निर्मला पन्तहत्या प्रकरण

बम दिदीबहिनीकी आमाको प्रश्‍न: ‘हाम्रो भावनाको क्षतिपूर्ति कसले दिन्छ? अब म पनि न्याय माग्छु’

काठमाडौँ-बितेका ६ महिनादेखि इन्दिरादेवी बमको स्थिति निक्‍कै बेहाल छ। जवान छोरीहरुको बारेमा जसले सोध्दा पनि उनी झस्किन्छिन्। उनलाई छोरीहरु हुर्काउदाको क्षण भन्दा अहिलेको क्षणले बढी पीडा दिइरहेको छ।

२० वर्षीया जेठी छोरी बबिता बम र १४ वर्षीया कान्छी रोशनी बम जो चिनाजान बाहेक अरु मानिससँग ठाडो गरी बोल्ने पनि थिएनन्, उनीहरुलाई एक बालिकाको हत्या गरेको आरोप लागेको छ। सरकारले दोषी होइन भनेर क्लिन चिट दिँदा पनि आफ्नो छोरीहरुलाई अपशब्द बोल्न, गाली गर्न छोडिएको छैन। यसले नै इन्दिराको निन्द्रा हैरान बनाएको छ।

तीन सन्तानमा जेठो छोरा थियो, त्यसपछि छोरीहरु। दार्चुलाबाट छोरीहरुको पढाइ राम्रो होस् भनेर कञ्‍चनपुरको घरमा इन्दिराले छोरीहरुलाई राखेकी थिइन्। छोरीहरु राम्ररी पढ्दै थिए। ठूलीले स्‍नातक दोस्रो वर्षमा अध्ययन पुर्‍याएकी थिइन्, सानी कक्षा ९ मा पढ्दै। तर २०७५ सालको साउन ९ गते  उनीहरुको जीवन एकाएक असामान्य हुँदै गयो।

बेला बेलामा इन्दिरा देवी भन्थिन्, ‘सपनामा नसोचेको कुरा भयो।’

कञ्चनपुरकी  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका मुख्य आरोपी भएका थिए बम दिदीबहिनी। साउन ९ गते रोशनीसँग होमवर्क गरेर छुट्टिएकी निर्मला साउन १० गते मृत भेटिइन्। त्यसपछि इन्दिराका छोरीहरुको पुलिस चौकी धाउने दिन सुरु भयो, सँगै उनीहरुले समाजको गाली पनि खानुपर्‍यो।

जुन दिन निर्मला हराइन् त्यही दिनबाट इन्दिरा आफ्नो छोरीहरुले गरेका हरेक काम, भेटेको हरेक मानिसको बारेमा जानकार छिन्। निर्मलाको आमा दुर्गादेवीले निर्मलालाई घरमा खोज्‍न आएको केही समयमा नै इन्दिरादेवी बमको कुराकानी सानी छोरी रोशनीसँग भएको थियो। भोलिपल्ट छोरीहरुले अफ्ठेरो परेको गुनासो गरेपछि उनले प्रहरीमा गएर रिपोर्ट गर्न सुझाएकी थिइन्।

‘बच्चा जन्माएपछि मैले सोच्दै नसोचेको दुख भोग्नु पर्‍यो।’ भक्कानिदै उनले भनिन्, ‘जुन दिनबाट घटना भयो त्यो दिनदेखि साह्रै गारो भएको छ।’ उनको आँखाबाट बगेको आँसुले उनको मनमा परेको गाँठोलाई प्रस्ट देखाएको थियो।

दार्चुलाको नगरपालिकाको वडामा सचिव भएर काम गर्छिन् इन्दिरा। कार्यालयमा आउँने थुप्रै समस्या सल्टाएको अनुभव छ। गाउँ-गाउँ, टोल-टोलमा भएका समस्या सुल्झाउने इन्दिराको आफ्नै छोरीहरुलाई परेको समस्या समाधानमा केही जोर चलेन।

छोरीहरुको बारेमा तथानाम बोलेको सुनेर कन्सिरी तात्छ, झनक्क रिस उठ्छ तर केही गर्न सक्दिनन्। आत्तिएको स्वरमा उनले भनिन्, ‘फलानोले यस्तो भन्यो, ढिस्कानोले यस्तो भन्यो भन्‍ने सुन्दा-सुन्दा अनि सोध्नेलाई जवाफ दिँदा दिँदा मेरो दिमागले काम गर्न छोेड्ला जस्तो भएको छ।’ नागरिक समाज, अदालत, मानवअधिकारकर्मीको क्रियाकलाप उनका लागि नौलो होइन। तर अहिले के गर्ने, कसो गर्ने उनीहरुलाई अन्यौल छ।

