ‘गिद्दका आँखाहरुमा कलुसित मनसाय रत्तिभर हुँदैन, बरु उनीहरुका आँखाले फोहोर खोज्छन्, तिनलाई सफा गर्नका लागि । हाम्रा आँखाहरु पनि गिद्दका जस्तै भइदिए शायदै समाज विकृत हुने थियो ।’

अघोर परम्परामा गिद्दलाई परोपकारी चरा मानिन्छ । अरुका लागि फोहोर, मैला या सिनोहरु खाई दिएर उनीहरुले वातावरण सफा गर्न खेलेको भूमिकालाई शायदै कसैले उचित मूल्यांकन गरेका छन् ।

उनको तर्कमा बल थियो, ‘प्रकृतिले नै गिद्दलाई सरसफाइ कर्ता बनाइ दियो । उनीहरु अरु सिनो खान्छन् । दुर्गन्ध फैलिन दिँदैन् । अनि कसरी उनीहरुका आँखालाई गाली गर्न मिल्छ ? उनीहरुका आँखामा त हामीले भन्ने गरेको जस्तो फोहोर होइन हामीले वा प्रकृतिका फोहोरहरुलाई सफा गर्ने पवित्र दृष्टि छ ।’

गिद्दसहित नेपालमा ८१ प्रकारका शिकारी चरा पाइन्छन् । सन्देशलाई सबै मन पर्छ । कारण, उनीहरुको चाल, आकार र स्वरुपले तानिन्छन् उनी । चिलहरुले उडान, लाटोकोसेरोको रात्री सक्रियता सबैले आफूलाई तान्ने गरेको बताएका सन्देशले भने, ‘न चराको मनमा खोट हुन्छ न नजरमा दोष । उनीहरुलाई दोषी देख्ने हामीहरुले बानी सुधार्नु छ, दोषहरु हटाउनु छ ।’

माघ ६, २०७५ मा प्रकाशित