खुल्यो ठेक्का

चार वटा खोला १५ करोडबढीमा ठेक्का, होहल्ला गर्ने १३ जना नियन्त्रणमा

नेपालगञ्ज- बाँकेमा चार वटा खोलाको नदीजन्य पदार्थ संकलनका लागि १५ करोड बढीमा ठेक्का दिइएको छ। चार वटा ठेकेदार कम्पनीले नदीजन्य पदार्थको ठेक्का पाएका हुन् । राप्तीसोनारी गाउँपालिकाले आइतबार १५ करोड ३५ लाख २८ हजार ७ सय ८३ रुपैपाको ठेक्का खोलेको हो ।

असारदेखि रोकिएको नदीजन्य पदार्थको कारोबार ठेक्कासँगै खुल्ने भएको छ । नेपालगञ्जका दुई ठाउँ र राप्तीसोनारी गाउँपालिकामा गरी ८६ वटा फर्म दर्ता भएका थिए ।

तीमध्ये सुघन्ढा विल्डर्सले राप्ती नदीको शमशेरगञ्ज, आलीनगर र ढलैयाको नदीजन्य पदार्थ ढुंगा, गिटी, ग्राभेल र बालुवा संकलन गर्ने ठेक्का पाएको छ। उसले यो ठेक्का ६ करोड ५४ लाख २८ हजार ७ सय ८६ मा पाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश केसीले बताए।

काली गण्डकी निर्माण सेवाले ३ करोड २१ लाखमा मुगुवा खोला, डिसी कन्स्ट्रक्सनले १ करोड ६० लाखमा झिझरी खोला, अनमोल एण्ड के कन्स्ट्रक्सनले ३ करोड ८८ लाख ९९ हजार ९ सय ९९ मा परुवा खोलाको नदीजन्य पदार्थ संकलनको ठेक्का पाएको छ।

पाँच वटा खोलाको ठेक्का खोल्ने भनिएकोमा एउटा बाँके राष्ट्रिय निकुञ्जमा पर्ने भन्दै रद्द गरिएको छ । ठेक्का पाएकासँग छिट्टै सम्झौता गरेर लामो समयदेखि रोकिएको नदीजन्य पदार्थको कारोबार सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ।

ठेक्काका लागि एक महिना अघि सूचनामार्फत ठेक्का आव्हान गरिएको थियो । आइतबार ठेक्का खोल्ने क्रममा केही युवाहरुले होहल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डिएसपी रमेशबहादुर सिंहका अनुसार, नदीजन्य पदार्थको टेण्डरमा गुण्डागर्दी गर्ने, होहल्ला गर्ने, धम्की दिने १३ जनालाई नियन्त्रणमा लिइएको छ।

तत्कालिन जिल्ला विकास समितिले हेर्दै आएको नदीजन्य पदार्थको ठेक्कापट्टा पहिलो पटक गाउँपालिकाले स्वामित्व लिएको छ।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्