दैलेखको भगवतिमाई गाउँपालिका–२ मेहेल्तोलीस्थित रेग्मीको घर

सुर्खेत – कर्णाली प्रदेशका प्रदेशसभा सदस्य धर्मराज रेग्मीको घरमा तोडफोड भएको छ । दैलेख निर्वाचन क्षेत्र १ (क) को भगवतिमाई गाउँपालिका–३ मेहेल्तोलीमा रहेको रेग्मीको घरमा तोडफोड भएको हो । घर तोडफोड गरि पुरानो धनसम्पति चोरी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घरमा लगाएको ताला तोडेर चोरी भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताए । सांसद रेग्मी काठमाडौँमा बस्छन् भने अन्य दुई दाजुभाई नेपालगञ्ज र काठमाडौँमा बस्छन् । छिमेकी ज्वाला रेग्मीका अनुसार चोरी भएको सांसद रेग्मीको परिवार नबस्ने भएपछि घर खाली थियो । ‘घरमा पुरानो सम्पति राखिएको थियो’ सांसद रेग्मीले भने,‘बुबाका तीन भाईको साझा घर हो । सम्पतिसमेत भागबण्डा भएको थिएन ।’

तोडफोड गरि घरमा रहेको तामा, चाँदीका पुराना सिक्कासहित अन्य सामग्री पनि चोरी भएको उनले बताए । ‘म काठमाडौँ छु, घरमा तोडफोड भएको खबर आयो’ उनले भने,‘चाँदीको दोविटे पैसा, पुराना गहना थियो, भेटिएको छैन् । अन्य सामान तामाका भाडा पनि हराएका छन् । घरमा काँशका थाली, तामाका सम्पूर्ण पुरानो सम्पति थियो ।’

प्रहरी निरीक्षक क्षेत्रका अनुसार प्रहरीले तोडफोडबारे अनुसन्धान थालेको छ । ‘घरमा गरगहना सहित पैशा थियो भन्ने खबर पाएसँगै प्रहरी घरमा पुगेको थियो’ उनले भने,‘तामा र चाँदीका पैसा राखिएको थैली घरभित्रै फालिएको थियो । पैसा राखेको थैली भेटियो तर, थैलीमा पाँच वटा मात्रै सिक्का छन् ।’ अन्य सिक्का र सून चोरी भएको जानकारी सांसद रग्मीले दिएको उनले बताए । प्रहरीले घरमा पुगेर चोरी घटनाकाबारेमा मुचुल्का उठाइसकेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

 

माघ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्