पेशाले व्यवसायी तर सोख फोटोग्राफर। सानो छँदाको सोख भने चलचित्रको निर्देशन तथा हिरो बन्ने। तर, अल्झिए फोटोग्राफीमा।

विराटनगरस्थित ट्राफिक चौकका बोहोरा परिवारका ४७ वर्षे एक्ला छोरा जयस बोहरा।

विद्यायलको शिक्षादीक्षा भारतको पश्चिमबंगालस्थित दार्जिलिङ्गबाट पूरा गरेका बोहरा मायानगरी बलिउडमा चलचित्र निर्देशकका लागि सपना बुन्थे।

तर, समय र उनको सपना एकाएक फेरियो जब मुम्बई स्थित तत्कालीन जे.जे स्कूल अफ आर्टसमा भर्ना भए। २०४९/५० सालको ब्याच हुँदै जे.जे कलेजबाट बोहराले फोटोग्राफीमा डिग्री पूरा गरे।

जयस बोहरा

खान लाउन समस्या थिएन। मायानगरी मुम्बईमा जम्ने संघर्ष गरिरहेका बोहरालाई तत्कालीन समय बलिउड नायिका मनिषा कोइरालाले समेत फोटोग्राफीमा सहयोग पुराएकी थिइन्।

तर, एकाएक बुवाको निधनले स्तब्ध बोहरा विराटनगर फर्किए। तर, नेपालमा आइसक्दासमेत उनको निर्देशनको भोक हराईसकेको थियो। अब उनमा फोटोग्राफीको नशामात्र बाँकी रहेको थियो।

उनी भन्छन्, ‘खानपानका लागि ५० को दशकमा काठमाडौँमा विज्ञापन एजेन्सी समेत चलाएका थियौँ। तर सशस्त्रद्वन्द्वका कारण सोचे जस्तो बजारमा काम हुन छाड्यो र एजेन्सीको काम थाती राख्यौँ।’

हाल बोहरा आफ्नो सोख र प्रकृतिप्रेमका लागि फोटोग्राफी गर्छन्। ‘प्रकृतिसँग रमाउने रहर कसलाई हुन्न र ? तर त्यसभन्दा पनि बढी मलाई प्राकृतिक सौन्दर्यले आकर्षित गर्ने गरेको छ’, बोहरा बताउँछन्।

बोहराले केही दिन अघि सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा कैद गरेका केही तस्बिर प्रस्तुत गर्दैछौँ ।

१. चेष्टनट टेल्ड स्टरलिंग


सामान्यतया यसलाई मैना चराको समूहमा राखिएको पाइन्छ। २० सेन्टिमिटरसम्मको लम्बाइमा पाइने यसलाई दक्षिण एसियासँगै नेपालमा रैथाने चराका रुपमा लिइन्छ। जसलाई मालाबारिका र नेमोरिकोला प्रजातिमा पाइन्छ।

नेपालमा पाइने स्टरलिंग भने मालाबारिका अन्तर्गत हुन्। यसलाई मुख्यगरि जंगल तथा सिचांइ गरिएका खेतहरुमा भेटिन्छ। सामान्यतया यसले एकपटकमा ३ देखि ५ वटा अण्डा कोरल्ने गर्दछ। किराफट्यांग्रासँगै फलफूल तथा माहुरी यसको प्रिय खानेकुरामा पर्दछ।

२.एसियन कोयल


एशियन कोयल प्रजातिको चरा कोशी टप्पु क्षेत्रमा माथिल्लो भेगबाट आउने गरेकाछन्। यहीसमय माथिल्लो भेगमा अध्याधिक जाडो हुने कारण मौसम अनुकुल र चाराका लागि एसियन कोयलका लागि टप्पु क्षेत्र प्रिय स्थान बन्दै गएको छ।

यिनीहरु कोशी टप्पुमा भने तिब्बत तथा चीनका केही हिमाली भेगबाट आउने गरेको बताइन्छ। लामो पुच्छरको हुने यस कोयलको आकार ३९ देखि ४६ सेन्टिमिटरसम्मको हुने गरेको छ।

