साहित्य, संगीत र सिनेमाका नदीहरुको मिश्रण, काठमान्डू मोन्ताज्

काठमाडौँ – साहित्य, कला र चलचित्र तथा संगीतका अध्येयता प्रकाश सायमीको नयाँ पुस्तक काठमान्डू मोनताज् सार्वजनिक भएको छ । लेखकले आफ्नो पुस्तक निस्संमरणहरुको संग्रह रहेको बताउँछन् । निबन्ध र संस्मरणको संगालो भएकाले आफूले यसलाई निस्संमरण भन्ने गरेको सायमीले बताएका छन् ।

चलचित्र निर्देशक तथा सञ्चारकर्मी समेत रहेका सायमीको पुस्तक शनिबार काठमाडौँमा एक कार्यक्रमका बिच वरिष्ठ गीतकार नगेन्द्र थापाले विमोचन गरेका हुन् । शब्दहार क्रियसनले प्रकाशन गरेको पुस्तकमा सायमीले आफ्नो अनुवभ तथा नेपाली संगीत र सिनेमा तथा विश्व साहित्य र सिनेमाका कुरा सरस रुपमा प्रस्तुत गरेको गीतकार थापाले बताए ।

उनले भनेका छन् ‘प्रकाश सायमीको मोन्ताजको फ्रेम यति ठूलो छ कि यसभित्र काठमान्डूका गल्लीहरु, काठमान्डू, नेपाल र नेपाल पारिका सिमानालाई समेटेका छन् । यसभित्र धेरै पात्र, परिवेश र परिदृश्य अटाएका छन् । उनका सिर्जनामा साहित्य, संगीत र सिनेमाका नदीहरु मिसिएका छन् र मनोरम बनेका छन् ।’

यस्तै गीतकार सुवासचन्द्र ढुंगेलले सायमीले आफूले संगत गरेका वा भोगका पात्र वा परिवेशको सुन्दर चित्र पुस्तकमा उतारेको बताए । सायमीको मोन्ताज् कला, साहित्य र संगीतको समग्र रुप रहेको ढुंगेलले बताए ।

लेखक सायमीले आफूले विगतमा भन्न छुटाएका वा नसकेका कुराहरुको एकीकृत रुप यो पुस्तक रहेको र अझै अहिले भन्न नसकेका वा नसमेटिएका पात्र र परिवेश फेरि समेट्दै जाने बताए ।

माघ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्