काठमाडौंमा लाइन बसेर फर्किएका खवासले धनगढीमै पाए श्रम स्वीकृति

धनगढी– तीन पटकमा नौ वर्ष मलेसियामा काम गरिसकेका कैलालीको गौरिगंगा नगरपालिका, ६ वनवेहडाका गोरखबहादुर खवास फेरि मलेसिया जाने तयारीमा छन्। त्यसका लागि केहीदिन अघि पुनः श्रम स्वीकृति लिन काठमाडौं पुगेका थिए।

दुई दिन पुनः श्रम स्वीकृतिका लागि धाउँदा पनि उनको काम भएन। काडमाडौंमा हुँदा उनले खबर पाए, अब धनगढीबाटै पुनः श्रम स्वीकृति दिन लागिएको छ।

त्यसपछि उनी खुशी भएर घर फर्के। नभन्दै शुक्रबारबाट धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयले पुनः श्रम स्वीकृतिको काम सुरु ग¥यो । त्यसमा पनि उनैलाई पहिले श्रम स्वीकृति दिएर । आफ्नै ठाउँमा सहजै स्वीकृति पाएपछि उनी दंग परे। किन भने पहिले जस्तौ घण्टौं लाइनमा बस्नु परेन ।

श्रम तथा रोजगार कार्यालयका कर्मचारीसँग फोनमा कुरा गरेर शुक्रवार बिहानै उनी कार्यालयमा पुगेका थिए।

सुदूरपश्चिम प्रदेशबाट पुनः श्रम स्वीकृति लिने पहिलो सेवाग्राही बनेका खवासलाई सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले श्रम स्वीकृति दिए।

‘पुनः श्रम स्वीकृतिका लागि दुईदिनसम्म काठमाडौं बस्दा १० हजार भन्दा बढी खर्च भयो। तर पनि पाइएन’ धनगढीबाट श्रम स्वीकृति पाएपछि उनले खुशी हुँदै भने ।

आफ्नै ठाउँबाट पुनः श्रम स्वीकृति दिन थालिएपछि वैदेशिक रोजगारीमा जानेलाई सहज भएको छ।

त्यस्तै, तीन वर्ष साउदीबाट घर फर्किएर फेरि कामका लागि जान लागेका धनगढी–२ वैयावेहडीका दान बहादुर सिंहले पनि आफ्नै ठाउँबाट पुनः श्रम स्वीकृति लिन पाए।

शुक्रबार धनगढीमा पुनः श्रम स्वीकृति लिँदै गर्दा यसअघि काठमाडौंमा घण्टौं लाइनमा लाग्नुपर्ने, दलालले विभिन्न वहानामा पैसा दिएको उनले सम्झिए । अब यस्तो समस्याको अन्त्ये हुने उनीहरुको अपेक्षा छ।

घर विदामा आएर मलेसिया जान लागेका गोरखबहादुर र साउदी जाने तयारीमा रहेका दानबहादुर मात्रै हैन, उनीहरु जस्ता धेरै सुदूरपश्चिमका युवा धनगढीबाट पुनः श्रम स्वीकृति दिन थालेसँगै खुशी भएका छन्।

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु भएसँगै यस क्षेत्रबाट पुनः श्रम स्वीकृति लिनका लागि काडमाडौं जानुपर्ने बाध्यता अन्त्य पनि भएको छ।

धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट घरविदामा आएर विदेश जान लागेकाले सहजै पुनः श्रम स्वीकृति पाउने छन्। कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्णानन्द जोशीका अनुसार हाल पुनः श्रम स्वीकृति, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण दिने संस्थाहरुको अनुगमन गर्ने कार्य हुने छन्। यस्तै, वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम पनि हुने जोशीले बताए।

पुनः श्रम स्वीकृति दिनका लागि आयोजना गरिएको कार्यक्रममा सामाजिक मन्त्री कृष्णराज सुवेदीले धनगढीबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि सुदूरपश्चिमका युवाहरुले काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी व्यक्त गरे।

‘यो पनि संघीयता कार्यान्वनको पहिलो खुटकिलो हो । यस सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई आग्रह गर्दछु’, उनले भने। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गर्ने अभियान अन्तरगत पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो।

यसअघि प्रदेश–२ को जनकपुर, प्रदेश ५ को बुटवल, प्रदेश ४ को पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट सेवा सुरु भइसकेको छ। प्रदेश नम्बर एकमा पनि यस्तो सेवा सुरु गर्ने तयारी भइरहेको छ।

प्रदेश कार्यालयहरुबाट पहिलो चरणमा पुनः श्रम स्वीकृतिको काम सुरु भएको हो। पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने भए पनि छिट्टै पूर्व स्वीकृतिको काम पनि प्रदेश कार्यालयबाटै हुने बताईएको छ।

 

माघ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्