विकृतिहरुबिरुद्ध लड्न पैकालोको खोजीमा

शायद धर्मनिरपेक्षताको परिणामले होला, जुम्लास्थित चन्दननाथ मन्दिरबाट मूर्तिहरू चोरी भए।

त्यस्तै, चन्दननाथ गुठीको जग्गा, सम्पत्ति यो वा त्यो बहानामा मिचिने क्रम बढ्दो छ।

एक जमानाको गुरूकुल,सन्यासीको अति रूचाइएको स्थल, मानसरोवर जाँदाको विश्रामस्थल, रूट, गुल्जार चन्दननाथ, भैरवनाथ मन्दिर हाल आएर पाखण्डीहरूको कब्जामा गएको छ यो वा त्यो बहानामा।

त्यस्तै, आयातीत विस्तारित मतहरूले कर्णालीमा कब्जा गरेको टिठलाग्दो अवस्था छ सनातनी आस्था छाडेर। मस्टोका थानहरूमा जस्ता र टिनका पाताहरूले पुरानो आर्किटेक्चरल सौन्दर्यलाई विस्थापित गर्देछ। आजकल त मानिसहरूले थानहरू आधुनिकीकरण गर्दा पनि पैसा भ्रष्टाचार गर्ने अनौठो जमाना आयो। शायद त्यो स्वधर्म छाडेर कथित आधुनिकीकरणमा रूपान्तरण हुँदाको परिणाम होला।

बौद्ध चित्र सहितका मुग्राहाको सट्टा बालुवा ज्यादा अनि थोरै सिमेन्टले ठिङ्ग ठडिएका भ्रष्टाचारलाई इङ्गित गर्ने गरी पानी नआउने धाराहरू अनावश्यक ठाउँ ओगटेर गाउँमा विकासलाई गिज्याएर उभिरहेको अवस्था छ। ती धाराहरूले प्रतिवेदनमा सरसफाइको स्तर उकासेको रमाइलो अवस्था छ नै।

खेत, कुलो, खोलाहरूमा मदिरा, गुट्खा वा फोहोरहरूले गाँजेको अवस्था छ। मानिसहरूमा नयाँ नसा थपिएको छ। मदिरा, फास्ट फुड कल्चरले समाज गाँजेको छ नै। सामाजिक सञ्जालको नसा थपिएको छ। मानिसहरू व्यक्तिवादी हुँदा हाम्रा सामाजिक प्रचलनहरू ह्वाक्तै भत्किएका छन्।

भारतीय बाबा, पश्चिमा वा नेपालकै अरू क्षेत्रहरूको मत जसमा प्रभावशाली नेताहरू लगायत लागेका छन् सो मान्दा वा प्रवद्र्धन गर्दा आफ्नो पाखण्डपनलाई केही क्षणको लागि पनि सन्तोष हुने हुनाले होला सो मतका केही अनुयायीहरू सरकारी, गैरसरकारी बजेट सोमा पार्न तँछाडमछाड गरेर लागेको पाइन्छ।

सोका विकृतिहरू समयसमयमा उजागर हुने गरेको पाइन्छ नै। धार्मिक पण्डितहरूका पाखण्डपनले संसार गाँजेको छ नै।

पश्चिमले जसरी इसाई धर्म प्रचारलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्दे आएको पाईन्छ जस्तै कि नेपालमा हालै तहल्का मच्चाएको यूपीएफ मत। दक्षिण कोरियामा पश्चिमा लोकतन्त्र छिरेपछि दक्षिण कोरियालीहरू यूपिएफका संस्थापक मुनजस्तै सनातन आस्था छाडेर इसाई मततिर ओइरो लागेर ढल्किएका थिए र सो आस्थाको विस्तारवादी मोडेल अनुसार नेपालमा पनि सो मतको प्रचार प्रसारमा संलग्न देखिन्छन्।

त्यसो त अफ्रिका महादेश लगायतमा उपनिवेशकरणसँगै इसाई मत प्रचार व्यापक भएर हाल इसाई मत उद्गमस्थलभन्दा बाहिर ज्यादा इसाई धर्मावलम्बीहरू रहेको अवस्था छ। त्यसको उल्टो पश्चिममा गिर्जाघरहरू मर्मत गर्न नसकेको अवस्था विद्यमान् छ। पश्चिमाहरू हिन्दू, बौद्ध लगायत सनातन आस्थाप्रति आकर्षित हुने क्रम बढ्दो छ।

धर्मप्रचारप्रति केही कठोर भनी सो मतका प्रवद्र्धकहरूबाट आरोप लागेका प्रम ओलीले नै होली वाइन लगायत सो मतको कार्यक्रममा सहभागी भएपछि नेपालजस्तो सफ्ट राज्यबाट उन्नति, समृद्धिको आस आकाशको फल जस्तो हुने नै भयो।

पश्चिमा लोकतन्त्रलाई प्रवद्र्धन गर्न, उनीहरूको स्वार्थमा काम गर्न कसरी इसाई नेताहरूले कार्य गर्ने गर्दछन् भनी बुझ्न हेर्नुहोस् स्यामुअल हन्टिङ्गटनको थर्ड वेभ भन्ने पुस्तक।

