मुम्बईको सडकमा भाडा माझ्नेदेखि स्टार होटलको म्यानेजरसम्म

आमाको ममता र प्रेमिकाको प्रेमबाट वञ्‍चित भएपछि कोरिएको संघर्षको गोरेटो

पाँच कक्षामा पढ्दै गर्दा मेरो उमेर १० वर्षको थियो। श्रवणशक्ति गुमाएका बुवालाई छोडेर आमा अर्कैसँग हिँडिन् । १० वर्षको म र म पछिका एक बहिनी र भाईलाई कसरी हुर्काउने, पढाउने भन्ने चिन्ताले एक साँझ बुवा रोएको सम्झना मेरो मनमा ताजै छ ।

सानो जमिन थियो । वर्षभरी खान पुग्ने अवस्था थिएन। बुवाको मजदुरी दैनिक जीवन चलाउन पर्याप्त थिएन । पढाईका लागि खर्च जुटाउन हम्मे–हम्मे थियो, दसैँका लागि नयाँ लुगा किन्न त टाढाको कुरा । एक दिन मेरो घरमा गाउँकै एक जना व्यक्ति आउनुभयो। उहाँले श्रवणशक्ति गुमाएका मेरा बुवालाई ठूलो स्वरमा बोल्दै आफ्नो खेतमा हलो जोत्न आग्रह गर्नुभयो ।

काम नगरी खान कसैलाई पुग्दैन भन्दै राम्रो पैसाको प्रलोभन दिएर उहाँले बुवासँग कुरा गरिरहँदा गाउँलेहरुले सुनिरहेका थिए । मलाई कस्तो कस्तो लागिरहेको थियो ।‘ल खेती लगाएको यति पैसा, त्यसपछि मेरो छोरालाई जस्तो लुगा दसैँमा किन्छु त्यस्तै लुगा तिम्रो छोरालाई पनि किन्ने भए, अब त खुशी भयौ ?’ ति व्यक्तिले यसो भनेपछि बुवाले सहमति जनाउनुभयो ।

बुवासँग तिर्थ धामी

त्यसै दिन हो मलाई जिन्दगीमा केही गरेर बुवालाई खुशी राख्छु भन्ने सोच पलाएको । तर समय र परिस्थिति अनुकुल भएन भने सोचले मात्रै कहाँ हुन्छ र ? आमा गइसकेपछि एक्लो जीवन बिताउन बुवालाई परेको अप्ठ्यारो, म चुपचाप महसुस मात्रै गर्न सक्थे । कसरी सहयोग गर्ने सोच्न सकिरहेको थिइन । हामी तीन छोराछोरीको जिम्मेवारी पूरा गर्न दिनरात मेहनत गर्नुहुन्थ्यो बुवाले ।

सामान्य बिरामी भए उपचार कठिन थियो परिवारका लागि । नयाँ कक्षामा जाँदा विद्यालयका पोशाक किन्न सक्ने स्थिति पनि थिएन । बुवाको दुःख सम्झेँ । आफूपछिका भाई र बहिनीको भविष्य सम्झेँ । अब यसरी हुँदैन, म पनि कमाउँछु भन्ने सोच प्रवल बन्दै गयो मेरो । अनि पढाई छोडेर मामासँग भारत गए १२ वर्षको उमेरमा । भारतको उत्तर प्रदेशको एक घरमा मामाले झाडुपोछा (घरायसी सरसफाई) को काममा लगाइदिनुभयो । त्यतिबेला मेरो महिनाको तलब ३ सय भारतीय रुपैयाँ थियो । सानै उमेर, मेरा हातहरुले घरको फोहर सफा गरिरहँदा साहुका छोराछोरी पुस्तक पढिरहेका हुन्थे । मलाई आफूले अधुरै छोड्नुपरेको पढाईको धेरै सम्झना आउँथ्यो ।
एकदिन मालिकलाई कामको सँगसँगै पढाई पनि गर्छु भनेर आग्रह गरे । सुरुमा हुन्छ भने पनि मेरो कुराको सुनुवाई भएन । त्यसपछि मैले त्यहाँबाट भाग्ने योजना बनाए । घरको धेरै याद आयो भनेर मामालाई भने । उहाँले १५ दिनको छुट्टीको कुरा मिलाइदिनुभयो ।
मैले कमाएको १२ सय रुपैयाँ भएको थियो । साहुले बुवालाई दिनू भनेर एक जोड कपडा आफ्नो तर्फबाट उपहार पठाएका थिए । म घर जान्छु भनेर निस्केँ ।

