भारतमा अन्ना हजारेले फेरि सुरु गरे अनसन

भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले फेरि अनसन सुरु गरेका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै उनले आफ्नै गाउँ रालेगणमामा बुधबार अनसन सुरु गरेका हुन् ।

महाराष्ट्रको अहमदनगर, रालेगण सिद्धीमा अनसन बसेका हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक/पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेकाले आन्दोलन सुरु गरेको बताएका छन् ।


केही दिनअघि उनले लोकपाल र लोकायुक्त नियुक्तको माग गरेर मोदीलाई पत्रसमेत लेखेका थिए । केन्द्र सरकारले जनतालाई पटक/पटक धोका दिएकाले आफू अनसन बस्न परेको तर आफ्नो अनसन कुनै पार्टी वा व्यक्तिविरुद्ध नरहेको हजारेले बताएका छन् ।

भारतीय सरकारबाट पेन्सन थाप्ने गरेका पूर्वसैनिक हजारेले १६ अगस्त २०११ मा लोकपाल विधेयक पारित गराउन माग गर्दै आमरण अनसन गरेका थिए ।

माघ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्