चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

सांकेतिक तस्बिर

चितवन- राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ।

जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो। इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ। उनीसँगै रहेकी १० वर्षीया अर्की बालिकामाथि निर्घात कुटपिट भएको आचार्यले बताए।

घटनाको साँझ ७ बजे जानकारी भएपछि राति दुवै जनालाई उद्धार गरी आज बिहान भरतपुर अस्पताल ल्याइएको आचार्यले बताए। पीडितका अनुसार कुटपिट गर्ने अन्दाजी १८/२० वर्षका युवक उनीहरुले हालसम्म नदेखेको जनाएका छन्।

प्रहरीले ती युवकको खोजी कार्य जारी राखेको उनले बताए। आचार्यका अनुसार उनीहरु घरबाट किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए । दिउँसो घर फर्किदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकन्टार जङ्गल र भीरको बाटोबाट हिँडिरहेको मौका छोपी दुईमध्ये किशोरीलाई लखेटेर जबर्जस्ती कब्जामा लिएका थिए ।

आपराधिक नियतका ती युवकको दुवै बालिकाले संयुक्त प्रतिकार गर्दा १० वर्षकी बालिकालाई टाउको र हातमा गम्भीर चोट लागेको छ । लाठीले हानेर लखेटी अर्की किशोरीलाई समातेर राखेका थिए । जबर्जस्ती बलात्कारको प्रयास गरेपछि उम्किन खोजेकी ती किशोरीलाई पनि टाउकोमा लाठीले हानेर सख्त घाइते बनाइ बलात्कार प्रयास भएको पीडितले जनाएका छन् ।

भरतपुर अस्पतालमा उपचाररत् किशोरीको परीक्षण भइरहेकाले जबर्जस्ती करणीको प्रयास मात्रै हो वा करणी नै हो भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ। घाइते बालिकाको टाउकोमा रगत जमेको छ भने किशोरीको टाउकोमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच मितेरी फाउण्डेशन नेपालका अध्यक्ष एकल सिलवालले एक विज्ञप्ति जारी गरी पीडित बालिकाको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनस्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी निजलाई पक्रेर हदैसम्मको कानूनी सजाय गर्न सरकारसँग माग गरेका छन्।

दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि सो संस्थाको पहलमा काठमाडौँको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । उनीहरू सबै जना यतिबेला विद्यालयले दिएको जाडो बिदामा घर आएका छन् ।

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्