तर…त्यो त बहाना मात्र थियो


झोला बोकेर बसपार्क पुगेको मलाई केही नगरी घर फर्कने मन लागेन । त्यहाँबाट मैले मुम्बईको ट्रेन समाते । मुम्बई पुगेपछि पहिलो पटक समुद्र देखेँ । ठूलाठूला महल, मलाई कुनै अर्काे संसारमा पुगेको जस्तै अनुभूति भयो । बिहान मुम्बई झरेको मैले दिनभरि घुमेर बिताए ।

त्यतिबेला मोबाइलको जमाना थिएन । मैले गाउँमै भएका बेला मुम्बईमा रहने एक जना दाई धनी बमको सम्पर्क नम्बर डायरीमा लेखेको थिए । पिसिओबाट उहाँसँग सम्पर्क भएपछि सजिलो भयो ।

धनी दाइले मलाई ठेलामा भाडा माझ्ने काम लगाइदिनुभयो । उत्तरप्रदेशमा महिनाको ३ सय कमाइरहेको मैले मुम्बईमा भाडा माझेर हप्ताको ३ सय अर्थात (चार गुणा बढी) मासिक १२ सय कमाउन थाले ।

झण्डै एक वर्ष मुम्बईको सडकमा भाडा माझेपश्चात मैले त्यहिँ नजिकको एउटा प्लाष्टिकको बोतल बनाउने कम्पनीमा काम पाए । मासिक २५ सय भारु दिएको थियो । त्यसैबाट आफ्नो खाना र कोठाको भाडा तिर्नुपर्ने, महिनाको एक हजार जति बचत हुन्थ्यो ।

गाउँ फर्कनेहरुसँग चिठ्ठीसहित केही रकम बुवालाई पठाउने गर्थे । बुवाले लेखेका चिठ्ठीहरु पनि प्राप्त हुन्थ्यो । ति चिठ्ठीहरुमा जे लेखिएको भएपनि मैले आफ्नो र भाई बहिनीको भविष्य बुवाले कोरेका शब्दहरुमा देख्ने गर्थे । त्यसैमा रमाउँथे ।

त्यो दुर्घटना…


दिनहरु ठीकै चलिरहेको थियो । साहुजीले तलब बढाउने कुरा गरे पछि म केही उत्साहित थिए । तर मेरो जीवनमा अर्काे ठूलो बज्रपात पर्यो ।
कम्पनीमा काम गरिरहँदा एक्कास्सी म दुर्घटनामा परे । दाहिने हातको हत्केलामा गहीरो घाउ भयो । बुवाको खुशी फर्काउने र भाई बहिनीको भविष्य बनाउने सपना तुहियो भनेर धेरै रोएँ ।

त्यतिबेला नेपालमा माओवादीको द्वन्द्व चलिरहेको थियो । उनीहरुको संगठन मुम्बईमा पनि रहेछ । म दुर्घटनामा परेको खबर थाहा पाएका माओवादी कार्यकर्ताहरुले कम्पनीका मालिकसँग ठूलो क्षतिपूर्तिको माग गरे ।

तर मालिकले मलाई सम्पूर्ण उपचार खर्च बेहोर्ने कुरा अगाडि नै भनिसकेका थिए । मैले अरुको कुरा सुनिन । कम्पनीले मलाई एक वर्षसम्म अस्पतालमै राखेर उपचार गर्यो । यो खबर मैले घरमा भनेको थिइन ।

एक वर्षपछि अस्पतालबाट डिस्चार्ज भए । दाहिने हातमा चोट लागेकोले म लेख्न नसक्ने भए । अब पढाई सुचारु गर्न मिल्दैन कि भन्ने नयाँ चिन्ताले दिनरात पिरोल्न थाल्यो । मैले बाँया हातले लेख्न प्रयास गरेँ, तर भएन ।

घाउ निको भएपछि दाहिने हातले नै लेख्ने प्रयास गर्न थाले । अस्पतालमा मेरो हत्केलाको डाक्टरहरुले तीनपटक शल्यक्रिया गरेका थिए । निको भइसकेपछि घर फर्कने क्रममा कम्पनीले मलाई ५० हजार रुपैयाँ दिएको थियो ।

म पुगेपछि मात्रै घरमा दुर्घटनाबारे थाहा भएको थियो । त्यसबेला बुवालाई दोस्रोपटक रोएको देखेँ । यो बिचमा बुवालाई खुशी राख्ने मेरो सपना तुहियो, भाई बहिनीलाई राम्रोसँग पढाउने कुरा पनि त्यस्तै भयो । केही गर्ला भनेको छोरो दुर्घटनामा परेर आयो भनेर गाउँलेहरुले पनि दुःख जनाउथे । आफ्नो जीन्दगी सम्झेर कुनै बेला त विरक्त लाग्थ्यो ।