गाउँमा उनको परिवारलाई सबैले सम्मान गर्ने हो। इन्दिराका श्रीमान् शिक्षक हुन्। उनी आफैँ नगरपालिकाकी सचिव। उनले छोरीलाई दोहोरो जवाफ पनि नर्फकाउ भनेर सिकाएकी थिइन्।

तर हिजोआज उनकी छोरीहरु ढुक्क भएर खुल्ला भएर हिड्न पाएका छैनन। माघ २ गते न्यायका लागि काठमाडौँ आएका बम दिदीबहिनी नारायणहिटी संग्राहलय घुम्‍न जाँदा उनीहरुलाई देख्‍ने बित्तिकै सर्वसाधारणले चिनिहाले  र  फोटो खिच्‍न थाले। त्यसपछि पनि पशुपतिथानको दर्शन गर्न गएका बेला उनीहरुलाई त्यस्तै प्रकारको  अप्ठ्यारो झेल्नु पर्‍यो।

कात्तिकमा रोशनीलाई नागर्जुन अस्पताल लिएर गएकी इन्दिराले आफ्नै आँखा अगाडि छोरीलाई गाली गरेको सुनिन्। यस्तो अवस्था भएपछि उनी छोरीको भविष्यको बारेमा अत्तालिइन्।

रोशनी निर्मला हत्याकाण्डपछि विद्यालय जान सकेकी छैनन्, बबिताको स्नातक दोस्रो वर्षको परीक्षा छुट्यो। गएको मंसीरमा विवाह गर्ने कुरा पनि अहिलेलाई टरेको छ।

यो सबै कुराले इन्दिराको मन साह्रै बनाउँछ। सरकारले निर्दोष भन्दा-भन्दै, ७ वटा टोलीले अनुसन्धान गरेर निर्दोष साबित भएका छोरीहरुलाई समाजमा हत्याराको जस्तो व्यवहार गरिँदा रगत उम्लिएर आउँछ उनलाई।

अझ छोरीले साथीहरु बोल्न छोडेको, एक्लै भएको, घर नै जेल जस्तो भएको, झुण्डिएर मरौ की जस्तो लाग्छ भन्दा इन्दिराको मनमुटु चिरा-चिरा हुन्छ। यही कारण उनी गाउँठाउँमा यता उता जाँदा लाज लाग्छ। ‘तपाईको छोरी हुन् भन्छन्,’ उनी भन्छिन्, ‘गल्ती कसैले गर्‍यो, सजाय मैले भोगिरहेको छुँ।’

गाउँठाउँको मान्छेले तपाईको छोरी दोषी हुन् भन्दैनन् तर सबैको प्रश्‍नको जवाफ दिँदा दिँदा उनी थाकी सकेकी छिन्। इन्द्रप्रसाद अर्याल नेतृत्वको संस्थाले निकालेको प्रतिवेदमा छोरीहरुको बारेमा लेखिएको सूचनाले उनीहरुमाथि प्रहार भएको हो। अब उनलाई न्याय चाहिएको छ।

उनले पहिलादेखि भन्दै आएकी छिन्, ‘मेरो छोरीहरुले गल्ति गरेको साबित भयो भने म आफैँ प्रहरीलाई छोरी बुझाउँछु, होइन भने छोरीहरुले न्‍यायपूर्ण ढंगबाट सामान्य जीवन बाँच्‍न पाउनु पर्‍यो।’

रोशनी बम र बबिता बम । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

निर्मलाको न्यायको लागि लड्ने अधिकारकर्मीले छोरीहरुलाई बदनाम गरेको उनको आरोप छ। मानवअधिकार संगठनले सार्वजनिक गरेको प्रतिवेदनलाई आधार मानेर समाचार लेख्‍ने  सञ्‍चारमाध्यमले जसरी उनीहरुको चरित्र हत्या गर्‍यो, उनीहरुले माफी माग्‍नु पर्ने इन्दिराको तर्क छ। उनको गुनासो गर्दै भन्छिन् , ‘हामीमाथि अन्याय भएको कसले देख्‍ने ?’

माघ २ गते छोरीहरुसहित काठमाडौँ आएकी इन्दिरा भनिरहन्छिन्, ‘हाम्रो भावनाको क्षतिपूर्ति कसले दिन्छ? अब म पनि न्याय माग्छु, सरकारले हामीलाई न्‍याय दिनै पर्छ।’

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्