सान्चेजले गोल गरे, म्यानचेस्टर युनाइटेडको लगातार ८ औँ जित

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरको प्रशिक्षणमा लगातार जितको यात्रा कायमै राखेको छ ।

एफए एक कप फुटबलको चौथो चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३–१ ले हराएयो । जोसे मोरिन्हो बर्खास्त भएपछि क्लबको जिम्मेवारी सम्हाल्न आएका ओलको प्रशिक्षणमा यो लगातार आठौँ जित हो ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन एलेक्स सान्चेज, जेसी लिङ्गार्ड र एन्थोनी मार्सलले गोल गरे । आर्सनलका लागि पिएर एमरिकले एक गोल फर्काए ।

३१ औँ मिनेटमा सान्चेजले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । एक वर्षअघि आर्सनलबाट म्यानचेस्टर युनाइटेड आएपछि सान्चेज आफ्नो उत्कृष्ट लय समात्न संघर्षरत छन् । उनी पछिल्लो समय चोटका कारण मैदान बाहिर थिए ।

सान्चेजले शुक्रबार रातिको खेलमा आफ्नो पुरानो क्लबविरुद्ध गोल गरेर सुन्दर पुनरागमन गरेका छन् । सान्चेजको गोलको दुई मिनेटपछि लिङ्गार्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

४३ औँ मिनेटमा एमरिकले आर्सनलका लागि गोल फर्काएपछि पहिलो हाफमा युनाइटेडले २–१ को अग्रता लियो । यस्तै ८२ औँ मिनेटमा मार्सलले गोल गर्दै युनाइटेडको ३–१ को जित निश्चित गरेका हुन् ।

अर्को खेलमा ब्रिस्टोल सिटीले बोल्टनलाई २–१ ले हराएको छ ।

माघ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्