कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि दुवै सदनका बैठक अवरुद्ध भएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कांग्रेसको अवरोधका कारण चल्न सकेन ।

राष्ट्रियसभाको बैठक अर्काे हप्तासम्मका लागि स्थगित भएको छ भने प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित भएको हो ।
कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले दुवै सदन अवरुद्ध गरेको हो ।

यस्तै डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि कांग्रेसले गरेको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बोल्दै सरकार प्रतिशोधका साथ अघि बढेको बताए । सरकारले दुवै अस्पताल खारेजीको प्रक्रियामा लैजान खोजेको आरोप उनले लगाए ।

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्