नेपालमा पनि इसाई संस्था, अगुवाहरूले कुनै अमूक राजनीतक पार्टीलाई चुनावमा भोट खसाल्न आह्वान गर्ने गरेको पाइएको छ नै।

यस्ता विकृतिहरु विरुद्ध लड्न पैकालोहरुको जरुरत पर्ने देखिन्छ। ती पैकालोहरू जसले सामाजिक, सांस्कृतिक क्षेत्रमा उथलपुथल ल्याउन सकून् अनि समाजका विकृतिहरूलाई जडदेखि उखेल्न सकुन् र एउटा आदर्श समाज स्थापित हुन सकोस्।  जसले समाजमा रहेको पाखण्डीपनलाई निमिट्यान्न पार्न सकोस्।

ऐतिहासिक पात्र पैकालोका थुप्रै लोककथाहरू प्रचलित छन् कर्णालीमा। जसले खेती गुल्जार बनाएको, असत्यविरूद्ध प्रतिकार गरेको।
हो, म तिनै पात्रहरूको खोजीमा छुजसले समाजमा न्याय सृजना गर्न सकुन्।

अर्को सन्दर्भमा हालै मात्र सुदूर पश्चिमका एकजना नेताले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जीएम्आरको म्याद नबढाउन संसद्मा आग्रह गरे।

यसरी एकजना मात्रैले नगरी सो आयोजनाबाट प्रत्यक्ष परोक्ष रूपमा प्रभावित सबै नेताहरूले सो क्षेत्रको आर्थिक कायापलट गर्न सक्ने आयोजना नेपाली लगानीमा सो क्षेत्रका जनताहरूलाई प्राथमिकता राखी निर्माण गर्न जरूरी देखिन्छ। एक त त्यसले नेपाली सार्वभौमिकताको रक्षामा एउटा ईंटा थप्ने कार्य गर्न सक्दछ भने अर्कोतिर हामीलाई उठ्न नदिने दिल्ली दरबारको चङ्गुलबाट हामी मुक्त हुन सक्छौं जसले गर्दा नेपालको अस्तित्व अनि समृद्धिको यात्रामा गति आउनेछ।

आखिर आर्थिक रूपमा कायापलट नभै कुनै पनि राज्य सक्षम हुन सक्दैन त्यसै त नेपालको व्यापार घाटा उच्च छ नेपाली अर्थतन्त्र विप्रेषणले चलिरहेको छ जुन दीगो पक्कै हुँदैन।

त्यही विप्रेषण आय पनि उत्पादनको क्षेत्रभन्दा उपभोगमा खर्च भैरहेको परिस्थिति विद्यमान् छ । एक जमानाका नामी जुम्ली व्यापारीहरू अन्य नेपालका भूभागझैं निर्यातभन्दा आयातमै रमाईरहेको परिस्थिति छ । भारत चीन लगायतको हामी बजार भएका छौं जसले मानिसहरुमा कहालीलाग्दो गरी जीविकोपार्जनमा समस्या बढाउँदै लगेको छ ।

हाल जुम्ली व्यापारीहरू आफ्नो भन्दा पनि अरुद्धारा उत्पादित सामानहरू बेचेरै जीविकोपार्जन गर्न बाध्य छन् ।

त्यस्तै, काठमाडौंमा झैं कर्णालीमा पनि बाहिरबाट आयातित लोकतन्त्र, समावेशी विकास, गरिबी निवारण, जलवायु परिवर्तन, सशक्तिकरण जस्ता शब्दजालमा बहस, बैठक, गोष्ठीहरूमा समय खेर फाल्ने गर्दछन् । जसका पाठ्यक्रम, प्रशिक्षण विधि आदि मौलिक भन्दा पनि पश्चिम जसले अहिले संसारलाई राज गरिरहेको छ उसैको पछ्याउन कर्णालीबासीहरू बाध्य छन् अन्य नेपालीहरू झैं ।

त्यसो त भारतीय गुप्तचर निकायका पूर्व कर्मचारीहरूको सार्वजनिक पुस्तकहरूले कसरी भारतले प्रो डेमोक्रेशी आन्दोलनको लागि सिक्किममा लगानी गरेको थियो र अन्ततः उनीहरूले नै सिक्किमलाई भारतमा विलय गराउन सफल भए भनी खुलासा गरेको पाईन्छ । त्यस्तै घटनाक्रम नेपालमा सात सालदेखि बारम्बार मञ्चन भैरहेको छ नै । त्यसैले लोकतन्त्र, संविधान, विकासको नाममा कर्णालीबासीहरू लगायत नेपालीहरूले प्रयोग हुन छाडेर पैकालोहरू मार्फत् देश विकासमा लाग्न जरुरी देखिन्छ ।

(यस लेखमा व्यक्त विचारहरू लेखकका व्यक्तिगत विचार हुन्, उनी आबद्ध संस्थासँग यसको कुनै सरोकार छैन।)

माघ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्