चलचित्र : मणिकर्णिका

बलिउडकी बागी ‘क्वीन’ कंगनालाई साँचो अर्थमा महारानी बनाएको चलचित्र

बलिउडकी बागी ‘क्वीन’ कंगना रनौतको बहुप्रतिक्षित चलचित्र ‘मणिकर्णिका–झाँसी कि रानी’ प्रदर्शनमा आएको छ । र बलिउड नगरीमा आफूलाई क्वीनको रुपमा स्थापित गरेकी कंगना महारानीको रुपमा देखिएकी छन् ।

भारतको स्वतन्त्रता संग्रामकी मुख्य पात्र, जसले आफ्नो देश र जनताको स्वाभिमानका लागि अंग्रेजसँग सशक्त युद्ध गरिन्–झाँसी कि रानी, रानी लक्ष्मी बाईको जीवन कथामा आधारित चलचित्र मणिकर्णिका । यसमा कंगना रानी लक्ष्मी बाईको भूमिकामा देखिएकी छन् ।

चलचित्रमा मणिकर्णिकादेखि भारतीय स्वाभिमानकी सर्वोच्च महिला रानी लक्ष्मी बाई बन्नुसम्मको यात्रा समेटिएको छ ।

झण्डै दुई सय वर्षअघि (मणिकर्णिकाको जन्म सन् १८२८ मा भएको थियो) को कथा र त्यो बेला रानी लक्ष्मी बाईले गरेको स्वतन्त्रता संघर्षको ठूलो पर्दामा कथा भन्ने सही माध्यम कंगना बाहेक शायदै अरु कोही होला ।

कथा


चलचित्र मणिकर्णिका भारतीय स्वतन्त्रता आन्दोलनकी महिला पात्र, जसले आफ्नो स्वास रहँदासम्म अंग्रेजसँग लडेकी थिइन्–उनको केन्द्रमा छ ।

चार वर्षकी हुँदा आमाको निधन भएपछि बिठूर आफ्ना पितासँगै गएकी मणिकर्णिका ब्राहमण कन्या भए पनि बिठूरका पेशवाको स्नेहमा हुर्किइन् । उनको शिक्षादीक्षा क्षेत्रीय कन्या जसरी भयो । त्यसपछि उनको विवाह झाँसीका महाराज गंगाधर नेवाल्करसँग विवाह भयो ।

विवाहअघिसम्म मणिकर्णिका रहेकी उनी विवाहपछि लक्ष्मीबाईको नामले परिचित भइन् । चलचित्रमा रानी लक्ष्मी बाईले बाँचेको जीवन र गरेका कर्मलाई प्रस्तुत गरिएको छ ।

प्राविधिक पक्ष


झण्डै २०० वर्षअघिको समय र त्यो बेलाको संघर्षको कथा भएकाले परिवेशलाई त्यो समयको जस्तो देखाउन निर्माण पक्ष धेरै हदसम्म सफल भएको छ । भव्य सेटले त्यो समयको झलक दिएका छन् ।

यस्तै आउट डोरका सिनहरु अझ वास्तविक देखिएका छन् । भिएफएक्समा पनि राम्रो काम गरिएको छ, तर अनावश्यक सिनहरुमा पनि भिएफएक्सको प्रयोग गर्दा उत्कृष्ट देखिन सकेको छैन ।

सिनेम्याटोग्राफी उत्कृष्ट रहेकाले चलचित्र राम्रो बनेको छ । युद्धका सिन उत्कृष्ट देखिएका छन् । प्रोडक्सन डिजाइनले राम्रो काम गरेको देखिएको छ ।

कलाकार


चलचित्र मणिकर्णिकामा कलाकार धेरै छन् । सबैले राम्रो गरेका छन् । सबैले कला देखाउने ठाउँ पनि देखिन्छ । तर यो चलचित्र अधिकांश रुपले कंगना रनौतको वर्चश्वमा छ ।

अधिकांश पात्रहरुको भूमिका रानी लक्ष्मी बाईलाई स्थापित गर्नका लागि सहायक बनेका छन् । रानी लक्ष्मी बाईको भूमिकामा कंगनाले उत्कृष्ट काम गरेकी छन् ।

उनको आँखा र अनुहारको भावले रानी लक्ष्मी बाईको कर्मको कद पर्दामा प्रस्तुत गर्ने क्रममा कम हुन दिएका छैनन् । केही यस्ता सिनहरु छन्, जहाँ कंगना वास्तवमै पावरफूल देखिएकी छन् ।

कंगना बाहेक अरु कलाकारको भूमिका पनि महत्वपूर्ण छ, उनीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । तर राम्रा कलाकार भएर पनि उनीहरुले छाप छोड्न सक्ने गरी आफ्नो कला देखाउने मौका पाएका छैनन् अर्थात उनीहरुको उपस्थिति निकै सीमित छ ।

