चारै प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्‍नति गर्ने निर्णय

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका चार वटा प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रीपरिषदको आइतवारको बैठकले कैलालीको मालखेती प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनपुरको बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र, डडेल्धुराको जोगबुढा प्राथमिक स्वास्थ्य केन्द्र, र दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

हाल १५ शैयामा सञ्चालन भइरहेका यी प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै २५ शैयामा सञ्चालन गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिब ओलीले जानकारी दिए ।

मन्त्री परिषदको बैठकले प्रदेश सभा सञ्चालन सम्बन्धी बिधेयकमा आवश्यक संशोधन सहित पारित गरेको छ । मंसिर २६ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको सो बिधेयक आवश्यक संशोधनका लागि भन्दै सरकारले माघ ४ गते फिर्ता लिएको थियो ।

बिधेयकमा आवश्यक संशोधन गरी मन्त्रीपरिषदबाट स्वीकृत गरिएको जानकारी दिँदै मुख्यमन्त्री कार्यालयले छिट्टै प्रदेश सभा सचिवालयमा दर्ता गरिने जानकारी दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहत भारतसितको सीमा नाकामा नागरिक सहायता कक्ष राख्‍ने निर्णय समेत आइतवारको बैठकबाट भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव ओलीले बताए ।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्