कलिङ भिसा प्राप्त कामदारको विवरण मागियो, कहिले खुल्छ मलेसिया ?

काठमाडौं– मलेसियाको कलिङ भिसा प्राप्त नेपाली कामदारलाई जान दिने विषयमा सरकारले तयारी थालेको छ। वैदेशिक रोजगार विभागले आठ महिना पहिलेनै कलिङ भिसा आएर पनि जान नपाएका कामदारको विवरण मागेको छ।

मलेसियासँग श्रम समझदारी भएर पनि रोजगारीमा जाने बाटो खुल्ला नगरिएको भन्दै कामदार र म्यानपावर व्यवसायीले खुल्ला गरिदिन सरकारलाई आग्रह गर्दै आएका थिए। तर कामदार पठाउने नयाँ प्रक्रिया तय नहुँदासम्म नपठाउने अडानमा सरकार रहेको छ। अहिले पनि कसरी पठाउने भन्ने विषय अन्योलमै छ ।

तर म्यानपावर व्यवसायीले जान बाँकी कामदारको विवरण बुझाएपछि त्यसैमा आधारित भएर पठाउने प्रक्रियाको विषयमा छलफल गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए ।

विभागले सोमबार सुचना जारी गर्दै कलिङ भिसाा प्राप्त कामदारको नाम, ठेगाना, जान लागेको कम्पनी, भिसा आएको मिति र म्यादसहित बुझाउन म्यानपावर कम्पनीलाई भनेको छ। विवरण आएपछि नेपालस्थित मलेसियाको दूतावास र मलेसिया सरकारसँग पनि पठाउने प्रक्रियाको विषयमा छलफल गर्ने सचिव दाहालले बताए । म्यानपावर कम्पनीलाई विवरण १५ दिनभित्रमा बुझाउन भनिएको छ।

नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको छ । अब नेपाली कामदार मलेसिया जाँदा शूनय लागतमा जाने व्यवस्था गरिएको छ । तर पठाउने प्रक्रियाको विषयमा कुरा नमिल्दा श्रमिक पठाउन हाल बन्द छ ।

मलेसियाले छुट्टै संयन्त्र र प्रक्रिया तयार गरिररहेको बताएको छ भने नेपाल पनि अहिलेको प्रक्रियाबाट पठाउन तयार छैन । सरकारले भिएलएन लगायत संस्थाको कामबारे संका गर्दै अदालतमा मुद्दा दर्ता गरेको । हाल यो मुद्दा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा विचाराधिन अवस्थामा छ।

 

 

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्