भेनेजुएलामा राजनीतिक संकट

विपक्षी नेताले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरे, ट्रम्पले गरे समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका विपक्षी नेता क्आन गुएडोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएको बताएका छन् ।

भेनेजुएलामा सरकारविरुद्ध प्रदर्शन चलिरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले गुएडोलाई अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएको बताएका छन् ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

३५ वर्षका गुएडोले बुधबार काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशका अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । यसको केही मिनेटपछि नै ट्रम्पले उनको साथ दिएका हुन् ।

दक्षिण अमेरिका ब्राजिल, कोलम्बिया, पेरुसहितका देशले गुएडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् र उनको पक्षमा उभिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्वीट मार्फत मादुरोको नाजायज सरकारका कारण भेनेजुएलाका नागरिक लामो समयदेखि अप्ठ्यारोमा रहेको उल्लेख गरेका छन् । उनले ट्वीट मार्फत नै आधिकारिक रुपमा गुएडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति मान्ने उल्लेख गरेका हुन् ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले यो महिनाको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मदुरो विजयी भएका थिए ।

भेनेजुएलाको राजधानी काराकासमा बुधबार ठूलो प्रदर्शन भयो । यसक्रममा प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबिच झडप समेत भएको छ ।

गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष हुन् । उनले यसअघि सरकारविरुद्ध अवज्ञा आन्दोलनका लागि अपिल गरेका थिए । यो प्रदर्शन सुरु भएको पहिलो दिनमै चारजनाको ज्यान गएको मानवअधिकार कार्यकर्ताले बताएका छन् ।

अहिले लाखौँ मानिस सडकमा आएर सरकार विरोधी नारा लगाएका छन् । यस्तै केही यस्ता गुट पनि सडकमा आएका छन्, जो अहिलेका राष्ट्रपति मादुरोको पक्षमा छन् ।

माघ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्