‘कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ’

फाइल फोटो।

सुर्खेत – नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश इञ्चार्ज जनार्दन शर्माले बलियो कम्युनिष्ट पार्टी (नेकपा)ले मात्र कर्णाली समृद्ध बनाउन सक्ने बताएका छन् । बुधबार आयोजित ‘जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेला’ कार्यक्रममा बोल्दै प्रदेश इञ्चार्ज शर्माले विगतको गुटगत मानसिकतालाई भत्काएर अघि बढ्न पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन दिए ।

“बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ”, इञ्चार्ज शर्माले भने, “समाजवादमा लैजान नयाँ कम्युनिष्ट पार्टी निर्माण भएको हो ।” उनले जनतालाई व्यवस्थित, भरपर्दो र प्रभावकारी सेवा दिएर नेकपालाई जनताको आस्थाको केन्द्रका रुपमा विकास गर्दै लैजाने धारणा व्यक्त गरे ।

प्रदेश सहइञ्जार्च यामलाल कँडेलले विधि र विधानमा चल्ने पार्टीको गरिमा र विरासतलाई कायम गर्न विशाल पार्टी निर्माण भएको जनाए । कम्युनिष्ट अनुशासन र इमान्दार हुनुपर्नेमा उनले जोड दिए । प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले विधि र पद्धतिबाट चल्दै आएको पार्टीले अब सहज र व्यवस्थित ढङ्गबाट कामकारवाही अघि बढाएर जनतलाई सेवा प्रवाह गर्नुपर्ने बताए ।

सो कार्यक्रममा सचिव मायाप्रसाद शर्मा (पारसमणि), कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, केन्द्रीय तथा प्रदेश सदस्य, नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

माघ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्