युरिया मलको अभाव हुँदा पर्साका किसान मारमा

पर्सा-जिल्लामा गहुँ खेतीका लागि चाहिने युरिया मलको अभाव भएको छ।गहुँ खेतीका लागि चाहिने युरिया मलको अभाव हुँदा जिल्लाका किसानहरु मर्कामा परेका छन्।

अहिले किसानहरुले खेतमा लगाएको गेहुका लागि नभई नहुने अति आवशयक युरिया मलको अभाव भएपछि किसानहरु मर्कामा परेका छन्।मलको अभाव भएपछि कसिानहरुले गहुँ खेतीमा छर्नको लागि महँगो मुल्य तिर्न तयार भएपनि बजारमा युरिया मल पाउन सकेका छैनन्।

गएको बुधबार पानी परेकाले किसानहरुले आफनो खेतमा लगाएको गेहु दलहन,तेलहन लगायतका बालीमा छर्नको लागि युरिया मल बजारमा खोजे पनि पाउन सकेका छैनन्।अहिले जिल्लाका किसानहरु सरकारी अनुदानमा आउने गरेको युरिया मलको लागि स्थानीय सहकारीहरुमा धाउँदा समेत मल पाउन सकेका छैनन्।

हरेक बर्ष झै यस बर्ष पनि चाहिने बेलामा नै बजारमा मलको अभाव हुदा कृषकहरु बढी मुल्य तिरेर भएपनि युरिया मल किन्न बाध्य भएका छन्।युरिया मलको लागि डेढ गुणदेखि दोब्बर मुल्य तिर्दा पनि अहिले बजारमा युरिया मल पाउन नसकेको पर्साको बहुदरमाई नगरपालिकाका किसान नगिना मण्डलले बताए।

‘गएको बुधबार पानी परेकाले गेहुमा छर्नको लागि युरिया मल खोज्दै हिडेको छु’ मण्डलले भने ‘अहिले ठयाक्‍कै छर्ने बेलामा नै मल पाईन,सहकारीहरुमा पनि मल पाइन्‍न।’बढी मुल्य तिरेर भए पनि अलिकति मात्रै युरिया मल पाएको त्यो पनि आफूले लगाएको गहुँ दलहन तेलहन खेतीका लागि पर्याप्त नभएको मण्डलको भनाई छ।

प्रतिकिलो १५ रुपैया पर्ने युरिया मल अहिले बजारमा प्रतिकिलो २५ रुपैयाँ तिर्दासमेत किसानहरुले पाउन सकिरहेका छैनन ।नेपाली बजारमा युरिया मलको अभाव भएपछि जिल्लाका किसानहरुले भारतबाट तस्करी भएर आउने युरिया मलको पर्खाईमा समेत रहेका छन्।

बिगतका दिनहरुमा भारतबाट तस्करी भएर आउने गरेको युरिया मलले पनि जिल्लाका किसानहरुको माँग धान्दै आएको छ ।यता कृषि समाग्री कम्पनी लिमिटेडको क्षेत्रिय कार्यालय बिरगञ्जमा गएको एक महिनादेखि नै युरिया मलको अभाव भएको छ।

गएका २ हप्तादेखि नै जिल्लाका किसानहरु गेहुमा छर्नको लागि कृषि समाग्री कम्पनी लिमिटेडको क्षेत्रिय कार्यालय बिरगञ्जमा धाउदासमेत कार्यलयमा मलको अभावले किसानहरु रितो हात फर्किदै आएका छन्।

किसानहरुका लागि चाहिने युरिया मल २५ हजार मेट्रिक टन भारतको बिशाखापटनम बन्दरगाहमा अडकेर बसेको कृषि समाग्री कम्पनी लिमिटेडको क्षेत्रिय कार्यालय बिरगञ्जले जनाएको छ।

दुई वटा रेल्वे रयाकमा लोड भएर युरिया मल केही दिनमै बिरगञ्जको र्सिसिया सुख्खा बन्दरगाहमा आई पुग्ने तथा त्यसपछि मलको अभाव हटने कार्यालयको विश्वास छ।

माघ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्