खेतियोग्य क्षेत्र तथा जंगलमा विशेषगरि पाइने यस चराको अधिकतम् तौल ३ सय २७ ग्रामसम्मको हुने गरेको पाइन्छ। यिनीहरुको अधिकतम् आयु १४ वर्षसम्मको हुने गरेको पाइन्छ।

३.रोज रिंग्ड पाराकिट


विशेष नेपालमा यसलाई कन्ठे सुगा भनिन्छ। भाले प्रजातिको घाँटीमा रातो घेरा भएकाले यसलाई रोज रिंग्ड भनिएको हो। कोशी टप्पु वन्यजन्तु आरक्षणमा यसलाई रैथाने चराका रुपमा लिइन्छ।

एसिया तथा अफ्रिकामा सहजै रुपमा पाइने यसको लम्बाइ औषत ४० सेन्टिमिटरको हुने गर्दछ। बोल्ने तालिम दिन सके यसले मानिसले झै बोल्न सक्ने क्षमता राख्दछ। यसको मुख्य आहरा किराफट्यांग्रा, सुपारी, बिउ, तरकारी तथा फलफूल रहेको छ।

जाडोको समय अण्डा कोरल्ने यसले अप्रिलदेखि जुन महिनामा बच्चा जन्माउने गर्दछ। त्यसैगरि यसका बच्चा वर्षाको मौषम सुरु हुनपूर्व बसोबासस्थान गुड छाड्ने गर्दछन्।

४.स्टोक बिल्ड किंगफिसर


यसलाई नेपाली रैथाने चराको रुपमा पनि लिन सकिन्छ। तथापि यसलाई सहजै रुपमा भने हेर्न गाह्रो हुन्छ। माछा औधी मनपराउने यस प्रजातिलाई पोखरी, ताल जस्ता जलाशय क्षेत्रमा पाउन सकिन्छ। कोशी टप्पु क्षेत्रमा कम मात्रामा देखिने चरा मध्ये यसलाई लिन सकिन्छ।

यसलाई किंगफिसर प्रजातिमा ठूलो चराको रुपमा लिइन्छ। जसको लम्बाइ ३५ सेन्टिमिटरसम्मको हुने गरेको छ। मुख्यतः १३ वटा प्रजाति रहेको किंगफिसरले भ्यागुता, गंगटो, माछा तथा छुचुन्द्रोको शिकार गर्ने गर्दछ।

५. लिटिल इग्रेट


यसलाई पनि रैथाने बकुल्लाको रुपमा लिइन्छ। विशेष गरि अफ्रिका, यूरोप तथा एसियामा यसलाई पाउन सकिन्छ। तर पूर्वीदक्षिण एसियाली क्षेत्रमा भने यसको अवस्था शून्य बराबर रहेको बताइन्छ।

हालसम्म यसको दुइदेखि तीन प्रजाति रहेको बताइन्छ र कोशी टप्पु क्षेत्रमा यसको अवस्था राम्रो रहेको बताइन्छ। ५५ देखि ६५ सेन्टिमिटरसम्म हुने यसको मनपर्ने खान्कीमा माछा, भ्यागुता, भित्ती, मकुरो तथा गड्यौला पर्छ।

कुनै समय यूरोपेली राष्ट आयरल्याण्ड तथा बेलायतमा यसको उपस्थिती राम्रो हुनेगरेको भए पनि हाल भने अधिकार शिकारका कारण तथा वातावरण परिवर्तनका कारण कम हुँदै गएको बताइन्छ। यसलाईपनि पोखरी, ताल, नहर तथा खोला नजिक पाउन सकिन्छ।

६. रेड वाटेल्ड ल्यापविंग


कोशी टप्पु क्षेत्रमा पाइने चरा मध्येको आकर्षक चरामा यसलाई राख्न सकिन्छ। लम्बाईमा ३५ सेन्टिमिटरसम्म हुने ल्यापविंगले मुख्यतः फाल्गुनदेखि साउनमहिनाभित्र बच्चा जन्माउने गर्दछ।

