बसमा करेन्ट लागेर मृत्यु भएकाहरुको शव परिवारलाई बुझाईयो

धनुषामा जन्ती बोकेको बसमा करेन्ट लागेर मृत्यु भएका ६ जनाको शव परिवारले बुझेका छन्। शनिबार मृतकको पोष्टमार्टमपछी जनकपुर अंचल अस्पतालले परिवारलाई शव बुझाएको हो ।

दुर्घटनामा घाईते भएकाहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती बोकेर फर्किदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा शुक्रबार साँझ करेन्ट लागेर ६ जनाको मृत्यु भएको थियो।

स्थानीयवासीले ९ जनाको मृत्यु भएको भनेपनि प्रहरीले ६ जना शव जनकपुर आएको पुष्टि गरेको छ।

बसको छतमाथि राखेको जस्ताको बाकसमा विद्युतको ११ हजार भोल्टको तारले छोएपछी बसभरी नै करेन्ट प्रभाव भएको थियो। छोरीपक्षले दाईजो दिएको बाकस बसको छतमा राखिएको बेला बिजुलीको तारले छोएपछी बसमा करेन्ट लाग्दा जन्ती गएकाहरुको मृत्यु भएको हो ।

करेन्ट लागेर सिन्धुलीको दुधौली नगरपालिका ४ का ९ वर्षका बालक आक्रोस कुमर दनुवार, २२ वर्षिय पूजा अधिकारी दनुवार, ३० वर्षिय लिला अधिकारी दनुवार, रामबाबु अधिकारी दनुवार, धनुषा सबैला नगरपालिका ४ की ३५ वर्षीय रेशमदेवी कुमर दनुवार र सनाखत हुन बाँकी ११ वर्षका एक बालक रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिका ४ का रामप्रसाद अधिकारी दनुबारका छोरा रामबरण दनुबारको धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा विवाहको लागि जन्ती आएको बस फर्किने क्रममा दुर्घटनामा परेको हो ।

घटनापछि तुरन्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटना स्थल पुगेको थियो । विवाहमा बेहुला बेहुली अर्को गाडीमा भएको कारण उनीहरु सकुशल छन् ।

मुख्यमन्त्री राउतले गरे दुःख व्यक्त

घटनाप्रति प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले दुःख व्यक्त गरेका छन् । यस्तै, उनले मृतकहरुलाई चीरशान्तीको कामना सँगै परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले शनिबार विज्ञप्ती निकालेर उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो ।

माघ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्