मलेसिया रोजगार

सरकारले मागेको विवरण नबुझाउने म्यानपावरको निर्णय

काठमाडौं– मलेसियाको कलिङ भिसा लागेका कामदारको विवरण म्यानपावर व्यवसायीले नबुझाउने भएका छन्।

सोमबार बसेको वैदेशिक रोजगार व्यवसायी संघको बैठकले विवरण दिन आवश्यक नभएको निर्णय गर्दै भोलिबाट श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयमा सिधै पेश गर्ने निर्णय गरेको हो।

सरकारले मागेको मलेसियाको कलिङ भिसा लागेका कामदारको विवरण पहिलेनै बुझाई सकेको भन्दै अब आवश्यक नरहेको संघका अध्यक्ष रोहन गुरुङले बताए।

व्यक्तिगतरुपमा मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिइसकेकाले अब संस्थागत तर्फ रोक्नु पर्ने कारण नरहेको व्यवसायीको तर्क छ।
‘भिएलएन लगायतका संस्थाले अवैध रुपमा नेपाली कामदार ठगेको भन्दै रोक्यो अहिले यीनै संस्थाबाट व्यक्तिगत स्वीकृति दियो अब संस्थागततर्फ रोक्नु पर्ने कारण नै छैन’, अध्यक्ष गुरुङले भने। यदि कुनै कारण देखाएर श्रम स्वीकृति नदिएमा संघमा विवरण बुझाउन पनि आजको बैठकले निर्णय गरेको छ ।

व्यवसायीले यसअघि नै कलिङ भिसा आइसकेका ९ हजार ३ सय ३४ जना कामदारको विवरण बुझाई सकेको छ ।

यसअघि सोमबार बिहान वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै मलेसियाको कलिङ भिसा आएर जान नपाएका कामदारको विवरण १५ दिन भित्रमा बुझाउन भनेको थियो ।

 

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्