पखेटामा कालो, खैरो र सेतो रंगको मिश्रण हुने हुदाँ उडानका क्रममा यसलाई निक्कै आकर्षक देखिन्छ। मैदान तथा सिमसार क्षेत्रमा बढी मात्रामा पाइने ल्यापविंगको मनपर्ने खान्कीमा शंखेकिरा, गड्यौला, पुतली, स्टारफिस, गंगटो, माकुरो आदि पर्दछ। भारत, बंगलादेश, इरान, इराक, अफगानिस्तानदेखि नेपालको १ हजार ८ सय मिटरसम्मको उचाइमा यसलाई भेट्टाउन सकिन्छ।

७. ब्लाक क्राउन नाइट हेरोइन


यस प्रजातिको चरा प्रायः समूहमा हिँड्न मन पराउने गर्दछ। यिनीहरु यूरो एसियाबाट बसाईसराइका क्रममा जाडोयाम छल्न कोशी टप्पु क्षेत्रमा आउने गरेको बताइन्छ।

नुनिलो पानी तथा सिमसार क्षेत्रमा पाइने यस चराको लम्बाइ ६४ सेन्टिमिटर र तौल ८ सय ग्रामसम्मको हुने गर्दछ। पानी चराको प्रजातिमा राखिएको यिनीहरु मुख्य गरी राती र मिर्मिरे बिहानीको समय शिकारका लागि निस्कने गर्दछन्।

दिनभर यिनीहरुको रुख तथा बाक्लो झाडीमा लुक्ने गर्दछन्। शारीरिक रंग सेतो वा खैरो हुने यस चराको आँखा रातो, टाउको कालो तथा खुट्टा पहेलो रंगको हुनेगर्दछ। यिनीहरुको आहारको रुपमा ससाना माछा, भ्यागुता, पानीभित्र पाइने किरा, र साना चरा रहेकाछन्।

८.ग्रे हेरोइन


युरोप, एसिया तथा अफ्रिकाको केही क्षेत्रमा यसको उपस्थिति भएको पाइन्छ। कोशी टप्पु क्षेत्रमा भने यिनीहरु चिसो छल्नका लागि जाडोको समय साइबेरियाबाट आइपुग्छन्।

सिमसार क्षेत्रमा बस्न रुचाउने यस प्रजातिका चराले ताल, नदी, पोखरी, सामुन्द्रिक तटीय क्षेत्रलाई आफ्नो बासस्थान बनाउने गरेकाछन्। यद्यपि यिनीहरु शहरीया दैदिनकीमा पनि अभ्यस्त हुँदै आएका छन्।

एकमिटरसम्मको अग्लो हुने यसको तौल औसत एकदेखि दुइकिलोसम्मको हुने गरेको छ। यिनीहरुको गुड अग्लो रुखको माथिल्लो हाँगामा पाइन्छ।

एकपटकमा तीनदेखि पाँचवटा अण्डा कोरल्ने यसले सातदेखि आठसाताभित्र बच्चा हुर्काइ सक्छ। यिनीहरु फाल्गुनदेखि असारसम्ममा बच्चा जन्माउने गर्छन्। बढीमा करिब पाँचवर्षसम्म बाच्ने यिनीहरुले माछा, घुंघी, पानी किरा लगायत खाने गर्छन्।

९. ग्रेट ब्लाक कोरमोरेन्ट अर्थात ठूलो जलेवा


यो प्रजातिको चरा मुख्यतः यूरोपेली राष्ट्रहरुबाट आरक्षण लगायतका क्षेत्रमा आउने गर्छन्। सामूहिक रुपमा हिँड्न मनपराउने ठूलो जलेवा पानी क्षेत्रमा देखापर्छ।

ससाना माछा मन पराउने यसले जाडो छल्न कोशी टप्पुलाई रोज्ने गरेको बताइन्छ। डेढदेखि साढे पाँच किलोतौलसम्म हुने यसलाई विशेष गरि सामुन्द्रिक चराको रुपमा लिइन्छ।

८० देखि १ सय सेन्टीमिटरसम्मको आकारमा पाइने यसको मनपर्ने वासस्थानको रुपमा सिमसार क्षेत्र पर्दछ। सामूहिक रुपमा पानीभित्र माछाको शिकार गर्ने यस प्रजाति कोशी टप्पुमा अधिकतम् तीन महिनासम्म रहने बताइन्छ।