तर दुर्घटनापछि एक वर्ष अस्पतालमा बिताउँदा पनि जिन्दगीमा केही गर्नुपर्छ भन्ने दृढतामा कमि आएको थिएन । अस्पतालमा रहँदा मैले त्यहाँ दुवै खुट्टा, दुवै हात अनि दुवै आँखा गुमाउदा पनि हिम्मतलाई बचाएर राखेका मानिसहरु पनि देखेको थिए ।

फेरि भारततर्फ…


मेरो अवस्थाप्रति घरमा रुवाबासी त छदै थियो । त्यसलाई त्यत्तिकै छोडेर म फेरि भारत लागे । यसपटक बुटवलका विष्णु कुमारसँगको सम्पर्कमा म दिल्ली गए । उहाँसँग मेरो मुम्बईमा परिचय भएको थियो । दिल्लीमा उहाँले मलाई होटलको वेटरमा काम लगाइदिनुभयो । त्यसक्रममा उक्त होटलका म्यानेजर विजय मिश्रासँग मेरो राम्रो सम्बन्ध बन्यो ।

दिल्लीको जागिर छोडेर पुणे गएका मिश्राले मलाई आफुसँगै बोलाए । तलब बढी पाइने भएपछि म फेरि त्यहाँ भाडा माझ्न थाले । यसक्रममा मेरो त्यहाँका सेफ अर्जुन थापासँग भेट भयो । एक दिन उहाँले मलाई ‘सधैँ भाडा मात्रै माझ्ने हो कि भाइ अरु पनि केही गर्नु छ जीवनमा’ भनेर सोधे ।

उहाँको प्रश्नपछि म झसङ्ग भए । साच्चै म के गरिरहेको छु, मेरो सपना के हो भनेर सोच्न थाले । सेफ थापाको त्यो प्रश्न मेरो दिमागबाट हट्दै हटेन ।
निकै दिनपछि मैले उहाँलाई काम सिक्न चाहेको कुरा बताए । उहाँले मलाई मेरो ड्युटी समय सकिएपछि आफूसँगै किचनमा हेल्परको काम सिकाउन थाल्नुभयो । ६ महिना काम सिकेपछि होटलको वार्षिकोत्सवका अवसरमा मेरो प्रमोशन भयो ।

स्वीपरबाट म किचेनमा हेल्परका रुपमा काम गर्न थाले । एक वर्षपछि म एक महिनाको बिदा लिएर नेपाल आए ।घरपरिवारसँग रमाइलो भयो । ३० दिनको बिदा लिएर आएको मलाई फर्कन ३३ दिन लाग्यो । तीन दिन ढिलो गरेको भन्दै होटलले मलाई काममा फर्कन दिएन ।

निराश भएर मैले फेरि विष्णु कुमारलाई सम्पर्क गरे । उहाँ चेन्नाईमा हुनुहुँदो रहेछ । मलाई त्यतै बोलाउनुभयो । आफू काम गरेकै होटलमा मलाई वेटरको जागिर लगाईदिनुभयो । हिन्दी नबोलिने चेन्नाईमा तामिल भाषामा कुरा गर्न मलाई सहज भएन । त्यहाँका सबैले अंग्रेजी बोल्थे ।

जानी नजानी म पनि अंग्रेजी बोल्न थाले । सबैसँग अंग्रेजीमै बोल्नुपर्ने, अंग्रेजीमै लेख्नुपर्ने सुरुमा असहज भएपनि एक वर्षमा म राम्रोसँग अंग्रेजी बोल्न र लेख्न सक्ने भए । पढाई सुरु गरेँ । ६ कक्षामा पढाई छोडेर भारत गएको मैले चेन्नाईबाटै होटेल म्यानेजमेन्टमा डिप्लोमा गरे । स्नातक तहसम्मको पढाई पनि गरे ।

चेन्नाईमा काम गरिरहँदा मेरो कमाई महिनाको १२ हजार भारु पुग्यो । बेला बेला घरमा पैसा पठाउन सकिरहेको थिए । यत्तिकैमा फेसबुक मार्फत मेरो एक केटी साथीसँग सम्पर्क भयो ।

हामीबीच फेसबुकमा लामो कुराकानीपछि प्रेम सम्बन्ध सुरु भयो । उनले मलाई भेट्न नेपाल बोलाइन् । होटलमा महिनादिनको बिदा लिएर म उनलाई भेट्न धनगढी पुगे ।

हामी धनगढीमा घुमिरहेका बेला भारतमै मैले भेटेका दाई चेतराज ओझासँग भेट भयो । उहाँ त्यतिबेला धनगढीको साथी होटलमा काम गर्नुहुँदो रहेछ । मैले उहाँलाई नेपालमै काम गर्ने रहर भएको सुनाए ।

