‘भन्सारको राजश्व संकलन लक्ष्य महत्वाकांक्षी’

काँकरभिट्टा– भन्सार विभागले दिएको भन्सार राजश्वको लक्ष्य महात्वाकांक्षी भएकाले उक्त लक्ष्य अनुसारको राजश्व उठाउन जटिल रहेको भन्सारका कर्मचारी तथा व्यापारीहरुले बताएका छन्।

६७ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा मेची भन्सार कार्यालय काँकरभिट्टाले आयोजना गरेको कार्यक्रममा उनीहरुले भन्सार राजश्वको लक्ष्य अत्याधिक भएको बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले भन्सारको राजश्व लक्ष्य अनुसार नउठे पनि बर्षेनी बढ्ने क्रममा रहेकाले सन्तोष गर्ने ठाउँ रहेको बताए। उनले भने, ‘लक्ष्य अनुसार राजश्व उठ्न नसके पनि राजश्व संकलन बर्षेनी बढ्ने क्रममा छ।’

भन्सार राजश्व बढ्नुमा भन्सार कार्यालयहरुमा जडान गरिएका डिजिटल सिस्टम मुख्य कारण रहेको उनले बताए।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्यले अहिले राजश्व संकलनका केन्द्रहरु ‘स्मार्ट’ बन्दै गएको बताए। उनले भने, ‘अहिले धेरै कुरा प्रक्रियामा गएका छन्। तर लक्ष्य अनुसार राजश्व संकलन निकै चुनौतीको विषय बन्दै गएको छ।’

प्रमुख जिल्ला अधिकारी जनकराज दहालले आफू राजश्व संकलनका केन्द्रहरुमा सुशासन कायम होस् भन्नेमा रहेको बताए। उनले भन्सारसंगै काम गर्ने सशस्त्र प्रहरीको क्षमता बढाउनुपर्नेमा जोड दिए। प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले विधीको शासन भए आर्थिक अनुशासन कायम हुने बताए।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार चालु आर्थिक बर्षमा मेची भन्सार कार्यालयलाई १२ अर्ब भन्दा बढी राजश्व संकलनको लक्ष्य दिएको छ। तर अहिलेसम्म साँढे पाँच अर्ब रुपैयाँ संकलन भएको छ। राजश्व संकलन यही रुपमा जाने हो भने लक्ष्य प्राप्त गर्न चुनौती छ।

उक्त भन्सार कार्यालयको गत आर्थिक बर्षको राजश्व संकलन भने १ सय ५ प्रतिशत थियो।

 

माघ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्