मिशन आठौ राष्ट्रिय खेलकुद

कामदारले भरिएको रङ्गशाला

नेपालगञ्ज – एकातिर खाल्डै खाल्डा । एक छेउबाट ठडिदै गरेको सरिया भनौ पिलरहरु । एकातिर भत्किदै छ, पर्खाल । अर्कोतिर प्लस्टरसहित मर्मत गर्दै पुरानो प्याराफिट । बीच मैदानमा बलौटे माटो बिछ्याउने काममा एउटा समूह । तीन वटा जेसिभी आफ्नै गतिमा ।

सोमबार मध्यान्ह नेपालगञ्ज रंगशालामा पुग्दा देखिएका दृश्य हुन्, यी । त्यसै पनि रंगशाला खेलाडीले भरिने ठाउँ । सोमबार भने खेलाडीले होइन, कामदारले रंगशाला भरिएका थिए । ५० बढी कामदारहरु आ–आफ्नै काममा व्यस्त थिए । ओहो ! रंगशाला त भताभुंग छ । मान्छेको संख्या त सानो तिनो खेलकुद प्रतियोगिता जति नै छन् नि ? ५ नम्बर प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले भने, ‘भोली अझै कामदार थप्ने कुरा भइसकेको छ ।’


राखेपका सदस्य सचिव केशवकुमार विष्ट मैदानमा बसेर मातहतका कर्मचारी र ठेकेदारलाई निर्देशन दिदै थिए । उनी मैदानको यता र उता गर्दै काम हेर्दै थिए । सदस्य सचिव विष्टको निरन्तरको नेपालगञ्ज भ्रमण र केही दिन यता रंगशालामा देखिएको यो परिदृश्यले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चटारो बढेको छ भन्दा फरक नपर्ला ।

सदस्य सचिव विष्टले आठौं खेलकुद प्रतियोगिताको उद्घाटन माघ २५ गते गर्ने तयारी गरेको खुलाए । यो मितिमा भ्याइदै भ्याइएन भने चैत्र ८ गते कट्दैन भनिएको छ ।


नेपालगञ्ज रंगशाला आठौंको उद्घाटन स्थल हो । २५ करोडको लागतमा रंगशाला बन्दै छ । थप ६ करोड रुपैयाँ सेन्थेटिक ट्रयाकका लागि छुट्याउने तयारी भइरहेको छ । रंगशालामा विजुली जडानको काम अघि बढेको छ ।

आठौंको उद्घाटन स्थलकै काममा ढिलाई भएपछि आठौं पछाडी धकेलिन्छ कि भन्ने धेरैको आशंकालाई चिर्दै यतिबेला रंगशालामा दिनरात काम भइरहेको छ । ‘फिल्डको ८५ प्रतिशत काम भइसकेको छ । अब घाँस रोप्न बाँकी छ । यो काम १५ दिनभित्र सकिन्छ । प्याराफिट तयारी अवस्थाकै चीनबाट ल्याएर जडान गर्ने हो । यो सबै काम फागुन १५ गते भित्र भइसक्छ, सदस्य सचिव विष्टले भने, हामीले फाल्गुन २५ गते उद्घाटन गर्ने तयारी गरिरहेका छौं ।’

रंगशाला परिसरमै पौडी पोखरी, भारोत्तोलन, सुटिङ रेञ्ज बनिरहेका छन् । कभर्डहल मर्मत भइरहेको छ । खजुरामा भलिबल र कोहलपुरमा क्रिकेट मैदानको काम तीब्रगतिमा अघि बढेको छ । ५ नम्बर प्रदेशका अध्यक्ष वलीले बर्दिया, दाङ, कपिलबस्तुमा आठौंका लागि भौतिक पूर्वाधार बनिरहेको बताए ।

आठौंमा ३७ वटा खेल हुँदै छन् । त्यसमध्ये १७ वटा खेल बाँकेमा हुने छन् ।    

 

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्