४० किलो चरेशसहित दुई भारतीय पक्राउ

बुटवल – कपिलवस्तुमा ४० किलो चरेशसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

विशेष सुराकीका आधारमा उनीहरुको खानतलासी गर्दा ४० किलो चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

भारत मोतीहारी जिल्ला पूर्वी चम्पारन थाना रक्सौल ग्राम बस्ने २६ वर्षका ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मद आलम पक्राउ परेका हुन्।

घिउ राख्ने ग्यालेन भित्र पोलिथिन झोलामा राखेको ४० किलो चरेश प्रहरीले बरामद गरेको हो।

उनीहरुले रुकुम, रोल्पा र वाग्लुङबाट चरेश खरिद गरी भारत लैजाने गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बरामद भएको चरेशको मूल्य नेपाली बजारमा १२ लाख जति पर्छ।

उनीहरु दुवैजनालाई प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरेर मुद्दा चलाउने जनाएको छ।

यस्तै बुटवलमा पनि एक युवा लागूऔषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लका अनुसार बुटवल ट्राफिक चोकबाट कास्की पोखरा ७ का २८ वर्षीय हेम गुरुङ पक्राउ परेका हुन्।

उनको साथबाट २ एमएल नुफिन, फेनारागन, सेरिजेक ३०–३० एम्पुल बरामद भएको छ।

 

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्