करियाबापत २५/२५ हजार दिने

धनुषामा करेन्ट लागेर मृत्यु भएकाको परिवारलाई नगरपालिकाको सहयोग

जनकपुरधाम-धनुषाको सबैला नगरपालिकाले जन्ती बोकेको बसमा करेन्ट लाग्दा मृत्यु भएकाहरुको क्रियाका लागि सहयोग गर्ने भएको छ।

शुक्रवार करेन्ट लागेर ज्यान गुमाएकाहरुको परिवारलाई सबैला नगरपालिकाले २५/२५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

सबैला नगरपालिकाले बोर्डको बैठकबाट मृतक ६ जनाकै परिवारलाई क्रिया बापत २५/२५ हजार रुपैयाँ दिने निर्णय गरेको नगरप्रमुख विजय संकर प्रसाद साहले बताएका छन्।

देशसञ्चारसँग कुरा गर्दै नगरप्रमुख साहले भने, ‘सबैला नगरपालिकामा मृत्यु भएका परिवारलाई क्रिया वापत २५/२५ हजार उपलब्ध गराउने निर्णय हामीले गरि सकेका छौँ र सोमबारदेखि मृतक तथा परिवारका संगको नाताप्रमाणित र अन्य कागजात पुर्‍याउने प्रकृयामा समेत कार्यकारिणी तथा सिन्धुली दुधौलीका प्रमुखसंग कुरा भएको छ। कागजात प्रकृया सकेलगतै हामी मृतक परिवार रमक हस्तानतरण गर्छौँ।’

यस्तै, करेन्ट लागेर ज्यान गुमाएकी सबैला नगरपालिका-४ बाल्टियाकी कुशुमादेवी दनुवारका परिवारलाई क्रियावापत २५ हजार र राहत स्वरुप थप एकलाख रुपैयाँ दिने निर्णय गरिएको साहले बताएका छन्।

दुईछोरा र एक छोरीकी आमा कुशमा देवीको करेन्ट लागेर मृत्यु भएपछी उनको परिवार विचल्लीमा परेको र उनीहरुको आर्थिक अवस्था अति नै दैनिय रहेकोले गाउँले तथा नगरपालिकाले राहत स्वरुप एक लाख दिने निर्णय गरेको सबैला प्रमुख साहले भने।

यता, सिन्धुलीको दुधौली नगरपालिकाले समेत आफ्ना नगरपालिकाका प्रत्येक मृतक परिवारलाई काजक्रिया बापत १०/१० हजार रुपैयाँ दिने निर्णय गरेको जनाइएको छ।

विद्युत प्राधिकरणको लापरवाही


सबैला नगरपालिकाको घटनामा विद्युत प्राधिकरणको लापरवाही रहेको नगरप्रमुख साहले बताएका छन्।

पहिला विद्युतीय पोल बाटोको तलतिर रहेपनि बाटो बन्दा सबै पोलहरुको उँचाई कम भएपछि अधिंकाश गाडीको छाना टाँसिने अवस्था रहेको छ र यसलाई सुधार गर्न पटक पटक आग्रह गरेपनि विद्युत प्राधिकरणले चासो नदेखाएको नगरप्रमुख साहको आरोप छ।

उनले भने ‘सबैला मात्र नभई धनुषाको अधिकांश ठाउँमा विद्युत पोलको राम्रो व्यवस्थापन नगरिँदा पटक पटक घटना घट्दै गई रहेको छ।’

यस्तै, सोमबार प्रमुख जिल्ला अधिकारी दिपकराज कणेल, विद्युत प्राधिकरण जनकपुर यद्दुकोहा र महेन्द्रनगर विद्युत प्राधिकरणको प्रमुखहरुसंग छलफल गरिएको जनाईएको छ।

छलफलमा करेन्ट लागेर एक साता भित्रै सबैलामा ६ र जनकपुरमा २ जनाको मृत्यु भएपछी केन्द्रबाट छानवीन समिती बोलाउने निर्णय भएको बताईएको छ।

माघ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्