वास्तवमा के भएको थियो पूर्वयुवराज पारस शाहलाई?

काठमाडौँ- पटकपटक हृदयाघातको समस्या झेलिसकेका पूर्व युवराज पारस शाहको सक्रियता पछिल्लो समय बढेको थियो, खासगरी नेपालका मठमन्दिरमा।

त्यसकै सिलसिलामा पूर्वयुवराज शाहले सोमबार बिहान पाटनस्थित विभिन्न मन्दिरमा पूजाआराधाना गर्ने बेला उनलाई समर्थकले घेरेका थिए।

भिडभाडकैबीच पूजा प्रक्रिया सम्पन्न गर्दै गर्दा उनले छातीमा असह्य पीडा महसुस गरेका थिए। तर, पूजा समाप्त नहुञ्जेल उनले कसैलाई बताएनन्। मन्दिरबाट निस्कनै लाग्दा पारिवारिक सदस्यलाई आफ्नो पीडाबारे उनले जानकारी गराए। यद्यपि उनी त्यहाँबाट कमलादीस्थित फुपु शाेभा शाहीको घरमा गए र केहीबेर आराम गरे। त्यहाँ आरामपछि पनि उनलाई सञ्चो नभएपछि गाडीमा हालेर थापाथलिस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थिए, जहाँ उनको पहिले पनि हृदयाघातकै उपचार भएको थियो।

अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएपछि त्यहाँका चिकित्सकलाई शाहले मुस्किलले ‘चेस्ट पेन निकै भयो’ भनेका थिए। त्यतिबेला चार बजेर १५ मिनेट गएको थियो।

अस्पतालका प्रवक्ता आरपी मैनालीका अनुसार त्यसलगत्तै केही मिनेट अस्पतालको इन्टरनेसल इर्मजेन्सी केयर युनिटमा राखेर औषधि खुवाइयो शाहलाई र तत्कालै क्याथल्यावमा सारियो।

हृदयाघातको समस्या झेलिरहेका उनलाई क्याथल्यावमा लग्नासाथ चिकित्सकहरुले कोरोनोरी एन्जियोग्राम गरेका थिए। त्यसबाट उनको मुटुको एउटा धमनी बन्द भएको र अर्को पनि अस्पष्ट भएको पुष्टि भयो।

त्यसलाई चिकित्सकहरुले गम्भीर प्रकृतिको हृदयाघात (मेजर हर्टअट्याक) भन्छन्। धमनी बन्द भएकै कारण शाहले असह्य पीडा महसुस गरेको निष्कर्षमा चिकित्सकहरु पुगेको मैनालीको भनाइ छ।

त्यसपछि शाहको बन्द भएको धमनी खोलेर स्टेन्ट प्रत्यारोपण गर्न चिकित्सकलाई एक घण्टा लाग्यो।

शहाको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै मैनालीले भने, ‘स्टेन्ट प्रत्यारोपण गरिसकेपछि पनि उहाँ खतरामुक्त हुनुहुन्न। क्याथल्यावबाट उहाँलाई सिसियुमा सारिएको छ।’

यसअघि पनि शाहलाई हृदयाघात भएको थियो र धमनी खोेलेर स्टेन्ट नै राखिएको थियो। मैनालीले सोमबार शाहको थप नयाँ धमनी बन्द भएको बताए।

नियमित जाँचका लागि शाह अस्पताल पुगेको भन्ने सूचना पनि बाहिर आइरहेका बेला मैनालीले त्यो गलत भएको र शाहलाई ठूलै समस्या भएपछि आकस्मिकरुपमा अस्पताल पुर्‍याइएको बताए।

स्वयम्भूमा रहेका प्राध्यापक डा. यादवकुमार भट्ट शाहको उपचारका लागि तत्कालै नर्भिक पुगेका थिए। उनको नेतृत्वमा डा. जेपी जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र डा. प्रज्वल श्रेष्ठ शाहको उपचारमा खटिएका छन्।

मैनालीका अनुसार उनलाई एकदुईदिन अस्पतालमै राख्ने अवस्था देखिएको छ। शाहका उपचारमा खटिनु परेपछि सम्बन्धित चिकित्सकका ओपीडी बिरामीले लामो समय प्रतीक्षा गर्नु परेको छ।

शाहको स्वास्थ्य र उपचारबारे चिकित्सहरु मंगलबार बिहानमात्रै ‘ब्रिफिङ’ गर्ने तयारीमा छन्।

माघ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्