उहाँले आफैले काम गर्ने होटल साथीमा कुरा गरेर नेपालमै काम गर्ने मेरो ईच्छा पुरा गरिदिनुभो । त्यतिबेला होटल साथीका म्यानेजर देबेन्द्र हमाल मेरो अंग्रेजीबाट प्रभावित हुनुभएको थियो । म काम गर्न थाले ।

अनि प्रेमिकाले छोडिन् …


होटल साथीमा काम गरेको धेरै दिन भएको थिएन । भारतमा सडकमा भाडा माझेको मैले नेपालमै सम्मानजनक काम पाएकोमा आफैप्रति गर्व लाग्थ्यो । तर जसलाई भेट्न भनि म नेपाल आएका थिए उनलाई भने म स्वदेशमै बसेको मन परेन अथवा के भयो उनी मसँग टाढिदै गइन् शायद मेरो पनि केही कमजोरी पक्कै भयो होला । अन्त्यमा उनले मलाई हामी दुई एक हुन नसक्ने निर्णय दिइन् ।

आमाको माया गुमाएको मैले पहिलो प्रेम पनि गुमाए । वियोगको विरहबाट बिस्तारै बाहिर निस्केर आफ्नो काममा ध्यान दिए । धनगढीका ठूला होटलमा फुड एण्ड बेवरेज म्यानेजरदेखि मार्केटिङ्ग म्यानेजर भएर पनि काम गर्ने अवसर प्राप्त गरे । तर किन किन धनगढीमा मलाई बसिरहन मन लागेन । म फेरि भारतको गोवा गए ।

यतिबेलासम्म मसँग धेरै होटलमा काम गरेको अनुभवका प्रमाणपत्रहरु थिए । मैले गोवामा रेष्टुरेन्ट असिस्टेन्टका रुपमा काम पाए । तर नेपालमा आफ्नै बोलीचालीको भाषामा काम गर्दा रमाइलो मान्न थालेको मलाई अब भारतमा सहज भएन । एकजना साथीको सम्पर्कमा म पोखरा आए । पोखराको होटलमा फुड एण्ड बेवरेज सुपरभाइजरको काम गर्न थाले । ६ महिनामै म होटेलको अप्रेशन म्यानेजरमा बढुवा भए ।

पोखरा स्थित होटलको कार्यकक्षमा तिर्थ धामी।

अहिले म पोखरामा भर्खरै खुलेको होटल टास्क इन्टरनेशनल प्रालिमा अप्रेशन म्यानेजर भएर काम गरिरहेको छु । आकर्षक तलब छ । केहीदिनअघि मात्रै उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यतामा होटलको उद्घाटन भएको थियो । उहाँ (उपराष्ट्रपति पुन) सँग तस्बिर खिच्ने मौका पाउँदा मेरो मानसपटलमा मुम्बईमा भाडा माझेका दिनहरु छचक्लिएका थिए ।

उपराष्ट्रपति पुनसँग सामूहिक तस्बिर खिचाउँदै तिर्थ धामीसहित होटल परिवार

छोडिजाने आमासँगको सम्बन्ध …


जन्म दिइसकेपछि अलपत्र छोडेर जाने आमासँग सम्बन्ध राख्नुपर्छ कि पर्दैन त्यो त मलाई थाहा छैन । यसबारे मेरो बुवाले पनि मलाई केही बताउनुभएको छैन । तर हाल भारतमै रहनुभएकी उहाँलाई म बेला बेला भेट्न गइरहन्छु । भेटमा उहाँ मलाई अंगालो मारेर रुनुहुन्छ । सबैको खबर सोध्नुहुन्छ ।

भेटपछि रुन थालेकी आमालाई सम्झाउँदै तिर्थ धामी

जब गाउँलेले पत्रिका पढ्दा खिल्ली उडाए…


सुरुमा भारतमै काम गरी घर फर्केको म एकदिन चौतारामा पत्रिका पढिरहेको थिए । गाउँका एक जान्ने सुन्ने दाईले सबैको अगाडि मलाई ‘पढ्ने बेला भाडा माझ्न गएका भाई पत्रिका पढ्न सक्छौँ कि फोटो मात्रै हेरेर बसेको ?’ भनेर खिल्ली उडाए । त्यसदिन राति म धेरै रोएको थिए । अहिले पनि त्यो कुराले मन पोल्छ ।

तर अहिले गाउँलेहरु र भारतमा काम गर्दाका साथीहरु मेरो प्रगतीबाट खुसी छन् । बधाई आइरहन्छ उनीहरुको । आकाशमा उडेको जस्तै आनन्द लाग्छ । मेरो जीन्दगी र मेरो यात्रा मलाई निकै प्यारो लाग्छ ।

(देश सञ्चारका दीपक जोशीले तिर्थ धामीसँग गरेको कुराकानीमा आधारित ।)

माघ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्