हराएका किशोर किशोरीलाई प्रहरीले जङ्गलमा भेट्टायो

फाइल तस्बिर।

काठमाडौँ – प्रहरीले घुम्न जाँदा हराएका तीन जनालाई फुलचोकी जङ्गलबाट उद्धार गरेको छ । आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले राती अबेर फेला पारेको महानगरीय प्रहरी परिसरले जनाएको छ । घुम्न गएका उनीहरु जङ्गलमा हराएका भन्दै परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवाल नेतृत्वको नौ जनाको टोलीले खोजी गरेको थियो । उनीहरु गोदावरी बसपार्कभन्दा नौ किलोमिटर पर जङ्गलमा भेटिएका प्रहरीले जनाएको छ ।

विद्यालय र कलेजमा अध्ययनरत धेरै किशोरकिशोरी हिउँ पर्ने समयमा फुलचोकी जङ्गलमा जाने गरेका छन् । प्रहरीले ‘खतरा’ भनेर जान रोक लगाएको ठाउँभन्दा परसम्म पुग्दा बर्षेनी दुर्घटना भइरहेको छ । गत पुस २८ गते विद्यालयमा अध्ययनरत १६ जना जङ्गलमा हराउँदा प्रहरीले उद्धार गरेको थियो ।

माघ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्