विशेष गरी यहि चलचित्रबाट बलिउडमा डेब्यु गरेकी टेलिभिजनकी उत्कृष्ट अभिनेत्री अंकिता लोखण्डेले उत्कृष्ट काम गरेकी छन् । झल्करी बाईको भूमिकामा रहेकी अंकिताले पाएको सीमित स्क्रिन समयमा उत्कृष्ट अभिनय गरेकी छन् ।

झल्करी बाई रानी लक्ष्मी बाईले नेतृत्व गरेको अंग्रेजविरुद्धको युद्धकी महत्वपूर्ण पात्र र रानी लक्ष्मी बाईकी सच्चा सारथी हुन् । चलचित्रमा झल्करी बाईको काम देखाउने समय भने कम गरिएको छ । र पनि अंकिताले पाएका सिनहरुमा उत्कृष्ट अभिनय गरेकी छन् । अंकिता रानी लक्ष्मी बाईको भेषमा अंग्रेज सेनालाई झुक्याउँदाको सिनमा छाप छोड्ने प्रस्तुतिमा छन् ।

यस्तै तात्य तोपेको भूमिकामा रहेका अतुल कुलकर्णि, झाँसीका महाराज गंगाधर रावको भूमिकामा रहेका जिशु सेनगुप्ता, गुलाम गस खानको भूमिकामा रहेका डेनी डेनजोङ्पासहितका कलाकारले उत्कृष्ट काम गरेका छन् । तर सबैको साथमा समस्या एउटै, उनीहरुले समय पाएका छैनन् ।

निर्देशन र संवाद


कंगना यो चलचित्र मार्फत निर्देशकका रुपमा डेब्यु गरिन् । चलचित्र मणिकर्णिकाको निर्देशन कंगना र क्रिसले गरेका हुन् ।

दाबी गरिए अनुसार ७० प्रतिशत काम कंगनाले गरेकी हुन् । यदि त्यो हो भने कंगनाले राम्रो गरेकी छन् तर उनी निर्देशक भन्दा कलाकार कयौँ गुणा उत्कृष्ट हुन् भन्ने देखिएको छ ।

कंगनाले तरबार चलाएकी छन्, घोडा दौडाएकी छन् अनि हावामा उड्ने जम्पहरु पनि मारेकी छन् । सबैमा उनी भव्य देखिएकी छन् । चलचित्रमा निर्देशन भन्दा उनको अभियन बलियो देखिएको छ ।

चलचित्रको सवल पक्षमा कंगना र कलाकारको अभियानसँगै त्यसलाई स्थिापित गर्ने प्रशून जोशीको संवाद हुन् । जोशीको संवादमा सरलता छ तर भव्यता मेटिएको छैन ।

यस्तै जोशीले नै लेखेको तथा शंकर–एहसान–लोएको संगीतमा रहेका गीत राष्ट्रप्रेमले भरिएका छन् । चलचित्रको क्लाइमेक्स उत्कृष्ट छ ।


कंगना रनौतका शुभचिन्तकहरुका लागि उनको उत्कृष्ट चलचित्र हो मणिकर्णिका यसमा दुई मत शायदै होला । समग्रमा सबै कलाकारले समय पाएको र अरुको पनि काम हेर्न चाहनेहरुलाई यो चलचित्र केही खड्किन सक्छ ।

यस्तै अरु मसाला चलचित्र रुचाउनेहरुलाई पनि त्यति बाँधेर राख्ने पनि हुँदैन, कारण पहिलो हाफमा चलचित्र अलि सुस्त गतिमा छ र कंगनाको प्रस्तुति पनि उनको लेभलको देखिँदैन । तर दोस्रो हाफमा कंगनाले सबै गुनासो मेटाएकी छन् ।

इतिहासमाथि बनेकाले त्यसमा रुचि भएका र जानकारी राख्न चाहनेका लागि उत्कृष्ट छनौट बन्न सक्छ । भारतीयहरुका लागि राष्ट्रियता वा आफ्नो देशप्रतिको प्रेमले यो चलचित्रमा तान्छ र कंगनाको कामले बाँधेर राख्छ ।

भारतीय बाहेकका लागि यो चलचित्र स्थापित मान्यताविरुद्धको बलियो र उत्कृष्ट प्रमाणको साक्षी बन्नका लागि हेर्नु पर्ने बनेको छ ।

अभिनेत्रीलाई प्रायः गरी कमजोर भूमिकामा देखाइने गरेको संस्कारमा कंगनाले यसमा अभिनेताले गर्ने सबै काम गरेकी छन् र त्यसमा न्याय पनि । यस्तै एक महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने चेतको सञ्चारको रुपमा पनि यो चलचित्र हेर्नु पर्ने बनेको छ ।

मात्रै खड्किएको पहिलो हाफको मन्द गतिको लय, अलि बढी फ्यान्सी लाग्ने पहिलो हाफका केही कस्ट्युम र कंगनाले जस्तै काम देखाउन सक्ने कलाकारले कम समय पाउनु हो ।